
सङ्खुवासभाको चिचिला गाउँपालिका–३ मा दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुने भवनको सोमवार भारतीय दूतावास काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
विद्यालय भवन निर्माणका लागि नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारले ४ करोड २९ लाख रुपैयाँ उपलब्ध गराउने छ ।
शैक्षिक तथा प्रशासनिक भवन दुई तलाको हुनेछ ।

यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण दृष्टान्तको रुपमा रहेको भारतीय दूतावासले जनाएको छ ।
कार्यक्रममा चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पाले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए । उक्त सहयोगले यस क्षेत्रको शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो ।
भारत र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएको छ । ४८८ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ ।
जसमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना सङ्खुवासभामा छन् ।
यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिएको दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कूल बस सङ्खुवासभा जिल्लालाई उपलब्ध गराइएको छ ।