०१ असार २०८३, सोमबार
लोकान्तर खोज

गुठी संस्थानमा व्यापक आर्थिक अनियमितता : आम्दानीको छैन हिसाबकिताब, मनलाग्दी खर्च

सञ्चालक समितिका पदाधिकारीदेखि महन्थ र पुजारीसम्मले लिएको पेस्की वर्षौंदेखि बेरुजू
पुस १८, २०८१
काठमाडौं
गुठी संस्थानमा व्यापक आर्थिक अनियमितता : आम्दानीको छैन हिसाबकिताब, मनलाग्दी खर्च

​गुठी संस्थानमा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । वर्षौंदेखि लेखा परीक्षण नै नगराएको संस्थानले पछिल्लो समय आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण गराउँदा विभिन्न अनियमितता भएको पाइएको हो । संस्थानमा वर्षौंदेखि पेस्की रकम लिएर पनि फर्छ्यौट नगरेको, आय आम्दानीको हिसाब–किताब नराख्ने गरेको पाइएको छ ।

मालपोत र कुतबाली तथा घर, पसल, बहाल, बगैँचा आदिको ठेक्काबापत आउने आम्दानीमा व्यापक हिनामिना हुने गरेको पाइएको छ ।

त्यसैगरी, आवश्यकता तथा औचित्य नै पुष्टि नहुने गरी सञ्चालक समितिका अध्यक्षदेखि सदस्यहरूको विभिन्न मितिमा विभिन्न स्थानमा हुने गरेको अनुगमन भ्रमणमा समेत संस्थानले मनपरी खर्च गर्ने गरेको पाइएको छ ।

महन्थदेखि पदाधिकारीसम्मले लिएको पेस्की फर्छ्यौट भएन

जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले वर्षौंअघि लिएको २ लाख रुपैयाँ पेस्की अहिलेसम्म फर्छ्यौट गरेका छैनन् । लाखौं आम्दानी हुने जानकी मन्दिरका महन्थ वैष्णवले गुठी संस्थानसँग लिएको पेस्की रकम फर्छ्यौट नगरेपछि बेरुजूको रूपमा राखिएको छ ।

त्यसैगरी, अर्को एक मठका महन्थ डिल्लीराज पुरीले २ लाख २३ हजार ३०५ रुपैयाँ, महन्थ रामचन्द्र भारतीले १ लाख ३५ हजार २७८ रुपैयाँ,  महन्थ महादेव नाथ योगीले ५४ हजार ८ सय रुपैयाँ वर्षौंअघि पेस्की लिएपनि फर्छ्यौट गरेका छैनन् ।

त्यसैगरी, गुठी संस्थानकै कर्मचारीहरूले पनि पेस्की रकम लिएर फर्छ्यौट नगरेको पाइएको छ । गुठी संस्थानका नायब सुब्बा चन्द्रलाल श्रेष्ठले १ लाख २० हजार ९५२ रुपैयाँ, सहायक प्रशासक मनोजकुमार शर्माले ६० हजार ९ सय रुपैयाँ पेस्की लिएर फर्छ्यौट गरेका छैनन् ।

त्यसैगरी, माधवराज जोशीले लिएको १ लाख ९५ हजार रुपैयाँ, पुरातत्व विभागले लिएको २ लाख रुपैयाँ, मूलधामी लक्ष्मी नारायणले लिएको ६५ हजार ९१२ रुपैयाँ, टंकेश्वर धर्मकिर्तन विकासले लिएको ५१ हजार ७०९ रुपैयाँ, हिमज्योति निर्माण सेवाले लिएको ११ हजार ६ सय रुपैयाँ फर्छ्यौट भएको छैन ।

रवीन्द्रकुमार रायले लिएको ६४ हजार रुपैयाँ, बल्लभकृष्ण तुलाधरले लिएको २ लाख रुपैयाँ, राजकुमार कुँवरले लिएको ३ लाख ६१ हजार ४८१ रुपैयाँ, वमविकटेश्वर गुठीले लिएको १ लाख रुपैयाँ, कीर्तिपुर नगरपालिका वडा नम्बर १४ ले लिएको २ लाख ३५ हजार ५८३ रुपैयाँ फर्छ्यौट भएको छैन ।

त्यसैगरी, समाज्यश्वर पशुपतिनाथ महादेव मन्दिर धर्मशाला सञ्चालक समितिले लिएको १ लाख ७८ हजार ३६० रुपैयाँ, प्रहरी कल्याण कोषले लिएको १ लाख ५० हजार रुपैयाँ, धनुषा जिल्ला गुठी सहयोग समितिले पेस्की लिएको ८ लाख रुपैयाँ फर्छ्यौट गरेको छैन ।

त्यसैगरी, गुठी संस्थानका अर्का कर्मचारी बैकुण्ठ आचार्यले लिएको पेस्की रकम १२ लाख ५० हजार रुपैयाँ पनि आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा बेरुजू देखाइएको छ ।

तर, आचार्यले हालसालै आएर उक्त पेस्की फर्छ्यौट गरिसकेको गुठी संस्थान प्रधान कार्यालयका सहायक प्रशासक हरिप्रसाद सुवेदीले बताए ।

माथि उल्लेख गरिएको पेस्की बेरुजू ५० हजार रुपैयाँभन्दा माथिको मात्र हो । ५० हजार रुपैयाँभन्दा कमका पेस्की बेरुजू रकमको बारेमा लेखा परीक्षण प्रतिवेदनमा पनि समावेश गरिएको छैन ।

त्यसबाहेक पनि गुठी संस्थानका कर्मचारी, पदाधिकारीदेखि अन्य विभिन्न व्यक्ति तथा फर्मले लिएको पेस्की फर्छ्यौट नभएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । गुठी संस्थानकी कर्मचारी निर्मला शाक्यलाई सञ्चालक समिति बैठकका लागि फर्छ्यौटको म्याद नै नतोकी आर्थिक वर्ष २०७७/०७८ मा पटक–पटक पेस्की रकम दिएको पाइएको छ ।

२०७७ असोज २ गते १ लाख, असोज ३० गते ४० हजार, कात्तिक २ गते ३५ हजार, कात्तिक १९ गते ४० हजार, कात्तिक २० गते ४५ हजार, कात्तिक २३ गते ४५ हजार रुपैयाँ पेस्की दिएको पाइएको छ ।

एउटा पेस्की दिएको रकम फर्छ्यौट गरेर अर्को पेस्की रकम दिइनुपर्नेमा संस्थानले फर्छ्यौट नहुँदै एकपछि अर्को पेस्की रकम दिएको पाइएको हो ।

त्यसैगरी, गुठी संस्थानकै अर्का एक कर्मचारी रामकाजी सुर्खेतीले २०७८ असार ३१ गते २ लाख ४० हजार रुपैयाँ पेस्की लिएका थिए ।

संस्थानको ३ वटा गाडी र ५ वटा मोटरसाइकलको बिमा कर र अन्य शुल्क गरी २ लाख १६ हजार ४२० रुपैयाँ खर्च भएकोमा २ लाख ४० हजार रुपैयाँ खर्च भएको देखाई पेस्की फर्छ्यौट गरेको पाइयो, जसले गर्दा २३ हजार ५८० रुपैयाँ बढी खर्च लेखेको पाइनुका साथै संस्थानले समयमै ब्लुबुक नवीकरण नगरेकाले थप २५ हजार ५७० रुपैयाँ जरिवाना समेत व्यहोर्नुपरेको संस्थानको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

घर, पसल बहाल ठेक्कामा अनियमितता

गुठी संस्थानले घर तथा पसल बहाल, तैनाथी जग्गा, पोखरी, बगैँचा आदिको ठेक्काबापत के कति रकम विभिन्न बहालवालाहरूसँग लिनुपर्ने हो, उक्त रकममध्ये के कति रकम प्राप्त भयो, कति रकम प्राप्त हुन बाँकी रहेको छ भन्ने विषयमा दुरुस्त हिसाब समेत राख्ने गरिएको छैन ।

संस्थान र फ्युचर डेभलपर्स प्रालिबीच भएको बहाल रकम सम्झौताको करारको सर्तनामा अनुसार प्रालिले बहाल रकम १९ लाख ३७ हजार ७९० रुपैयाँ प्रत्येक वर्षका लागि वर्षको शुरूमै असार मसान्तभित्र नै आगामी आर्थिक वर्षका लागि तिर्नुपर्नेमा नतिरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

संस्थानले सम्पूर्ण रकम असुल गर्नुपर्ने वा सो नभए सम्झौता रद्द गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख छ ।

'साथै, उक्त प्रालिबाट करारनामा अनुसार संस्थानले डेढ वर्ष बराबरले हुन आउने बहाल रकम २९ लाख १० हजार धरौटी अथवा बैंक जमानत लिनुपर्नेमा सो पनि लिएको पाइएन,' लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, संस्थानले धरौटी कारोबारको खाता श्रेस्ता तथा बैंक नगदी किताब समेत नराखी अनियमितता गर्दै आएको छ ।

'धरौटी खाताको मौज्दात रकमको व्यक्तिगत विवरण अद्यावधिक नरहेको तथा कतिपय दृष्टान्तहरूमा व्यक्तिगत विवरण समेत राख्ने गरेको पाइएन । धरौटी खाताको स्रेस्ता तथा बैंक नगदी किताब समेत राखिएको देखिएन,' लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

त्यसबाहेक समयमै बैंक विवरण लिई हिसाब मिलान गर्ने गरिएको छैन । हिसाब मिलान नभएको रकमलाई समेत स्रोत नखुलेको आय वा अस्पष्ट आम्दानी भनी आयमा देखाउने गरिएको छ ।

'संस्थानले समयमै बैंक हिसाब मिलान विवरण तयार नगर्ने तथा आवश्यक हिसाब समायोजन नगर्ने भएकाले स्रोत नखुलेका निक्षेप दाखिला रकमलाई आर्थिक विवरणमा अस्पष्ट आम्दानी भनी खुलाएको पाइयो,' लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/०७८ मा धरौटी रकमको ब्याज ४ लाख ३३ हजार ४३६ रुपैयाँमध्ये बैंक दाखिला रकम ४६ हजार ९७० रुपैयाँ अस्पष्ट आम्दानीको रूपमा लेखांकन गरिएको छ ।'साथै, अस्पष्ट आम्दानी शीर्षकमा १४ लाख १८ हजार ६८३ रुपैयाँ रहेको पाइयो र ५६ लाख १ हजार ६९९ रुपैयाँ अस्पष्ट आय यस वर्ष फिर्ता गरिएको छ,' प्रतिवेदनमा उल्लेख छ ।

null

सञ्चालक समितिका पदाधिकारीको अनुगमन भ्रमणमा मनपर्दी खर्च  

गुठी संस्थानका सञ्चालक समितिका अध्यक्षसहित सदस्यहरूले विभिन्न मितिमा विभिन्न स्थानको अनुगमन तथा अवलोकन भ्रमण गर्ने गरेका छन् ।

'उक्त भ्रमणका लागि संस्थानले भ्रमण खर्च, इन्धन खर्च तथा दैनिक भ्रमण भत्ताकारूपमा उल्लेख्य खर्च गरेको पाइयो । यसरी गरिएका भ्रमणहरूबाट प्राप्त जानकारी, निर्देशनलगायत समेटी प्रतिवेदन तयार गर्ने तथा त्यसको अभिलेख राख्ने गरेको पाइएन,' प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, संस्थानमा कार्यरत कर्मचारीहरूले म्यानुअल हाजिरी गर्ने हुँदा धेरैजसो कर्मचारीहरू कार्यालय समयभन्दा ढिला आउने तथा कार्यालय समयअगावै जाने गरेको समेत प्रतिवेदनमा उल्लेख छ ।

त्यसबाहेक संस्थानका विभिन्न कर्मचारीहरूले गर्ने कार्य तथा जिम्मेवारीको बाँडफाँडसम्बन्धी कुनै लिखित दस्तावेज समेत तयार गरिएको छैन ।

'यसरी व्यक्तिगत जिम्मेवारीको लिखित आधार नभएकोले कुन कार्य कसबाट हुनुपर्ने हो भन्ने सम्बन्धमा नै विवाद रहेको तथा कतिपय अवस्थामा कर्मचारीहरू जिम्मेवारीबाट नै पन्छिने अवस्था रहेको पाइयो,' लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, संस्थानले अमानतबाट पर्व पूजा खर्च गर्दा त्यसमा पनि अनियमितता हुने गरेको पाइएको छ ।

अमानतबाट गरिने पर्वपूजाका लागि तोकिएको दरबन्दीअनुसार गुठियार/पुजारीलाई चाहिने सामानहरूको पुर्जी उपलब्ध हुने व्यवस्था छ । सो पुर्जी ठेकेदारलाई दिएपछि ठेकेदारले पुर्जीअनुसार सामग्री उपलब्ध गराउँछ र आवधिकरूपमा पुर्जीहरू जम्मा गरी संस्थानसँग सोधभर्ना लिने गर्छ ।

संस्थानको आर्थिक प्रशासन विनियमावलीअनुसार खर्च गर्दा खर्चको बिल भरपाईसहित लेखा राख्नुपर्ने व्यवस्था छ । तर, विनियमविपरीत ठेकेदारले संस्थानका पुर्जीहरू मात्र उपलब्ध गराउने र आफ्नो कुनै पनि बिल/बिजक उपलब्ध नगराउने तथा संस्थानले त्यही पुर्जीहरूको आधारमा खर्च लेखांकन गर्ने गरेको छ ।

'त्यसबाहेक अमानतबाट हुने पर्वपूजाहरूमा पुर्जीअनुरूप सामग्री प्रयोग भए नभएकोबारे कुनै अनुगमन र लिखित प्रमाण समेत राख्ने गरेको पाइएन ।  अनुगमन नै नहुने हुँदा प्रयोग नभएका सामानको समेत संस्थानले आर्थिक भार व्यहोर्नुपर्ने गरी अनियमितता हुने गरेको छ,' लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

मालपोत कुतबालीको आयमा अनियमितता

गुठी संस्थानका शाखा कार्यालय नभएको ठाउँमा मालपोत कार्यालयहरूको माध्यमबाट मालपोत असुली गर्ने गरिएकोमा निश्चित रकम खर्चको रूपमा पठाउने गरिएको छ । 'आर्थिक वर्ष २०७७/०७८ मा ९५ लाख ९७ हजार ७५७ रुपैयाँ निकासा गरिएकोमा सोही रकमलाई खर्चको रूपमा लेखांकन गरेको पाइयो । उक्त खर्च रकम बराबरका कुनै पनि कागजातहरू संस्थानले संकलन गरेको पाइएन,' प्रतिवेदनमा उल्लेख छ ।

संस्थानले नियमितरूपमा आय आर्जन गर्ने घरजग्गा, तैनाथी जग्गा, पोखरी तथा बगैँचाहरूको एकीकृत लगत समेत बनाएको छैन ।

उक्त लगत अभावमा व्यवस्थापनले प्रभावकारीरूपमा ती सम्पत्तिको रेखदेख तथा सम्पत्तिबाट प्राप्त गर्न सकिने अधिकतम आय प्राप्त भए/नभएको समेत अनुगमन गर्ने गरेको छैन । 'त्यस्ता सम्पत्तिहरूको पर्याप्त प्रतिफल संस्थानलाई उपलब्ध नगराई दुरुपयोग हुन सक्ने सम्भावनालाई नकार्न सकिएन,' प्रतिवेदनमा उल्लेख छ ।

त्यसबाहेक मालपोत र कुतबाली रकमबापत झन्डै २ अर्ब रुपैयाँ जति वर्षौंदेखि असुल गर्नुपर्नेमा गुठी संस्थानले गर्न सकेको छैन ।

'गुठी संस्थान प्रधान कार्यालयले विभिन्न मालपोत कार्यालयबाट गुठी जग्गाहरूमा लाग्ने मालपोत र कुतबाली असुली रकम प्राप्त गर्ने गरेको भएपनि सो रकमको प्रमाणीकरणका लागि सम्बन्धित मालपोत कार्यालयबाट नगदी रसिद, मास्केवारी, टिप्पणी र बैंक दाखिला भौचर समेत लिने गरेको पाइएन,' प्रतिवेदनमा उल्लेख छ । 

हेर्नुहोस्, प्रतिवेदन :

null

null

null

null

null

null

null

null

null

null

null

nullnullnull

salt training

कमेन्ट गर्नुहोस्