
कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना प्रस्तुतिलाई अनौठो तरिकाले प्रस्तुत गर्ने गर्छन् । सधै केही न केही नयाँ तरिका अपनाएर आफ्ना प्रस्तुति सार्वजनिक गर्ने उपाध्यायले प्रणय दिवसको अवसर पारेर आफ्ना गीत ‘हट एयर बेलुन’मार्फत् सार्वजनिक गरेका छन् ।
उनले आफ्ना एक सय पचासभन्दा बढी गीत बेलुन ‘हट एयर बेलुन’मार्फत् आकाशमा उडाएर सार्वजनिक गरेका हुन् । भक्तपुरको देउराली डाँडास्थित एक रिसोर्टमा उपाध्यायले आफ्ना एक सय पचासभन्दा बढी गीतलाई हट एयर बेलुनमार्फत् आकाशमा उडाएर सार्वजनिक गरेका हुन् ।
प्रेम दिवस मनाउन रिसोर्टमा पुगेका थुप्रै युवा युवतीले उक्त दृश्यमा रमाइलो गरेका थिए । उपाध्यायका गीत अंकित बेलुन आकाशमा उडिरहँदा रमाइलो वातावरण बनेको थियो ।
केही अनौठा काम गर्ने सिलसिलामा प्रेम दिवसको अवसर पारेर गीत हट एयर बेलुनमार्फत् सार्वजनिक गरेको डा उपाध्यायले बताए ।
उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गरेका छन् । उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।
दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।