
बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या १७ जनाको योजनामा भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिलमा १७ जनाको योजनामा कुशवाहाको हत्या भएको उल्लेख छ ।
बारास्थित आदर्शकोतवाल गाउँपालिका–२ खजुरिया बस्ने सुरेन्द्रप्रसाद कुशवाहालाई मुख्य योजनाकार/निर्देशक, हतियार व्यवस्थापक र सुटरको रूपमा उल्लेख गरिएको छ । सुरेन्द्रकै योजनामा थप १६ जना परिचालित भई हरिभूषणको हत्या गरेको प्रहरीको अनुसन्धान मिसिलले देखाउँछ ।
गत जेठ ३२ गते आदर्शकोतवाल गाउँपालिका– बतरामा हरिभूषणको गोली हानी हत्या गरिएको थियो । प्रहरीले बुझाएको अनुसन्धान मिसिलअनुसार हालसम्म १० जना पक्राउ परेका छन् । मुख्य सुटर एवं योजनाकार भनिएका सुरेन्द्र अझै फरार छन् ।
आदर्शकोतवाल गाउँपालिका–२ स्थित खजुरियाका चाँदशी प्रसाद कुशवाहा, चन्द्रमणि कुशवाहा, अबधलाल कुशवाहा, सुमेदप्रसाद कुशवाहा, विनोद राउत कुर्मी, राधेशकुमार पटेल, आदर्शकोतवाल–३ का चुल्हाई भन्ने श्रवणकुमार शाह, कोहल्वी नगरपालिका–१० बरेवा बस्ने अम्रपाली भन्ने ब्रम्हदेव महरा, करैयामाई गाउँपालिका–७ पिपरा बस्ने मोतिलाल चौधरी र बारागढी गाउँपालिका–५ बस्ने हरिन्दर महरा चमारलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी आदर्शकोतवाल–२ खजुरियाका सुरेन्द्रप्रसाद कुशवाहा, कालेजप्रसाद कुशवाहा, जुवेद पासवान, राजकपुर कुशवाहा, सन्नी देवल कुशवाह, ओमप्रकाश कुशवाहा र कोहल्वी नपा–१० बरेवा बस्ने हरिन्दर चौधरीलाई प्रहरीले फरारको सूचीमा राखेको छ ।

प्राप्त विवरणअनुसार हरिभूषणको हत्यामा संलग्न मुख्य योजनाकारसँग अन्य अभियुक्तको भूमिका केलाइएको छ । जसअनुसार हत्या योजनाको केन्द्रमा सुरेन्द्र छन् । अन्य १६ जनामध्ये कसैको भूमिका हरिभूषण सवार मोटरसाइकलको रेकी गर्ने, हतियार व्यवस्थापन गर्ने, हत्यामा प्रयोग भएको मोटरसाइकल व्यवस्थापनदेखि चालकको भूमिका निर्वाह गर्ने र घटना भइसकेपछि हतियार लुकाउनेलगायत छन् ।
अनुसन्धान मिसिलअनुसार सन्नी देवलको भूमिका योजनामा सामेल हुने र हरिभूषण सवार मोटरसाइकलको निगरानी गर्ने, चन्द्रमणिको भूमिका योजनाकारसँगै हातहतियार व्यवसथापन र हरिभूषणको रेकीगरी सूचना अदानप्रदान गर्ने, कालेजले हतियार व्यवस्थापन गर्ने र मोटरसाइकल चालकको भूमिका निर्वाह गरेको उल्लेख छ ।
त्यस्तै अवधलालले हत्या योजनामा सामेल हुनुका साथै हरिभूषणको रेकी गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको घरबाट दुई राउण्ड गोली समेत बरामद गरेको थियो । चुल्हाई भन्ने श्रवणकुमारले पनि हतियार व्यवस्थापनमा सहयोग गरेको प्रहरीको अनुसन्धान मिसिलमा उल्लेख छ । रादेश कुमार, विनोद, जुवेद र राजकपुर भने हत्या योजनामा संलग्न रहेको भनिए पनि भूमिका स्पष्ट खुलाइएको छैन । उनीहरूलाई घटनाको मतियारको रूपमा प्रहरीले मिसिलमा उल्लेख गरेको छ ।
त्यस्तै, हरिन्दरले घटनामा प्रयोग भएको हतियार र गोली सुरेन्द्रलाई बिक्री गरेको, ब्रम्हदेवले घटना भइसकेपछि हतियार लुकाएर राखेको र योजनामा प्रयोग भएको मोटरसाइकल पछाडि बसेको, हरिन्दरले हतियार बिक्री गरेको, सुमेद र ओमप्रकाशले हरिभूषण सवार मोटरसाइकलको रेकी गरेको अनुसन्धान मिसिलमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्काले अनुसन्धान सक्काएर फाइल सरकारी वकिल कार्यालयमा बुझाइसकेको बताए । उनले फरार प्रतिवादीहरूलाई खोजिरहेको बताए ।
कसलाई कुन सजाय मागदाबी ?
प्रहरीले प्रतिवादीमध्ये सुरेन्द्र, ब्रम्हदेव र कालेजलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ को उपदफा (१) र (२) बमोजिम र हातहतियार खरिदगरी आफूसँग राखी सोही संहिताको दफा १३० को उपदफा (१) र (२) बमोजिम र संहिताको दफा ४३ को (१) र (२) को सजायको मागदाबी गरेको छ ।
अरु प्रतिवादीहरू चाँदसी,सन्नी देवल, ओमप्रकश, सुमेद र राजकपुरको हकमा मुलुकी अपराध संहिताकै दफा १७७ को उपदफा (१), सोही ऐनको दफा ३६ को उपदफा (१) र (२) बमोजिम र मतियारको कसुरमा संहिताको दफा १७७ को उपदफा (२) बमोजिमको सजायको मागदाबी प्रहरीले गरेको छ । प्रतिवादीमध्ये हरिन्दरले सुरेन्द्रलाई हतियार (पेस्तोल) बिक्री गरेको कसुरमा संहिताको दफा १३० को उपदफा (२) बमोजिमको सजायको मागदाबी गरेको छ ।
प्रतिवादीहरू विनोद, जुवेद, चन्द्रमणि, चुल्हाई, मोतिलाल, अवधलाल र राजेशलाई पनि मतियारको भूमिकामा राखिएको छ । उनीहरूको हकमा पनि संहिताको दफा १७७ को उपदफा (२) बमोजिममा हुने सजायमा संहिताको दफा ३६ को उपदफा (३) को खण्ड ‘ख’ बमोजिमको सँजाय मागदाबी गरिएको प्रहरीले बुझाएको मिसिलमा उल्लेख छ ।
यस्तो छ प्रतिवादी मध्येका विनोदको बयान
जाहेरवाला गाउँका जमिनदार हुनुहुन्छ । जाहेरी दरखास्तमा प्रतिवादी बनाइएका सुरेन्द्रप्रसाद कुशवाहा, कालेजप्रसाद कुशवाहा, चन्द्रमणिप्रसाद कुशवाहा, जुवेद पासवान, चाँदसीप्रसाद कुशवाहा, अवधलालप्रसाद कुशवाहा, सुमेदकुमार कुशवाहा, राजकपुर कुशवाहा र राधेशकुमार पटेल मेरै गाउँका हुन ।
म गाउँमा नै बसी खेती किसानी तथा राजनीति गर्दै आएको हुँ । प्रतिवादी मध्येका सुरेन्द्रप्रसाद कुशवाहा गाउँको बदमास प्रवृत्तिका व्यक्ति हुन् । निज सुरेन्द्रप्रसाद कुशवाहा पहिलादेखि नै मेरो विपक्षमा थियो । २०७४ सालको स्थानीय निर्वाचनमा निज सुरेन्द्रप्रसाद कुशवाहा मृतक हरिभूषणप्रसाद कुशवाहाको पार्टीमा नै थियो, निज सुरेन्द्रप्रसाद कुशवाहा जसपाबाट वडा अध्यक्षमा मेरो विरुद्धमा चुनाव लडेको थियो । सो चुनावमा म नेकपा एमालेबाट जिल्ला बारा अदर्शकोतवाल गाउँपालिका – २ मा वडा अध्यक्षमा निर्वाचित भएको हुँ ।
प्रतिवादी सुरेन्द्रप्रसाद कुशवाहाले मृतक हरिभूषणप्रसाद कुशवाहाको काम गर्ने विनोद पासवानसँग तमसुक कागज गराई निज विनोद पासवानउपर सम्मानित अदालतमा मुद्दा गरी निज पासवानको सम्पूर्ण जग्गा आफ्नो नाउँमा गराएको हो । त्यसपछि गाउँमा पटक पटक छलफल हुँदा निज सुरेन्द्रप्रसाद कुशवाहाले विनोद पासवानको जग्गा फिर्ता नगरेको र मृतक हरिभूषण कुशवाहाले जग्गा फिर्ता गर्न सुरेन्द्रप्रसाद कुशवाहालाई भन्दा विवादसमेत भएको थियो ।
त्यसपश्चात म २०७९ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षमा चुनाव लड्दा सुरेन्द्रले मलाई चुनावमा सहयोग गरेको थियो । सो निर्वाचनमा मनोज मेहता निर्वाचित भएको हो । त्यसपछि म आफ्नो खेती किसानीको काम गर्दै आएको थिएँ । सोही क्रममा चाँदसीप्रसाद कुशवाहा र मृतक हरिभूषणबीच जग्गा जमिनसम्बन्धी बिवाद भएको थियो । त्यसपछि रामबाबु महतोको जग्गा सुरेन्द्रप्रसाद कुशवाहाले हडपी भोगचलन गर्दै आएकोले सो जग्गा नाप नक्सा हुने क्रममा मृतक हरिभू र सुरेन्द्रबी झै–झगडा हुँदा प्रहरी प्रशासनसमेत आएको सुनेको थिएँ ।
त्यसपछि विनोद पासवानले प्रतिवादी सुरेन्द्रवरिुदद्धमा जिल्ला प्रहरी कार्यालय बारा कलैयामा अनुचित लेनदेनसम्बन्धी निवेदन दिएकोमा मृतक हरिभूषणले सहयोगगरी सुरेन्द्रलाई पटकपटक पक्राउको लागि प्रहरी कर्मचारी निजको घरमा जाँदा सुरेन्द्र घटना वारदातभन्दा करिब ३/४ महिना पहिलादेखि लुकीछिपी बस्ने गरेको थियो । म आफ्नो घरमा खेती किसानीको काम गर्दै आएको थिएँ । सोही क्रममा एमाले पार्टीको सदस्ता नवीकरण हुँदै गरेकोले मिति २०८१ जेठ ३२ गते बिहानको समयमा म र जिल्ला बारा आदर्शकोतवाल–१ मा बस्ने लालबाबु यादवसँग सदस्यता नवीकरण गराउन कलैया पार्टी कार्यालयमा आएका थियौं ।
म पार्टी कार्यालयमा नै बसी सदस्ता नवीकरण गराईरहेको अवस्थामा साँझ १७:३० बजेको समयमा मेरै गाउँका जुवेद पासवनाले प्रयोग गर्दै गरेको मोबाइल नम्बरबाट मैले प्रयोग गर्दै गरेको मोबाइलमा फोनगरी हरिभूषण सरलाई गोली हानी दियो भनी भनेको हो । त्यसपछि मैले लालबाबु यादवलाई मेरो गाउँको हरिभूषणलाई गोली हानी दियो । हामीहरू छिटो घटनास्थलमा जाउँ भनी भन्दा मोटरसाइकल लालबाबु यादवले चलाई पछाडि म बसि साँझ १८ बजेको समयमा घटनास्थल पुगेका हौं । सो स्थानमा स्थानीय मानिसहरू र प्रहरीको भीड लागको थियो ।
हामीले मोटरसाइकल रोकी उक्त स्थानमा जाँदा स्थानीय व्यक्तिहरूले घाइते हरिभूषणलाई उपचारको लागि विरगंजतर्फ लगि सक्यो भनेका थिए । घटनास्थलमा मृतकले प्रयोग गर्ने गरेको प्रदेश २–०३–०१० प १६६४ नम्बरको पल्सर मोटरसाइकल रोकी राखेको थियो ।
घटनास्थलमा रहेका मानिसहरूले खजुरिया गाउँमा बस्ने सुरेन्द्रप्रसाद कुशवाहाले हरिभूषणलाई गोली हानी दियो भनी रहेका थिए । म केही समय घटनास्थलमा बसेर आफ्नो गाउँमा गएको हुँ । मेरो गाउँका मानिसहरूले हरिभूषण घरबाट कलैयातर्फ जाने क्रममा सुरेन्द्रका व्यक्तिले गोली हानी घाइते बनाई दिएकोमा विरगंजस्थित बयोधा अस्पतालमा उपचार भइरहेको भनी बताएको थियो । अरु मलाई केही थाहा छैन ।