२३ असार २०८३, मंगलबार

नेकपामा झलनाथको 'विद्रोह'देखि भट्ट र अग्रवाल कारागार चलानसम्म

असार ४, २०८३
काठमाडौं
नेकपामा झलनाथको 'विद्रोह'देखि भट्ट र अग्रवाल कारागार चलानसम्म

 'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
फिफा विश्वकपको समूह ‘के’ अन्तर्गतको आफ्नो पहिलो खेलमा युरोपेली पावरहाउस पोर्चुगल अफ्रिकी टोली कंगो डीआरसँग बराबरीमा रोकिएको छ। 

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको जादु चल्न नसक्दा र रक्षापङ्क्तिमा तालमेल नमिल्दा पोर्चुगल १–१ गोलको बराबरीमा रोकिन पुगेको हो।

 ह्युस्टन स्टेडियममा बुधबार राति सम्पन्न खेलमा पोर्चुगलले सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन।
खेलको छैटौँ मिनेटमै जोआओ नेभेसले पेड्रो नेटोको क्रसमा उत्कृष्ट हेडरमार्फत गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाएका थिए। 

सुरुवाती गोलपछि पोर्चुगलले बलमा पूर्ण नियन्त्रण जमाउँदै लगातार आक्रमण बुन्ने प्रयास गरे पनि कंगोको रक्षापङ्क्ति बाधक बन्यो। पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा योआने विसाले हेडरमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए।
००००
फिफा विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई  पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो ।
००००
फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको नाटकीय खेलमा घानाले पानामालाई १–० ले पराजित गरेको छ। खेलको अन्तिम मिनेटमा वैकल्पिक खेलाडी केलेब यिरेन्कीले गरेको गोल घानाका लागि निर्णायक बन्यो, जसले टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाएको हो ।
००००
अमेरिका र इरानबीच विगत चार महिनादेखि जारी भीषण युद्धलाई पूर्ण विराम लगाउन एक ऐतिहासिक १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको इभियान-लेस-बैन्समा आयोजित जी-७ शिखर सम्मेलनका क्रममा र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले डिजिटल्ली सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरेका हुन् । फ्रान्सको ऐतिहासिक भर्सायल दरबारमा आयोजित रात्रिभोजको क्रममा ट्रम्पले सम्झौतामा हस्ताक्षर गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ।
००००
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बुधबारको बैठक करिब १ घण्टापछि सुचारू भएको छ ।

दोस्रो बैठकको कारबाही शुरू हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

तर सभामुख डीपी अर्यालले शून्य, विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाफ मन्त्रीलाई दिन निर्देशन दिइसकेकाले आसन ग्रहण गर्न आग्रह गरेका थिए ।

साथै मन्त्रीलाई लिखित प्रश्न सोध्न सकिने सभामुखले जानकारी गराएपछि श्रम संस्कृति पार्टीका सांसदहरू आ-आफ्नो आसनमा बसेका थिए । त्यसपछि बैठक सुचारू भएको हो ।
००००
परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा बेइजिङ पुगेका मन्त्री खनालले भ्रमणका क्रममा विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका थिए।
००००
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार कारागार चलान भएका छन् । 

उनीहरुलाई बुधबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 
भट्ट र अग्रवालमाथि संगठित रूपमा सम्पत्ति शुद्धीकरण गरेको, सेयर बजारमा चलखेल गरेको, बिमा कम्पनीको रकम दुरुपयोग गरेको र बैंकिङ कसुर गरेको आरोप छ।
००००
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उहाँहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको जनाएको हो ।
००००
देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका हरेक गतिविधिमा प्रत्यक्ष जोड्न सरकारले ‘नागरिक चौतारी’ नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त प्लेटफर्मको प्रारम्भिक (बेटा) संस्करण छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकाल का अनुसार यो प्लेटफर्म सरकारका नीतिमाथि बहस गर्ने माध्यममा मात्र सीमित रहने छैन, बरु देशका समसामयिक विषय, सरकारी योजना, नीति र अभ्यासबारे नागरिकको सहज पहुँच सुनिश्चित गर्ने माध्यम बन्नेछ।
००००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएका छन् ।

उनले संयोजक प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालको नेतृत्वमा अब पार्टी चल्न नसक्ने भन्दै उनीहरूलाई नेतृत्व छोड्न प्रस्ताव गरेका छन् । दुवै नेताले राजीनामा गरेर विशेष बैठकमार्फत नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्न झलनाथको माग छ । 

प्रचण्डलाई लेखेको ३६ बुँदे असन्तुष्टि पत्रमा खनालले नेकपाको नेतृत्व विचलित भएकाले यही नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म लैजान नसक्ने टिप्पणी गरेका छन् ।
००००
बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसभाका विशेषाधिकार समितिका सभापति तथा सदस्यहरूको प्रथम राष्ट्रिय सम्मेलन सात बुँदे ‘लुम्बिनी घोषणापत्र-२०८३’ जारी गर्दै सम्पन्न भएको छ । 

लुम्बिनी प्रदेशसभाको विशेषाधिकार समितिको आयोजनामा असार २ र ३ गते राप्ती उपत्यका देउखुरीमा सम्पन्न सम्मेलनले संसदीय विशेषाधिकारको संरक्षण, प्रदेशसभाको स्वायत्तता र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका विषयलाई प्राथमिकतामा राख्दै घोषणापत्र जारी गरेको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार सात सय पाँच दशमलव ५३ मा पुगेको छ ।
००००
नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने आह्वान गरेको छ ।
विभागले सार्वजनिक सूचना जारी गरेर बुधबार दिउँसो ३ बजेदेखि अनलाइन विडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्ने उल्लेख गरेको छ ।
राष्ट्र बैंकले बोलकबोलको ब्याजदर भने सोही माध्यमबाट हुने जनाएको छ ।
००००
कानूनको उद्देश्य समाजमा न्याय स्थापित गर्नु हो, तर कहिलेकाहीँ कानूनका प्राविधिक पाटाहरूले गर्दा गरिब मानिसहरू अन्यायमा पर्ने गर्छन् ।
यस्तै, एउटा कानूनी अल्झन र गरिबीका कारण लामो समय जेलमा बस्न बाध्य भएका बाराका राजकिशोर प्रसाद यादवको कथा र उनले सर्वोच्च अदालतबाट पाएको न्यायको फेहरिस्त यहाँ प्रस्तुत गरिएको छ ।
००००
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा पुरा गरेपछि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

त्रिविको अध्ययन  बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक/कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि अफिसियल लोगो सार्वजनिक गरेको छ । क्रान्तिको प्रतिक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको तस्बिर राखेर लोगो सार्वजनिक गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्