
गत आर्थिक वर्षमा सुनको आयात ४० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा २५ अर्ब ९५ करोड ९३ लाख रुपैयाँ बराबरको २९ लाख नौ हजार ग्राम सुन आयात भएको हो ।
आव २०७९/८० मा ४३ अर्ब ९० करोड रुपियाँ बराबरको ३५ लाख सात हजार ८८४ ग्राम सुन आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा सुनको मूल्यको आधारमा १७ प्रतिशत र परिमाणको आधारमा ४० प्रतिशतले सुनको आयात घटेको विभागको तथ्याङ्कले देखाएको छ ।
गत आवको सुनको मूल्य बढ्दा आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा समेत उल्लेख्य कमी भएको हो । आव २०८०/८१ को साउन महिनामा तोलामा एक लाख १० हजार चार सयमा कारोबार भएको सुनको मूल्य असार महिनाको अन्तिममा बढेर एक लाख ४६ हजार नौ सयमा कारोबार भएको थियो । एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा ३६ हजारले बढेको तथ्याङ्कले देखाएको छ ।
चालु आवको साउन महिनामा सुनको मूल्य बढेर एक लाख ४९ हजार आठ सयसम्म पुगेको थियो । जुन अहिलेसम्मकै उच्च मूल्य हो । आजको गोरखापत्र दैनिकमा खबर छ ।