२५ जेठ २०८३, सोमबार

३० दिनसम्म कसैले राजीनामा माग्न सक्दैन, १५ दिनमै विश्वासको मत लिन्छु : मुख्यमन्त्री यादव [अन्तर्वार्ता]

बैशाख ३०, २०८१
काठमाडौं
३० दिनसम्म कसैले राजीनामा माग्न सक्दैन, १५ दिनमै विश्वासको मत लिन्छु : मुख्यमन्त्री यादव [अन्तर्वार्ता]

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।

समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकारले अब के गर्छ भन्ने विषयमा लोकान्तरकर्मी अजय अनुरागीले मधेश प्रदेशका मुख्यमन्त्री यादवसँग संक्षिप्त कुराकानी गरेका छन् । कुराकानीमा उनले पाँचौं पटक पनि विश्वासको मत लिने दाबी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :​

एमाले र माओवादीले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि  सरकार अल्पमतमा छ, अब के गर्नुहुन्छ?

सदनमा विश्वासको मत लिएपछि मात्र अल्पमत वा बहुमतको कुरा हुन्छ । समर्थन फिर्ता लिएको ३० दिनसम्म विश्वासको मत लिने अधिकार मसँग छ । म विश्वासको मत लिन्छु । मेरो पक्षमा फेरि पनि बहुमत आउँछ र म सरकारको नेतृत्व गर्छु ।

तपाईंको पक्षमा बहुमत आउला भन्ने छ र ?

शत प्रतिशत म विश्वस्त छु । चौथो पटक समर्थन लिएर मैले सरकारको नेतृत्व गरिरहेको छु । अब पाँचौं पटक पनि विश्वासको मत लिन्छु र म नै मुख्यमन्त्री रहिरहन्छु ।​

गणितले त्यो देखाउँदैन नि ?

तपाईं हेर्नुहोला । ३० दिन धेरै समय हुन्छ । अबको १५ दिनपछि सदनमा म विश्वासको मत लिन्छु । र, मेरै पक्षमा विश्वासको मत आउँछ ।​

एमाले र माओवादीले तपाईंलाई फुटेको जसपामा आए मुख्यमन्त्री दिने प्रस्ताव गरेको हो?

मलाईं पार्टी विभाजन गरेर आऊ भन्ने कसैको हिम्मत र आँट नै छैन ।

त्यसो भए तपाईंले पार्टी परिवर्तन गर्नु हुन्न?

म सधैं मधेशवादी पार्टीमा लागेको मान्छे हो । जसपा नेपाल छोडेर जाने कुरै छैन । म दल परिवर्तन गर्ने मान्छे नै होइन । २०५४ साल देखि म सद्‌भावना पार्टीबाट राजनीति गर्दै आएको हो । सद्‌भावना हुँदै राजपा र जसपा नेपालमा आएँ । म आज पनि जसपा नेपालमै छु । माननीय उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमै छु । त्यहीं रहिरहन्छु । पदको लागि म उपेन्द्रजीको साथ छोड्नेबाला छैन । म उपेन्द्रजीसँगै रहिरहन्छु । मेरो लागि पद ठूलो कुरा होइन ।​

तपाईंले नै पुनर्गठन गर्नुभएको सरकारमा जसपा नेपाल र नेकपा एकीकृत समाजवादीका मात्र मन्त्री छन् । ५४ सांसद हुनुपर्नेमा २६ मात्र पुग्छ । अल्पमतमा परिसक्नु भयो । फेरि विश्वासको मत कसरी लिनुहुन्छ?

यस अघि पनि शपथपछि मैले तीन पटक विश्वासको मत लिइसकेको छु । कांग्रेस र एमालेले विश्वासको मत दिएकै हो । तपाईं ढुक्क हुनुस्, म विश्वासको मत पाउँछु ।​

तपाईंले विश्वासको मत पाउँछु भनिरहनु भएको छ । तर अब त तपाईंको पार्टीकै थुप्रै सांसद फुटेको जसपामा लागेर अर्को गठबन्धनमा जाने सम्भावना बढेको छ । तपाईं त झन्‌झन् अल्पमतमा पर्नुहुने अवस्था देखियो नि, होइन?

हामी १९ को १९ सांसद जसपा नेपालमा एकढिक्का छौं । कुनै पनि सांसद फुटेको पार्टीमा जानु हुन्न ।​

अब एमाले र माओवादीले तपाईंको राजीनामा माग्लान् । के तपाईंले राजीनामा दिनुहुन्छ ?

तपाईं एक पटक संविधान पनि त पढ्नुस् । समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने हो । अब ३० दिन सम्म कसैले मेरो राजीनामा माग्न सक्दैन । विश्वासको मत विफल भएपछि राजीनामा गर्ने हो । राजीनामा लिने प्रावधान नै छैन भने कसरी राजीनामा दिन्छु?

गणित नभए राजीनामा दिनु पर्दैन र ?

तपाईं कसरी बुझ्नु भयो कि मैले विश्वासको मत पाउँदिन ? समर्थन फिर्ता लिएर मात्र हुँदैन । १५ दिनपछि म विश्वासको मत लिन्छु भनिरहेकै छु ।

एमाले र माओवादीका मन्त्रीहरूले तपाईंसँग सल्लाह गरेरै राजीनामा दिनुभएको हो?

हिजोसम्म उहाँहरू यही सरकारलाई निरन्तरता दिने भनिरहनु भएको थियो । भोलि क्याबिनेट राख्ने कुरा उहाँहरूसँगै भनेको थिएँ । अगाडि कसरी बढ्ने भन्नेमा बैठक गरेको थिएँ । सचिवहरूसमेत राखेर बैठक गरौं भनेर हिजै कुरा भएको थियो । प्रगति विवरण माग्ने कुरा भएको थियो । आगामी बजेट ल्याउने विषयमा छलफल भएको थियो । तर, उहाँहरूले आज एकाएक राजीनामा दिनुभयो । फेरि म भन्छु, पाँचौं पटक पनि विश्वासको मत मेरै पक्षमा आउँछ ।

एमाले र माओवादीसहितका सांसदले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकोमा दाबी पेश गर्ने तयारी गरेको कुरा आएको छ । प्रदेश प्रमुखले पनि दाबी पेश गर्न आह्वान गर्नुभयो भने के गर्नुहुन्छ ?

प्रदेश प्रमुखले त्यसो गर्नै पाउनुहुन्न । जबसम्म सदनमा विश्वासको मत लिने प्रक्रियाको चरण पूरा हुँदैन तबसम्म प्रदेश प्रमुखले सरकार गठनको लागि दाबी पेश गर्न आह्वान नै गर्न पाउनु हुन्न । सदनमा मैले विश्वासको मत लिन नसके मात्र प्रदेश प्रमुख त्यो प्रक्रियामा जान पाउनुहुन्छ । त्यस अघिसम्म मेरै नेतृत्वमा सरकार रहिरहन्छ ।

salt training

कमेन्ट गर्नुहोस्