
नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दशैं र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी)का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएका छन् ।
विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दशैं र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । 'फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढेको छ । गत दशैं हलहरूमा नेपाली चलचित्रमय बन्यो, तिहारमा पनि उस्तै देखिएको छ,' उनले भने ।
दशैं लक्षित प्रदर्शन गरिएका ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ले बक्सअफिसमा राम्रो व्यापार गरे । चलचित्र ‘ज्वाइँ साब’ले पनि दर्शकको साथ पायो ।
तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले पनि राम्रो व्यापार गरिरहेको छ । यस चलचित्रमा पहिलोपटक शीर्ष भूमिकामा देखिनुभएका अभिनेता विजय बराल दर्शकबाट प्राप्त मायाले दङ्ग छन् ।
'दर्शकहरूले माया गर्नुभएको छ । यो मेरा लागि नौलो अनुभव हो । मलाई विश्वास गर्ने निर्माण समूह र साथ दिनुहुने दर्शक प्रति कृतज्ञ छु,' अभिनेता बरालले भने ।
चलचित्र भवनसँगै ओटीटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो ।
हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’ लाई ओटीटीमा ल्याए । यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ ।
चलचित्र ‘महापुरुष’ तिहार लक्षित गरी युट्युबमा सार्वजनिक गरिएको छ । यसअघि ओटीटीमा सार्वजनिक भएको यस चलचित्रलाई दर्शककै अनुरोधमा युट्युबमा ल्याइएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले जानकारी दिए।
उनले भने, 'चलचित्र भवन र ओटीटीपछि हामीले युट्युबमा सार्वजनिक गरेका हौं ।'
दशैं तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको संख्या वृद्धि भएको छ ।
त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्याउन निर्माता उत्साहित देखिने गरेका छन् ।