०४ असार २०८३, बिहीबार
फेरिरहने प्रचण्डको बोली

प्रचण्ड अभिव्यक्तिको अन्तर्य: कार्यकर्तासँग 'ब्ल्याकमेलिङ', कांग्रेसलाई साइजमा राख्ने दाउ

फागुन १, २०८०
काठमाडौं
प्रचण्ड अभिव्यक्तिको अन्तर्य: कार्यकर्तासँग 'ब्ल्याकमेलिङ', कांग्रेसलाई साइजमा राख्ने दाउ

राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले कोशीमा अप्रत्यासित पराजय बेहोर्‍यो । कोशीको अप्रत्याशित परिणामले सत्ता गठबन्धनभित्रको खटपटमात्रै सतहमा आएन कांग्रेस–माओवादीको सहकार्यमाथि नै प्रश्न उठ्यो । माओवादी नेताहरूले कांग्रससँगको सहकार्यबारे पुर्नविचार गर्नुपर्ने धारणा सार्वजनिकरूपमै राखे । ​कोशीमा यसअघि पनि कांग्रेसबाटबारम्बार धोका पाएको माओवादी नेताहरूले बताउने गरेका छन् ।

कांग्रेससँगको सहकार्यबारे माओवादी कार्यकर्ता र दोस्रो तहका केही नेताले आगो ओकलिरहेका बेला स्वयं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसमा घिउ थपिदिएका छन् । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कांग्रेसबाट बारम्बार धोका पाएको भन्दै असन्तुष्टि जनाउने नेता–कार्यकर्ताको बोलीमा लोली मिलाएका छन् । सोमवार पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले गठबन्धनमा पुर्नविचार गर्नुपर्ने अवस्था आउन सक्नेसम्मको प्रतिक्रिया दिए । 

प्रचण्डको अभिव्यक्तिले छोटै समयका लागि भए पनि नेपाली राजनीतिमा एउटा तरंग ल्याइदिएको छ । तत्काल वैकल्पिक राजनीतिक गठबन्धनको जग बनिनसकेको भए पनि प्रचण्डको अभिव्यक्तिले वर्तमान गठबन्धनको जग भने हल्लिएको छ । यसअघि उनले ‘गठबन्धन पाँचै वर्ष टिक्छ’ भन्दै सुगा रटाइ गर्ने गरेका थिए । उनले एक्कासि यस्तो अभिव्यक्ति किन दिए ? यसको संकेत र सन्देश के हो ? सत्तामा पुगेपछि घाइते र बेपत्ता योद्धालाई बिर्सेको आरोप लागेपछि प्रचण्डले फागुन १ लाई जनयुद्ध दिवस मनाउन क्यालेण्डरमै सार्वजनिक बिदा दिएका थिए । तर, सर्वोच्च अदालतले खारेज गरिदियो । त्यसमा उनको असन्तुष्टि स्वाभाविक हुने नै भयो । 

तत्काल अर्को गठबन्धन बन्न राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुकुल छैन । यो बेला कांग्रेसबाट धोका पाएको भन्दै गठबन्धनको विकल्प सोच्ने कुरा जनतालाई उल्लु बनाउनेबाहेक केही होइन । प्रचण्डको अभिव्यक्तिबाट तरंगित भएर प्रतिपक्षी दलले मुख मिठ्याइ हाल्न आवश्यक छैन ।

११ महिनायता कांग्रेससँगको गठबन्धनमा ‘कम्फरटेबल’ महसुस गरेका प्रचण्डले फागुन १ को पूर्वसन्ध्यामा मात्र कांग्रेसले धोका दिएको महसुस गरेका छन् । विधान सम्मेलनको पूर्वसन्ध्यामा कार्यकर्तामाझ हामी अझै क्रान्तिकारी नै छौं भनेर प्रमाणित गर्न प्रचण्डले कांग्रेसबाट धोका भएको अभिव्यक्ति दिएको हुनसक्ने विश्लेषण भइरहेको छ । यद्यपि यो अभिव्यक्तको अन्तर्यमा केही अरु कुरा पनि छन् । 

प्रचण्ड अभिव्यक्तिमा लुकेका कुरा 
कांग्रेसबाट धोका भएको भन्ने अभिव्यक्तिको पहिलो सन्देश माओवादी कार्यकर्तासँग ‘इमोसनल ब्ल्याकमेलिङ’ हो । कर्मकाण्डी नै भए पनि विधान सम्मेलनमा उठ्न सक्ने सम्भावित प्रश्नको जवाफ स्वरूप प्रचण्डले त्यसो भनेको बुझ्न कठिन छैन । ‘लुकिङ लण्डन, टकिङ टोकियो’ नेपालका नेता त्यसमा पनि प्रचण्डको विगतदेखिको बानी नै हो । 

दोस्रो कुरा कांग्रेसलाई साइजमा राख्ने प्रचण्ड दाउ पनि हो । सरकारको नेतृत्व गरे पनि महत्वपूर्ण सवालमा कांग्रेसबाट हस्तक्षेप भइरहेको र स्वतन्त्र ढंगले काम गर्न नपाएको गुनासो प्रचण्डले गरिरहेका छन् । नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाण पक्राउ पर्दा होस् या बाँसबारी जग्गा प्रकरणमा अरूण चौधरी पक्राउ परेपछि विनोद चौधरीलाई उन्मुक्ति दिन होस् कांग्रेसले प्रचण्डमाथि दबाब सृजना गरिरहेको छ । 

मन्त्रिमण्डलमा हेरफेर गरेर कार्यक्षमता देखाउन नसकेका मन्त्री फेर्ने आफ्नो चाहनामा कांग्रेस सभापति शेरबहादुर देउवा बाधक बनिरहेका छन् । कांग्रेसबाट धोका भएको भनेर प्रचण्डले देउवामाथि दबाब सृजना गर्न खोजिरहेका छन् ।

कोशीमा गुमाएको राष्ट्रियसभा सदस्यको एक सिटको सट्टा राष्ट्रिय सभा अध्यक्ष आफ्नो पक्षमा पार्ने मौकाको तुरुपको रूपमा पनि प्रचण्डको अभिव्यक्तिलाई लिन सकिन्छ । कृष्ण सिटौलालाई  राष्ट्रिय सभा अध्यक्षको आश्वासन दिए पनि केही महिनापछि संवैधानिक परिषद्मा माओवादीको उपस्थिति शून्य हुन नदिन प्रचण्ड अध्यक्ष गुमाउने पक्षमा छैनन् । गतवर्ष फागुमा भएको भद्र सहमतिअनुसार अबको १० महिनापछि प्रचण्डले प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्नेछ । त्यसपछि संवैधानिक परिषद्मा माओवादी शून्य हुने खतरा छ, जबकी राष्ट्रिय स्वतन्त्र पार्टीको समेत प्रतिनिधित्व सुनिश्चित छ । 

कांग्रेसको प्रधानमन्त्री, एमालेको सभामुख र रास्वपाको उपसभामुख रहने संवैधानिक परिषद्मा आफ्नो प्रतिनिधित्व सुनिश्चित गराउन राष्ट्रिय सभा अध्यक्ष गुमाउनु माओवादीका लागि धर्मसंकट बन्दैछ । राष्ट्रिय सभाको पहिलो दलको हैसियतमा उसले त्यो दाबी गरिरहेको छ । 

प्रचण्डबाट सहज सत्ता हस्तान्तरण हुने अपेक्षा गरेका देउवाले आफ्नो अनुकुलताका लागि राष्टिय सभाध्यक्षमा जिद्दी गरिराख्ने देखिँदैन । प्रचण्डलाई बिच्काउँदा के हाल हुन्छ भन्ने कुरा देउवाले २०७९ पुस १० गते ब्यहोरी सकेका छन् । 

कांग्रेसले धोका दिएकोले गठबन्धनमा पुर्नविचार गर्नुपर्छ भनिरँहदा प्रचण्डले एउटा महत्वपूर्ण शर्त राखेका छन्, शान्ति प्रक्रिया । शान्ति प्रक्रियाको मुद्दामा प्रचण्ड एमालेभन्दा कांग्रेससँगनजिक छन् । संसद्को चालु अधिवेशनमा संक्रमणकालीन न्यायसम्बन्धी कानून टुंगाउने प्रचण्डको योजना छ, जसमा कांग्रेसले साथ दिइरहेको छ । 

प्रचण्डले घुर्की लगाएजस्तो गठबन्धनको विकल्प खोज्ने हैसियत र ल्याकतमा उनीसँग छैन । तत्काल अर्को गठबन्धन बन्न राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति अनुकुल छैन । यो बेला कांग्रेसबाट धोका पाएको भन्दै गठबन्धनको विकल्प सोच्ने कुरा जनतालाई उल्लु बनाउनेबाहेक केही होइन । प्रचण्डको अभिव्यक्तिबाट तरंगित भएर प्रतिपक्षी दलले मुख मिठ्याइ हाल्न आवश्यक छैन । 

प्रचण्डले कहिलेकाही भावनामा आएर बोलिदिन्छन् र पछि भन्छन्, ‘भावनामा आएर बोलिहालें, नबोलेको भए हुन्थ्यो ।’ गठबन्धनमा पुर्नविचार गर्नुपर्ने प्रचण्ड धारण जुनसुकै बेला फेरिन सक्छ । एउटै विषयमा छेपाराले रङ फेरेजस्तै बोली फेरिरहने नेताहरूको प्रवृत्ति नौलो होइन। त्यसमा पनि बिहानदेखि बेलुकासम्म एउटै विषयमा दुई/तीनथरि धारणा राख्न सक्ने प्रचण्ड बोलीको विश्लेषण अनुभवी राजनीतिक विश्लेषकलाई पनि गर्न गाह्रो हुन्छ । विधान सम्मेलनमा आएका नेता-कार्यकर्ता थानकोटबाट ओरालो लागेपछि प्रचण्डले फेरि भन्न सक्छन्– गठबन्धन पाँचै वर्ष टिक्छ ।

salt training

कमेन्ट गर्नुहोस्