
नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ। नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ तर, ६० लाख रुपैयाँभन्दा बढी खर्च गरेर एमबीबीएस पास भएका चिकित्सकसमेत बेरोजगार छन्। एमबीबीएस मात्र होइन, काठमाडौं उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छन्।
मणिपाल मेडिकल कलेजबाट एमबीबीएस पास गरेकी निष्मा शाक्य (नाम परिवर्तन) ले हरेक सरकारी अस्पतालमा करारमा खुल्दा आवेदन दिएको धेरै भयो। उनले हालसम्म कुनै अस्पतालमा नाम निकाल्न सकेकी छैनन्। त्यसबाहेक निजी अस्पतालमा समेत आफ्नो बायोडाटा छाडेकी छन् छ तर कुनै पनि अस्पतालले उनलाई बोलाएका छैनन्।
केही महिनाअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा करार सेवाका लागि आवेदन दिँदासमेत उनले रोजगारी पाइनन् ।
निष्मा शाक्य मात्र होइन, एमबीबीएस तथा एमडी पास भएका धेरै डाक्टरको पीडा यस्तै छ। नेपालमा डाक्टर अध्ययन पूरा गरेका तर राजनीतिक पहुँच नभएका सयौँ डाक्टर बेरोजगार छन्।
यस्तै एम शाहले ६ महिना कुरेर बल्लतल्ल सानो निजी अस्पतालमा काम गरिरहेका छन् तर, उनलाई अस्पतालले काम अनुसारको तलब सुविधा उपलब्ध गराएको छैन। डा. शाहले उक्त अस्पतालले आफूलाई २४ सै घण्टा काममा लगाएर मासिक ३२ हजार मात्र उपलब्ध गराएको बताए ।
डा. शाहले एमडी अध्ययनका लागि एक वर्षको अनुभव चाहिने भएकाले एक वर्षसम्म निजी अस्पतालले काममा दलाइरहने बताए ।
नेपाल मेडिकल काउन्सिलको तथ्याङ्क अनुसार हालसम्म ३४ हजार ९१० जना चिकित्सकले एमबीबीएस पास गरेर लाइसेन्स लिएका छन्। तीमध्ये ३० हजार २७ जनाले एमबीबीएस र चार हजार ८८३ जनाले बीडीएस पास गरेका छन्। यसै गरी १० हजार ५८० जनाले विशेषज्ञता हासिल गरेका छन्। तीमध्ये नौ हजार ८२३ ले एमडी/एमएस तथा ७६५ जनाले एमडिएस पास गरेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।