
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टीमा आन्तरिक निर्वाचनको आवाज उठेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा बोल्ने नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित गरेर युवालाई आकर्षित गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
माओवादीका सबैजसो कमिटीमा नेतृत्व चयन सर्वसम्मत बनाउने प्रयास गर्दा पार्टी चलायमान नभएको भन्दै पार्टीभित्र निर्वाचन हुनुपर्ने माग नेताहरूले गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए । “स्थायी समितिका सबै नेताले बोल्नुभयो । विधान नयाँ बनाउनु पर्छ । केन्द्रीय समितिबाट सुझाव लिएर विधान अधिवेशनमा छलफल गरी निर्णय गर्नु पर्छ भन्ने सुझाव आएका छन्,” उनले भने, “पुरानै ढर्राबाट पार्टी र आन्दोलन अगाडि बढ्न सक्दैन । यसलाई परिवर्तन गर्नु जरुरी छ । नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न आन्तरिक निर्वाचन गर्न दिनु पर्छ ।” गोरखापत्रमा खबर छ ।