
कात्तिक ३० गतेलाई प्रदर्शनको समय घोषणा गरिएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगित गरिएको छ ।
प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्व व्यापार गरिरहेको र नयाँ चलचित्र आउँदा ‘शो’ बाँडफाँटमा समस्या हुने भएकाले नयाँ मिति सार्वजनिक नभएसम्म ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिए ।
'पछिल्लो समय नेपाली चलचित्रले पाइरहेको दर्शकको साथले सबै चलचित्रकर्मीलाई उत्साहित बनाएको छ । गत दशैंदेखि छठसम्म नेपाली चलचित्रको व्यापार हेर्ने हो भने हामी अब विदेशी चलचित्रसँग डराउनुपर्ने अवस्था छैन । त्यसैले हामीले ‘मिसिङः केटी हराएको सूचना’ हाललाई प्रदर्शन रोक्ने र चलिरहेका नेपाली चलचित्रलाई साथ दिने घोषणा गरेका छौँ ।'
नयाँ चलचित्र आउँदा दर्शकको साथ प्राप्त चलचित्रलाई असर पर्ने सम्भावना रहने भएकाले इतिहास कायम गर्ने बाटोमा रहेको चलचित्रलाई सहज बनाइदिनु आफ्नो दायित्व ठानेको निर्देशक दीपेन्द्र गौचनले बताए । उनले भने, 'हामी छिट्टै नयाँ प्रदर्शनको समय तय गर्नेछौँ । अहिलेलाई हामीले नेपाली चलचित्रको उत्सवलाई ऐक्यबद्धता दिएका हौँ । हामीले अब यसरी नै आपसी समझदारीमा अगाडि बढ्नुपर्छ ।'
वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’लगायत निर्देशन गरेर आफ्नो छुट्टै पहिचान बनाएका निर्देशक गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ झन्डै ३२ वर्षपछि निर्देशन गरेका हुन् ।
पहाडी समुदायको केटा र मधेशी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई समेटिएको चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौसल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन् ।