
चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ ।
काठमाडौंको शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा बुधवार पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो ।
शुभमुहूर्तसँगै चलचित्रको छायांकन पनि बुधवारबाटै सुरु गरिएको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुने चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्दैछन् ।
चलचित्रको लेखक पनि उनी स्वयंम हुन् ।
यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्का लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

शुभमूहुर्त समारोहमा चलचित्रका अधिकांश कलाकारहरू उपस्थित थिए । शुभमूहुर्तपछि सञ्चारकर्मीसँग कुरा गर्दै अभिनेताद्वय हरिवंश र विपिनले चलचित्रलाई लिएर उत्साहित रहेको बताए ।
अभिनेत्री वर्षाले पनि यसका अघिल्ला श्रृङ्खलामा भन्दा यसमा काम गर्दा अझ रमाइलो हुने विश्वास व्यक्त गरिन् । अन्य कलाकारहरू पनि चलचित्रलाई लिएर उत्साहित सुनिए ।

‘महाजात्रा’मा बटमलाइनका रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ । निर्देशक प्रदीप भट्टराईले यसपटक चलचित्रमा रमाइलो मात्र नभएर नेशनल इस्यु उठाउने प्रयास रहने बताए । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई चलचित्रमा रोचक रुपले प्रस्तुत गरिने जनाइएको छ ।
यो चलचित्र चैत ९ गतेबाट प्रदर्शनमा आउनेछ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा रवीन्द्रसिंह बानियाँ छन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्दैछन् ।