
सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ताहरू २ दिनदेखि पोखरामा आन्दोलित छन् ।
आज पोखरास्थित पृथ्वीचोकमा नेता तथा कार्यकर्ता भेला भएर सरकारविरुद्ध खबरदारी गरिरहेका छन् ।
यसैबीच, पार्टी उपसभापति स्वर्णिम वाग्ले सांसद एवं नेत्री सुमाना श्रेष्ठ, तोसिमा कार्कीलगायत नेता तथा कार्यकर्ताको उपस्थिति देखिन्छ ।
तोसिमाले भीडलाई सम्बोधन गर्दै भनिन्, 'हामी रविलाई मात्र जोगाउन र बचाउन आएका होइनौं ।'
राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएका नेताहरूले सहकारी पीडितलाई न्याय दे, राजनीतिक प्रतिशत अन्त्य गर, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएका छन् ।

सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा उक्त मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पक्राउ परेर कास्की प्रहरीको हिरासतमा छन् ।
रवि पक्राउको विरोधमा रास्वपा कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आएका छन् ।
कास्की जिल्ला अदालतले हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएपछि रास्वपाले केही रणनीति बदलेको देखिन्छ ।
रास्वपा नेताहरूले सहकारीपीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताइरहेका छन् ।

रास्वपा नेता कार्यकर्ताले 'सहकारी पीडितलाई न्याय दे' भन्ने नारा मात्र लगाएका छैनन् सत्तारुढ नेकपा एमालेविरुद्ध आक्रोश समेत पोखिरहेका छन् ।
भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङको जग्गामा एमालेले केन्द्रीय कार्यालय बनाउन लागेको विषयलाई समेत रास्वपाले आन्दोलनको विषय बनाएको देखिन्छ ।
उता प्रहरी हिरासतमा रहेका रविसँग सोमबार सीआईबीको टोलीले बयान लिँदैछ । लगत्तै सरकारी वकिलको कार्यालयमा लगेर बयान लिने तयारी छ ।