२५ जेठ २०८३, सोमबार
क्षणभरमा बगर बनेको एउटा बजार

बाढीले उजाडेको रोशी बजार– बस्नलायक रहेनन् करोडका घर, भक्कानिन्छन् स्थानीय [ड्रोन तस्वीरसहित]

असोज १७, २०८१
काठमाडौं
बाढीले उजाडेको रोशी बजार– बस्नलायक रहेनन् करोडका घर, भक्कानिन्छन् स्थानीय [ड्रोन तस्वीरसहित]

विगत केही वर्षदेखि पनौती नगरपालिका- १२ स्थित रोशी बजारको चहल-पहल कुनै ठूलो शहरभन्दा कम थिएन । जग्गाको मूल्य आनाको ६/७ लाखसम्म पर्न थालिसकेको थियो ।​

रोशी बजार हुँदै खारखोला र जोरघट्टा जाने मल्पी रोडमा टिप्परसहित दैनिक सयौं गाडी कुद्थे । बजारमा खोलिएका होटेल–रेस्टुरेन्टको व्यापार चकाचक थियो ।

बनेपा/पनौतीको भन्दा सस्तो जग्गा भएपछि विदेश जाने र त्यहीँ वरपर अलि दुर्गमका मान्छेको रोजाइमा त्यहाँको जग्गा पर्‍यो । धमाधम पक्की घर बन्न शुरू भयो ।

२०३८ सालदेखि त्यहाँ ठूलो बाढी आएको थिएन । ०३८ सालमा पनि त्यति ठूलो बाढी नआएको, खोलो बढेको भएपनि शान्त देखिएको र केही मात्र क्षति भएको थियो ।

शान्त र सुरक्षित ठाउँ भएकैले रोशी बजारको प्रगति लोभलाग्दो थियो ।

गत शुक्रबार आएको अकल्पनीय बाढीले बजारको नक्सा नै परिवर्तन गरिदिएको छ ।

null

लगभग ८० प्रतिशत घरहरू बस्न योग्य छैनन् । मानवीय क्षति धेरै नभएपनि रोशी बजार अहिले उजाडिएको मरुभूमिजस्तो बन्न पुगेको छ ।

स्थानीयको हातमा लालपुर्जा छ, तर जग्गा छैन । घरभित्र पसेको बाढीले ल्याएको माटो र ढुंगा बाढी गएको ६ दिनसम्म निकालिएका छैनन् । वरिपरि बगरैबगर छ ।

अन्नपात बाढीले बगाएर लगिदिएको छ भने मान्छे बस्न र खानका लागि सग्लो घरमा सहारा लिइरहेका छन् । यस्तो वितण्डा त्यहाँ यसअघि कहिल्यै नदेखिएको त्यहाँका बुढापाकाहरू बताउँछन् ।

२ वर्षअघि मात्रै पक्की ढलान घर बनाएका नवराज केसीको घर उत्तानो परेको छ ।

उनको ४ रोपनी जग्गा बगर भएको छ । त्यहाँ अलि धनीमानी मानिने उनी आँखामा आँसु जम्मा गर्दै अहिले आफ्नो प्रगति ५० वर्षपछि धकेलिएको गुनासो गरे ।

अर्कैको घरमा शरण लिएर बसेका उनी र उनको परिवार अब के हुन्छ भन्ने सोच्नै सकेका छैनन् ।

केसी भन्छन्, '३ करोडजतिको घर, जग्गा, बाइकलगायत अन्य सामान बगाएर लगिदियो । कहिले कहाँ, कहिले कहाँ बसिरहेका छौं ।'

घर बनाएको ऋण भर्खर तिरेर सकेकी पूर्णमाया सुनार त्यस्तै एक पीडित हुन् । बुधबारदेखि जान थालेको राहतमा पनि आफूलाई विभेद गरिएको उनको गुनासो छ ।

null

'यहाँका मान्छे स्वार्थी छन् । कसैले ४/५ बोरा चामल लागेका छन्, हामीले पाएका छैनौं । हामीले सम्पत्ति जम्मा गर्न खोजेको त होइन ।'

उनी नजिकैको चर्चमा बास लिइरहेकी छन् । उनको घरको अगाडिको भागमा खोलो बगेको छ ।

६३ वर्षीया एकल महिला राधा कामी त्यस दिनको त्रासदी र क्षतिले रुँदारुँदा आँखा कमजोर भएको गुनासो गर्छिन् । बाढीले उनको २ रोपनी जग्गा खर्लप्पै खाइदिएको रहेछ । उनको ३० धार्नीको बंगुरसमेत बाढीले छाडेन ।

'हामी त लालपुर्जा भएको सुकुम्बासी बन्यौं सर,' आँसु पुछ्दै उनले भनिन्, 'एक डोको मकै आउने खेत मात्र बँचेको भए खोले खाएर पनि बाँच्थे, अब के गरम, कसो गरम ? अहिले एक बोरा चामल, दाल र तेल दिएका छन् । पछि भोकै मरिने हो कि थाहा छैन ।'

null

बाढीले वरपरबाट घेरा हालेर घर भास्सिँदासमेत भित्रै रहेकी मनकुमारी तामाङको त्यस्तै दु:खको कहानी छ ।

'दुवैतिरबाट आयो, अनि के गर्ने–गर्ने भन्ने भो । घर भासिन थाल्यो । हामी ४ जना भित्रै थियौं । मेरो सासुआमालाई मैले, मलाई मेरो छोराले समातेर तान्यो,' मलिन हुँदै उनले भनिन् ।

बल्लबल्ल बाँचेर निस्केपछि कहिले कहाँ, कहिले कहाँ बस्ने गरेको छ, उनको परिवार । अहिलेसम्म पनि घरभित्र पस्ने आँट उनीहरूले गरेका छैनन् । 'दुईवटा बाइक थियो, घरभित्रै छ कि लगिसक्यो थाहा छैन,' उनको दुखेसो छ ।

धेरैले रोशी बजारभन्दा केही माथि रहेका क्रसर र तिनको अवैध उत्खनन् बाढीको मुख्य कारण मान्छन् ।

nullयसबारे लोकान्तरले गरेको प्रश्नमा रोशी बजार अवलोकन गर्न पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रसर खानी रोक्न नीतिगत व्यवस्था गर्न आफ्नो पहल रहने जवाफ दिएका छन् ।

बाढी गएको पर्सिपल्ट आइतबार लोकान्तरकर्मी पुग्दा त्यहाँ खण्डहरबाहेक केही थिएन । पहिरोमा परी मृत्यु भएका सञ्जीव केसीको दाहसंस्कार बाटैमा गरिएको थियो ।

वडा नम्बर ९ र १२ जोड्ने बाटो र पुल तहसनहस थियो । त्यतिबेलासम्म राज्यलाई त्यहाँको अवस्थाबारे खासै जानकारी थिएन । उद्धारमा सेनाको एक टोली पुगेको थियो । राहत शून्य थियो भने त्यतिबेलासम्म कुनै पनि सञ्चारमाध्यमले त्यसबारे रिपोर्टिङ गरेका थिएनन् ।

null

त्यसपछि बुधवार पनि लोकान्तर टीम त्यहाँ पुगेको थियो । आइतबारभन्दा बुधवार त्यहाँ अलि चहल-पहल बढेको देखिन्थ्यो ।

मिडियाकर्मीहरू पुगेका थिए र राहत पनि पुगेको थियो । मोबाइल नेटवर्क भने बुधवार पनि थिएन ।

null

salt training

कमेन्ट गर्नुहोस्