०४ असार २०८३, बिहीबार
पनौतीमा बाढीको वितण्डा

२ करोडमा बेच्न लागेको खेतमा हिँड्न थाल्यो खोला, कसैको जग्गा पुग्यो अर्कै वडामा

असोज १६, २०८१
काभ्रेपलाञ्चोक
२ करोडमा बेच्न लागेको खेतमा हिँड्न थाल्यो खोला, कसैको जग्गा पुग्यो अर्कै वडामा

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका– १ भिरालेका टीकाप्रसाद हुमागाईंको ४ रोपनी खेत थियो । एक करोड ८० लाखदेखि २ करोडमा जग्गा बेच्ने मोलतोल चलिरहेको थियो ।

वर्षौंदेखि खेतीकिसानी गर्दै आएका हुमागाईंले खेत बेचिहाल्ने निर्णय लिन सकेनन् । तर, असोज १२ गते बिहान लीलावती खोलामा आएको बाढीका कारण खेतको नामोनिसान रहेन । अहिले उनको खेतमा फूलचोकीबाट निस्किने खोला बगिरहेको छ ।

बाघमारे र भोटेपोले आसपासका विश्वनाथ सापकोटा, मित्रराज सापकोटा, ध्रुव सापकोटाको तीन/चार रोपनीमा खेतमा अहिले खोला हिँडेको छ । खेत रहेको ठाउँमा ठूला नदीले बनाएको जस्तो बगर देखिन्छ ।

धोर्जे तामाङ, कमल सापकोटा, हरि सापकोटा, विदुर सापकोटासहित धेरै किसानका सयौं रोपनी जग्गा बगरमा परिणत भएको देख्न सकिन्छ । नानीराम सापकोटा, राजन दाहाल, दिवस श्रेष्ठ, विकास श्रेष्ठसहित यो भन्दा माथि आरुचौर, लामद्वाली, रयाले, मानेदोभानसम्मै उस्तै गरी सयौं रोपनी जग्गा खोलामा मिलेको छ । 

हुमागाईंको जग्गासहितको क्षेत्र

खेती किसानी र पशुपालन गर्दै आएका ढाँडाचौरका इन्द्र सापकोटालाई बाढीले पुर्‍याएको क्षति त झन् अत्यासलाग्दो छ ।

डेढ वर्षअगाडि मात्रै एक करोड बढी मूल्य हालेर किनेको ३ रोपनीभन्दा बढी खेत खोलाले गहिरो गरी खोलेको छ ।

बाढी आउनुअघि उनको खेत साविकको कुशादेवी गाविस र अहिलेको पनौती नगरपालिका ३ मा थियो । तर, बाढीले बगाएपछि बगरमा परिणत भएको ठाउँ साविकको रयाले गाविस हालको पनौती– १ तिर परेको छ । यहाँ खोलाअनुसार सिमाना तोकिएको छ ।

‘सबैथोक बगायो,’ खेत बगाएपछि बेचैन भएका सापकोटाले लोकान्तरसँग भने, ‘हेर्दाहेर्दै ठूलो क्षति भयो । हामी साह्रै पीडामा छौं ।’

null

यही आसपासका हुदराज सापकोटा, कृष्णप्रसाद सापकोटा, कुमार सापकोटा, गोकर्ण सापकोटा र कुलप्रसाद सापकोटासहितको ५० भन्दा बढी खेत बगर बन्न पुगेको छ । बाढीपहिरोले पुर्‍याएको क्षतिपछि पनौती– १ मा एकजना किसानले आत्महत्याको प्रयाससम्म गरेको एक स्थानीयले जानकारी दिए ।

‘वर्षामा पानी त अघिपछि पनि पर्थ्यो । तर, यसपटकको अविरल वर्षाले ठूलो भौतिक क्षति गरायो,’ पनौती १ मा होटल चलाएर बसेका एक व्यक्तिले भने, ‘खोलाले धानसहितको खेत बगाएपछि एकजनाले त आत्महत्या नै गर्न खेजेछन् । अरूले थाहा पाएर बचाएको भन्नेसम्म सुन्यौं ।’

null

ती पसलेका अनुसार आत्महत्या गर्न खोज्ने व्यक्ति आर्थिकरूपमा राम्रै हैसियतका हुन् । तर, अकस्मात् खेत बगाएपछिको बेचैनीले आत्महत्याको प्रयास गरेको देखिन्छ । 

बागमारेकै भरत सापकोटा किसानको पीडा भनिसाध्ये नभएको बताउँछन् । 

‘वर्षायामभरी बारीमा लगाएको मकैबाली बँदेलले भित्र्याउन दिएन । दशैं आउनै लाग्दा पाकेको धानबाली किसानले भित्र्याउन पाएनन्,’ सापकोटाले भने, ‘हेर्दाहेर्दै खेत बगरमा परिणत भएपछि किसानहरू पीडामा छन् ।’ 

null

खोलाको धार र सिमाना परिवर्तन हुँदा किसानमा अर्को चिन्ता थपिएको उनी बताउँछन् ।

‘रोपनीका रोपनी खेत बगेर बगर भएको छ । माटो सबै बगेर जाँदा ढुंगामुढा र गिटीमात्रै थुप्रिएको छ, खेतमा खोला हिँडेको छ,’ सापकोटा भन्छन्, ‘धेरै भौतिक क्षति भएपछि किसानलाई अब बगेको खेतको सिमाना कसरी कायम होला भन्ने चिन्ता बढेको छ ।’  

पाकेर लहलह भएको फाँटको धानखेती भित्र्याउन किसानले शुक्रबार र शनिबारको दिन रोजेका थिए । 

काठमाडौंमा जागिर गर्ने परिवारका सदस्य गाउँ आएपछि मद्दत पुग्ने भएकाले धेरैले धान भित्र्याउने दिनका रूपमा शनिबारलाई रोजेका थिए । तर, बिहीबारदेखि शुरू भएको वर्षा शुक्रबार दिनभरदेखि शनिबार बिहानसम्म अनवरत भइरह्यो ।

null

किसानले शनिबारका लागि बनाएको योजना पूरा भएन । बरु हेर्दाहेर्दै सयौं रोपनी धानखेत बगरमा मिसियो । 

स्थानीय राजकुमार, तुलप्रसाद, निरञ्जन सापकोटासहितको १० औं रोपनी धानखेत बगरमा परिणत भएको छ । यी केही प्रतिनिधि पात्र मात्रै हुन् । एक सय बढी परिवारको धानखेतमा कि खोला हिँडेको छ, कि त बगर बनेको छ ।

ठूलाखेत, एक्लेखेत, किटिनी, नयाँखेत, बाघमारे, झाङमारे, आरूचौर, लामद्वाली, रयाले र मानेदोभानमासम्म लीलावती आसपासको सयौं रोपनी धानखेत उजाड बगर बनेका छन् । मानेदोभानमा घर बगरमा लडेका छन् । राजकुमार रञ्जितकारसहितका युवाले करोडौं लगानी गरेर ट्राउट माछा पालनका लागि बनाएको पूर्वाधार घरमा उस्तै क्षति पुगेको छ । सानो खोल्सामा आएको पहिरो र भेलले घर नै बगाएर खोलामा पुर्‍याएको देख्न सकिन्छ ।

null

सिँगै डाँडाकाँडा र जंगलको रूख नै पहिरोमा बगेर आएपछि खोला किनारका खेत कटान भएको छ । पनौती १ का वडाध्यक्ष जयकुमार लामा अविरल वर्षापछि बाढी र पहिरोको क्षति अकल्पनीय रहेको बताउँछन् । 

‘पनौती– १ मा ११ गतेको भारी वर्षाले बाटोघाटो, एकडेढ सय घर र गोठमा क्षति पुर्‍याएको छ । ३ जनाको मृत्यु हुँदा एक गम्भीर घाइते हुनुभएको छ,’ लामाले लोकान्तरसँग भने, ‘खेतीयोग्य जमिनको कटान भनिसाध्ये छैन । ७ देखि १० मिटरसम्मका खोला खेत बगाएपछि ४०/५० मिटरसम्मको बगर बनेको छ । धानखेत खोलाले कटान र बारी पहिरोले बगाएर क्षति भएको छ । कम्तीमा ५/७ सय रोपनी खेत बगरमा परिणत भएको प्रारम्भिक हिसाब छ ।’ 

घरगोठ जोगाउन वडाले शुरूमा त्रिपालको व्यवस्था गरेको छ । खानेपानीका लागि पाइप, घरगोठ नै ध्वस्त भएकालाई प्रारम्भिक राहत स्वरूप, चामल, दाल, नुनतेल वितरण गरेको वडाध्यक्ष लामा बताउँछन् । नगरपालिका र स्थानीय कुवेर सापकोटाको सहयोगमा प्रारम्भिक राहत सहयोग जुटाउने, वितरण गर्ने र बाटो खुलाउने प्रयास भइरहेको उनले बताए ।

‘बाटाघाटो, बिजुली पूरै अवरुद्ध भएको थियो । शनिबार यसरी क्षति पुगेपछि पनौतीदेखि माथि डोजर लगाएर बाटो खुलाउने प्रयास गर्‍यौं । आइतबारबाट मंगलबारसम्म चारवटा डोजरले बाटो सफा गरेका छौं,’ लामाले भने, ‘पनौतीदेखि मानेदोभान सडक खण्ड मंगलबारसम्म सफा भयो । अर्को डोजरले ढाँडाचौरदेखि बूढापोखरीको बाटो पनि सफा गरेर बस चल्न मिल्ने बनाएका छौं । पर्खालचाैरदेखि निउरेखोलासम्मको बाटो छिचोलिएको छ । अब मानेदोभानदेखि सूर्यविनायक निस्कने रानीकोट खण्डको बाटोमा डोजर लगाएर सफा गर्छौं ।’

यी प्रारम्भिक काम भए पनि खोला र पहिरोले पुर्‍याएको क्षति ठूलो रहेको लामा बताउँछन् । 

null

‘स्थानीयको खेतबारीको सिमाना नै परिवर्तन गराउने गरी खेतबारी बगाएको छ । सिञ्चाइका बाँध, कुलोमा पनि उत्तिकै क्षति पुगेको छ,’ लामाले भने, ‘नगर र वडास्तरबाट हुने बाटोघाटो, राहत सामग्रीको वितरण गरेर दैनिकीलाई हामी सहज बनाउँछौं, तर ठूलो क्षति भएको खेतबारी कटानमा राज्यकै माथिल्लै संरचनाले काम नगरी नहुने स्थिति छ ।’ 

अनधिकृतरूपमा गाउँमा डाँडाकाँडासम्म जथाभावी डोजर लगाउँदा सानो खोल्सामा आएको लेदोसहितको भेलले बस्तीलाई असर पार्नेसम्मको क्षति भएको देखिन्छ । ठूलाखेतमा रमेश सापकोटाले गरेको च्याउ खेतीमा पहिरो, लेदो र डुबानले ३०/४० लाखको क्षति पुर्‍याएको छ । न्यूरेखेला, ठाडाखोला आसपासमा बाढी र पहिरोका वितण्डा हेरिसाध्ये छैन ।

ठूलो क्षति भएपछि पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले सार्वजनिकरूपमा सहयोगको अपिल नै गरेका छन् । पनौती वडा नम्बर १ को पठानचौर र रयाले, २ र ३ को कुशादेवी, १२ नम्बर वडाको रोशीबजार, कलाँती र भूमिडाँडा क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ । यसैले नगरपालिकाले सहयोगको सार्वजनिक अपिल गरेको हो । 

‘जताततै क्षति भएका कारण पनौती नगरपालिकाभित्रको जनजीवन विकराल अवस्थामा रहेको छ । प्राकृतिक प्रकोपको यस कठिन अवस्थामा खानेपानी, लत्ताकपडा, खाद्यान्न, आवास, सञ्चार, विद्युत्आवागमन लगायतका समस्याहरूबाट आमजनजीवन असाध्यै कष्टकर बनिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मानवीय संकटको यस अवस्थामा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नु हामी सबैको मानवीय कर्तव्य नै हो ।’

ठूलो क्षति सामना गर्नुपरेको भन्दै नगरपालिकाले नेपाल बैंक लिमिटेडको पनौती शाखामा रहेको कोषको खाता नम्बर ०९००३०००००७००२०००००१ मा रकम जम्मा गरी सहायता उपलब्ध गराउन अपिल गरेको छ । 

असोज ९ देखि १२ गतेसम्मको वर्षाले पनौती नगरपालिकामा मात्रै २० जनाको ज्यान गएको छ । घरखेत, पुलपुलेसा, बाँध, कुलो, चौपायासहितको क्षति पनि उत्तिकै रहेको नगरपालिकाले जनाएको छ । 

थप तस्वीर :

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्