
रुकुम पूर्व भन्नेबित्तिकै धेरैको मानसपटलमा आउने दृश्य गुजुमुज्ज मिलेको गाउँ तकसेरा हो । पुथाउत्तरगंगा गाउँपालिकाको मुकामसमेत बसेकाले तकसेरा गाउँको ओझ झनै बढेको छ । रुकुम पूर्वमा त्यस्ता थुप्रै गाउँ छन्, जुन तकसेराको हाराहारीमा छन् । त्यस्तै, प्रकृतिको अर्को गाउँ हो, कोल । पश्चिम रुकुमबाट तकसेरा, हुकाम हुँदै मैकोट पुग्दा पुथा उत्तरगंगा– १२ मा पर्ने कोल गाउँलाई बायाँ छाड्नुपर्छ ।
कोल पहिला एउटा सिंगो गाविस हो । कोलका गुजुमुज्ज परेका घरका स–साना कोठा परेवाका गुँड जस्ता छन् । ५ सय हाराहारी घर, माध्यमिक विद्यालय, हुलाक, स्वास्थ्यचौकी समेत रहेको कोल साविकमा गाविसको केन्द्र हो । साविक कोल गाविसमा ४ वडा थियो । त्यसबाहेक गर्खानी, वीरगुमखानी, ओखमा, फल्लाई र पद्मी गाउँ अन्य वडामा थिए ।
पारी तकसेरा र बाछी गाउँबाट तेर्सै हिँड्दा पुगिने वीरगुम खानी पारिलो पाखो हो । त्यसको ठ्याक्कै वारिपट्टि कोल गाउँ पर्छ । कोल गाउँका पुराना शैलीका घर तकसेराका घरसँग मिल्दाजुल्दा छन् । यतिखेर भने पुराना शैलीका कोलका घरहरू पुरै टिनका छानाले हरिया, राता र निला देखिन्छन् । त्यही कोल गाउँमा जन्मेर, गाउँमै घरबार गरेकी नरपुरा पुन (बुढा) भर्खरै सम्पन्न उपचुनावबाट पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष बनेकी छन् ।
लुम्बिनी प्रदेशको एकमात्रै हिमाली जिल्ला र ७७ मध्ये कान्छो जिल्ला हो, रुकुम पूर्व । माओवादीको उद्गम थलो मानिने रुकुम पूर्वको पानीढलो लुम्बिनी प्रदेशसँग मिल्दैन । बरु कर्णाली र गण्डकी प्रदेशको बाग्लुङ पश्चिमसँग घर–व्यवहार, व्यापार र साइनो जोडिएको छ । संघीय सरकारमा बलिया ठूला दल नेपाली कांग्रेस र एमालेको सत्ता चलिरहेका बेला पुथा उत्तरगंगा गाउँपालिकाको चुनावमा सोहीबमोजिम गठबन्धन बन्यो । गठबन्धन पनि यस्तो ढंगले भयो कि एमाले उम्मेदवार केशकुमारीले कांग्रेसको चिह्न लिएर प्रतिस्पर्धा गरिन् ।
तर, नरपुराले ३६ सय २७ मत ल्याएर केशकुमारीलाई भारी मतले पराजित गरिन् । कांग्रेस–एमाले गठबन्धनबाट केशकुमारीले २१ सय २८ मत मात्रै पाइन् । रुकुम पूर्व जति दुर्गम भए पनि यो चुनावी परिणामले राष्ट्रिय राजनीतिमा माओवादीको साख जोगाउने काम गर्यो । त्यसो त सोही पालिकाको वडा नं. २ मा माओवादी उम्मेदवार जगत घर्ती मगर निर्विरोध निर्वाचित भएर माओवादीले पहिलो खाता खोलिसकेका थिए ।
नरपुरा एकाएक राष्ट्रिय चर्चाको पात्र बन्नुमा माइती र घर दुवैतिरको पारिवारिक पृष्ठभूमिको भूमिका छ । नरपुरा माओवादी सशस्त्र संघर्षमा गएर बम–गोला चलाएकी चाहिँ हैनन् । तर, उनका बुवा कृष्णबहादुर बुढा कोलमा तत्कालीन जनमोर्चालाई प्रवेश गराउने एक संस्थापक नेता हुन् । बहुदल आएपछि कृष्ण जिल्ला समितिको सदस्य बने । उता नरपुराका जेठा ससुरा धनबहादुर पुन निर्दल भित्र्याएर गाउँमा प्रधानपञ्च चलाएका व्यक्ति हुन् । त्यही पारिवारिक पृष्ठभूमि वरपर हुर्केकी ४२ वर्षीया नरपुराको जीतले राष्ट्रिय राजनीतिमा चर्चा बटुलेको छ ।
मंगलबार राति अबेरसम्म विजयी जुलुसमै व्यस्त भएको नरपुराले बताइन् । राष्ट्रिय राजनीतिमा समेत आफ्नो जीतले चर्चा पाएको उनलाई मेसो छैन । नरपुराले फोन सम्पर्कमा लोकान्तरसँग भनिन्– ‘जनतासँग विजय जुलुसमै छु । जनताको अपार मायाले विजयी भएँ । यो विजयी उत्साह र जनताको आशालाई मर्न नदिन सधैँ जनताको साथमा रहनेछु ।’
२०७९ को स्थानीय चुनावबाट पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष बनेकी बहिनी भूपेन्द्रा बुढाको गत भदौ २८ गते बाग्लुङ गलकोटमा दुर्घटनामा परी निधन भएको थियो ।
भूपेन्द्राकी जेठी आमापट्टिकी जेठी दिदी नरपुरा उपचुनावमा बहिनीले अगाडि बढाएको पदचापलाई पछ्याउँदै उपाध्यक्षको जिम्मेवारीमा पुगेकी छन् । बुवा कृष्णका दुई पत्नीमध्ये भूपेन्द्रा कान्छीपट्टिकी हुन् । भूपेन्द्राकी आमाले पनि उनीसँगै दुर्घटनामा परेर ज्यान गुमाइन् । रुकुम पश्चिम घेत्माका कमल थापा क्षेत्रीसँग विवाह गरेकी भूपेन्द्रा २०७९ को स्थानीय चुनावमा उम्मेदवार बनेपछि उनका विरुद्धमा निवेदन त परेन, तर पश्चिम रुकुमको भनेर विरोध भएको थियो । भूपेन्द्र र कमलका ११ वर्षीय छोरा छन् ।
नरपुराका बुवा कृष्णले एकाघरका दुई दिदीबहिनी विवाह गरेका हुन् । जेठीपट्टिबाट नरपुरासँगै तीन बहिनी र दुई भाइ छन् । त्यसमध्ये कान्छो भाइको निधन भइसकेको छ । कान्छीपट्टिकी भूपेन्द्राको निधनपछि उनका दुई भाइ बाँकी छन् । स्थानीय हाई स्कूलबाट एसएलसी उत्तीर्ण गरेपछि रुक्मणी मावि रुकुमकोटबाट प्ल सटु सकेकी नरपुरा एक स्थानीय सहकारीको अध्यक्षको जिम्मेवारीमा थिइन् ।
गाउँकै जुद्ध पुनसँग विवाहबन्धनमा बाँधिएकी नरपुराका चार सन्तान छन् । जुद्ध यतिखेर देशबाहिर छन् । यसअघि स्वास्थ्य स्वयंसेविका र समाजसेवी भूमिकामा समर्पित नरपुराको जिम्मेवारी फेरिएको छ । ‘बहिनी भूपेन्द्राको सपना’ पूरा गर्ने एउटा भावनात्मक पक्ष हो, जनताको काम व्यावहारिक ढंगले गर्ने अर्को कुरा ।
नरपुराले जसरी राष्ट्रिय राजनीतिमा सन्देश दिएकी छिन्, बाँकी आधा कार्यकालमा त्यसैगरी काम देखाउने चुनौती पनि उनीसामु छ । ‘जनताले दिएको जिम्मेवारी पूरा गर्ने त छँदैछ । त्यसबाहेक बहिनी भूपेन्द्राले देखेको सपनालाई पनि मैले पूरा गर्नुछ’, उनले भनिन् ।
राजनीतिक र सांगठनिकरूपमा कांग्रेस–एमालेको पहुँच र उपस्थिति पातलो नै हो रुकुम पूर्वमा । अहिले राष्ट्रिय राजनीतिमा स्थानीय निकायको उपनिर्वाचनबाट जसरी माओवादी ‘सुधारिएको’ भन्ने भाष्य निर्माण गरिएको छ, रुकुम पूर्वलाई हेरेर त्यसो भन्नुको अर्थ छैन । रुकुम पूर्वमा हिजो कांग्रेस–एमालेको बलियो जनाधार रहेको र अहिले कमजोर भएको भन्ने खालको व्याख्या सरासर गलत हुन जान्छ । बरु कांग्रेस–एमालेको पहुँच नपुग्ने मैकोटमा कांग्रेस–एमाले गठबन्धनलाई ४६ प्रतिशत मत आउनु भने माओवादीका लागि समीक्षाको विषय हुन सक्छ ।
यसअघि रुकुम पूर्व प्रदेश (क)मा माओवादीबाट विद्रोही बनेका सुरुल पुन प्रदेश सांसद बने । सुरुल पछि माओवादीमै फर्किए । तर, यतिखेर पार्टी र जनतासँग उनको कुनै भूमिका नजोडिएको भनेर आलोचना भइराखेको रुकुम पूर्वका एक माओवादी नेताले सुनाए ।
‘पार्टीभित्र युद्धकालदेखिका थुप्रै नेता/कार्यकर्ताको व्यवस्थापन भएको छैन, रुकुम पूर्वमा । त्यसैको परिणाम थियो सुरुल पुनको जीत । उनी माओवादीमै फर्किए । न पार्टीमा, न जनतामा, उनको भूमिका अहिले कहीँ देखिएको छैन । २०८४ सम्म आउँदा पूर्वी रुकुमको राजनीतिक परिदृश्य फरक हुन्छ’, उनले भने ।
एमाले उम्मेदवार भट्टचनले कांग्रेसको रूख चिह्नबाट चुनावी मैदानमा जाने भनेपछि पुथा उत्तरगंगाका एमाले कार्यकर्तामा उत्साह थिएन ।
‘जसले जे भने पनि रुकुम पूर्वमा एमालेका इमान्दार कार्यकर्ताहरू कांग्रेसको रुख, माओवादीको हँसियाहथौडा भनेपछि भोट हाल्न मान्दैनन् । कांग्रेस र माओवादीबाटै एमाले कार्यकर्ता सधैँ पीडित छन् । त्यसैको परिणाम हो यसपालि कांग्रेस–एमाले गठबन्धनलाई भोट कम आउनु’, रुकुम पूर्वका एक एमाले नेताले भने ।
भूपेन्द्राको दुःखद् निधनबाट शोकमा परेको परिवारलाई यतिखेर पुथा उत्तरगंगाका जनताले शोकलाई शक्तिमा परिणत गर्ने बल दिएका छन् ।
कम्मरैमा पटुकी कसेर,
मुसुमुसु हाँसेकी बसेर,
रुकुम मैकोट, रुकुम मैकोट,
आँखा नि राम्रै हो, मन पर्यो नि ओठ !
चलचित्र ‘खुस्मा’को माथि उल्लेखित गीत ग्लोबल ट्रेन्डिङमा पर्यो, यसै वर्ष । भूगोलको हिसाबले टाढा रहेको रुकुम पूर्व मैकोट पुथा उत्तरगंगाको पनि अन्तिम गाउँ हो । पुथा उत्तरगंगाको मुकाम तकसेरामा छायांकन गरिएको अर्को चलचित्र ‘घरज्वाइँ’सँगै उपचुनावको राजनीतिले रुकुम पूर्वलाई एकै सालभित्र मूलधारमा प्रवेश गराएको छ ।
मगरहरूको घनाबस्ती र सभ्यताले भरिभराउ पुथा उत्तरगंगाको कष्टकर जनजीवनलाई जसरी नेपाली चलचित्र, गीत र राजनीतिले मूलधारमा ल्याएको छ, त्यसैगरी विकास र समृद्धिले छलाङ मारोस् । समृद्धिको छलाङले मात्रै दिदी नरपुराको जीतले सार्थकता पाउने छ, अनि बहिनी भूपेन्द्राको आत्मालाई शान्ति मिल्नेछ ।