०१ असार २०८३, सोमबार
बिँड तात्यो, ताप्के तातेन

कांग्रेस महाधिवेशन– आकांक्षीको लर्को अघिअघि, पार्टी पछिपछि !

माघ २, २०८१
काठमाडौं
कांग्रेस महाधिवेशन– आकांक्षीको लर्को अघिअघि, पार्टी पछिपछि !

१५ औं महाधिवेशनको चालचुल नहुँदै नेपाली कांग्रेसका नेताहरू व्यक्तिगत तयारीमा निस्किन थालेका छन् ।

महाधिवेशन २०८४ को चुनावअघि कि पछि भन्नेमा अन्योल अझै हटेको छैन । अर्थात्, पार्टी संस्थापनले महाधिवेशनको प्रारम्भिक तयारीको सदस्यता वितरण र नवीकरणको काम अगाडि बढाउने घोषणा मात्रै गरेको छ । 

तर, पार्टीलाई औपचारिकरूपमा महाधिवेशन नलाग्दा सभापति, उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यका दाबेदारले व्यक्तिगत तयारीलाई अघि बढाउन थालेका हुन् । आगामी महाधिवेशनदेखि परम्परागत गुटबन्दी पनि भत्किने स्थिति देखेपछि नेताहरूले आ–आफ्नो तयारी गर्दै दाबेदारीलाई बलियो बनाउन खोजेका छन् । 

केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी २०८२ मंसिरमा नभए पनि थप एक वर्षमा महाधिवेशन गर्नैपर्ने बताउँछन् । 

‘नियमित हिसाबमा ४ वर्षमा अर्थात् २०८२ मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने हो । यसका लागि चैतभित्रै सदस्यताको विषय सकाएर अगाडि बढ्नुपर्ने हुन्छ । तर, पार्टीको सबै तयारी ४ वर्षमा महाधिवेशन गर्नेतिर केन्द्रित छैन,’ सिवाकोटीले भने, ‘२०८४ मा चुनाव हुने भएपछि त्यसअघि नै महाधिवेशन नगरी नहुने स्थिति छ । त्यसैले २०८३ को भदौदेखि मंसिरसम्ममा १५ औं महाधिवेशन गर्नैपर्छ । यसैले नेताहरूले आफ्नो तयारी अगाडि बढाउन दौडधूप शुरू गरेका हुन् ।’ 

टीम बनाउन र टीममा पर्नका लागि नेताहरूले महाधिवेशनपूर्व नै दौडधूप बढाएको उनले बताए ।

‘पार्टीको औपचारिक तयारी सदस्यता चैतभित्रै सकाउने गरी अगाडि बढेको छ । तर, सभापतिका दाबेदारदेखि अन्य पदाधिकारी र केन्द्रीय नेतामा दाबी गर्नेहरू सक्रिय भएका छन्,’ सिवाकोटीले भने, ‘आफ्नो स्थिति बुझ्नका लागि टीम बनाउन, टीममा पर्नका लागि दबाब बढाउन अन्य नेताले दौडधूप अगाडि बढाएको देखिन्छ ।’ 

केन्द्रीय सदस्य रामहरि खतिवडा सभापतिमा देउवाको दाबी नहुने भएपछि उनको विश्वास आर्जन गर्न नेताहरू लागेको बताउँछन् । ‘शेरबहादुर दाइ बोलिरहनुभएको छैन । उहाँको प्रधानमन्त्री हुने कुरा छ,’ खतिवडा भन्छन्, ‘उहाँलाई प्रधानमन्त्री बनाएर त्यो फाइदा आफूले लिने दाउमा पूर्णदाइ (पूर्णबहादुर खड्का), शेखर दाइ (शेखर कोइराला)देखि गगन थापासम्म छन् । देउवा नउठ्दाको राजनीतिक फाइदा लिने दाउमा उहाँहरू देखिनुभएको छ ।’

null

कसको कस्तो तयारी ? 

लगातार दुईपटक सभापति भएका शेरबहादुर देउवाको अब विधानतः दाबेदारी रहँदैन । यसैले सभापतिका लागि घोषणा गरेरै डा. शेखर कोइरालाले तयारी अगाडि बढाएका छन् । उनले पूर्वदेखि सुदूरपश्चिममा तयारीको कार्यक्रम अगाडि बढाइसकेका छन् । कोशीमा मंसिरमा पालिका सभापतिको भेलापछि शेखरले सुदूरपश्चिममा सेनानी संघको अधिवेशनमार्फत आफ्नो तयारी अगाडि बढाएका थिए । अब अन्य प्रदेश र पालिका तहमा उनले कार्यक्रम अगाडि बढाउने उनीनिकट स्रोत बताउँछ । 

उनीमात्रै होइन, सभापतिका लागि अरू दुई आकांक्षीमा महामन्त्री गगन थापा र पूर्व महामन्त्री डा. शशांक कोइराला छन् । शशांकले गत आइतबार दाङ पुगेर तीन जना नेता मुख्य गरी सभापतिका लागि दाबेदार रहेको खुलाए । 

‘१५ औं महाधिवेशनमा पार्टी सभापतिका लागि कुरा चलिरहेको छ,’ शशांकले आइतबार दाङ पुगेर भने, ‘सभापतिमा म पनि लड्छु कि भन्ने प्रश्नहरू छन् । शेखर दाइ हुनुहुन्छ । गगन थापालगायत अरू पनि छन् ।’ 

null

छोटो बोल्ने स्वभावका शशांकले पार्टीलाई गुटबन्दीबाट माथि उठाउँदै चलाउने सूत्र आफूसँग मात्र भएको पनि बताउन भुलेनन् । 

सभापति देउवापछि उनको उत्तराधिकारी को हो भनेर खोजी भइरहेका बेला शशांकले देउवाको आशीर्वाद पाउने आशा राखेका छन् । यसैले देउवाको अनुकूल हुने गरी २०८४ को चुनावपछि मात्रै १५ औं महाधिवेशन गर्न सकिने बताउँदै आएका छन् । शशांकले काठमाडौं बाहिरका कार्यक्रमलाई प्राथमिकता राखेका छन् । 

सभापतिका अर्का दाबेदार हुन्, महामन्त्री गगन थापा । पार्टी महामन्त्रीको भूमिकामा चैतभित्रै सदस्यता वितरणको काम सकाएर महाधिवेशनलक्षित अभियानमा जुट्ने तयारीमा थापा रहेको उनीनिकट केन्द्रीय सदस्य शिवाकोटी बताउँछन् । 

‘महामन्त्रीको जिम्मेवारी धेरै ठूलो छ । यसैले चैतभित्रै सदस्यताको विषय टुंग्याएर पार्टीलाई महाधिवेशनमा होम्ने तयारीमा उहाँ हुनुहुन्छ । सदस्यता सकेपछि विधान संशोधन र महासमिति हुँदै महासमितिको कार्यतालिकाका लागि उहाँले जोड गरिरहनुभएको छ । समय आएपछि उहाँले सभापतिमा उम्मेदवारी घोषणा गर्नुहुन्छ ।’ 

थापाले यसअघि पूर्वदेखि पश्चिम तराईसम्मै अभियान गरिसकेका छन् । पार्टी संगठनको कामबाट समय निकालेर यहीबीच देशका विभिन्न स्थानमा कार्यक्रम राख्दै हिँड्ने तयारीमा थापा रहेको उनीनिकट स्रोत बताउँछ ।

‘सभापतिमा अरूले जस्तो उम्मेदवारी घोषणा नगरे पनि उहाँ नउठी नछाड्ने मनस्थितिमा हुनुहुन्छ,’ थापानिकट स्रोत भन्छ, ‘अब उपत्यकाबाहिर थप कार्यक्रम लिएर नियमित निस्किनुहुन्छ ।’ 

उपसभापति पूर्णबहादुर खड्का देउवापछि यो टीमबाट स्वतः सभापतिको दाबेदार बन्ने पक्षमा छन् । तर, देउवाले मुख खोलेका छैनन् । अरूले जस्तो देखिने गरी तयारी नगरे पनि खड्काले आफ्नो स्थिति बुझिरहेका छन् । 

कर्णाली प्रदेशका नेताहरूसँग बाक्लो भेटघाटमा खड्का सक्रिय भइरहेको उनीनिकट स्रोत बताउँछ । उनले खुलेरै संस्थापन गुटको घेरा क्रस गरेका छैनन् । तर, देशभर आफ्नो स्थिति कस्तो छ भनेर बुझिरहेका छन् । 

‘अरू नेता डुलेरै हिँडेका छन् । उपसभापतिज्यू थोरै मात्रै काठमाडौंबाहिर पुग्नुभएको छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँलाई भेट्न निवासमै नेता/कार्यकर्ताको लाइन लाग्ने क्रम बढ्दो छ ।’

गुटभित्र आफ्नो पोजिसन हेर्दै नेताहरू

परम्परागत गुट नरहने भएपछि नेताहरू आ–आप्mनो स्थिति बुझ्न जिल्ला दौडाहामा निस्कन थालेका छन् । 

लामो समय देउवानिकट रहेका एनपी साउद पनि आफ्नो स्थिति बुझ्न जिल्ला दौडाहामा निस्किएका छन् । उनी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्ला घुमिसकेका छन् ।

डा. डिला संग्रौलासहितका केही केन्द्रीय सदस्यलाई लिएर आफ्नो स्थिति बुझ्न साउद जिल्ला निस्किएका हुन् ।

पछिल्लो समय देउवाको टीममा असन्तुष्ट देखिएका साउदको यसपटकको जिल्ला दौडाहालाई अर्थपूर्ण रूपमा हेरिएको संस्थापननिकटका एक नेता बताउँछन् । 

‘उहाँ लामो समय देउवाको टीममा रहेर काम गर्दै आउनुभएका नेता हुनुहुन्छ । तर, पछिल्लोपटक असन्तुष्ट देखिनुभएको छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘देउवा टीमका नेताले विरोधमा बोल्दैनथे, तर यसपटक पश्चिम नेपाल पुगेर साउदले अध्यादेश र संविधान संशोधनमा विषयमा विरोध गरेर आफूलाई फरक देखाउन खोज्नुभएको छ ।’ 

null

केन्द्रीय सदस्य रामहरि खतिवडा पार्टीलाई बलियो बनाउनभन्दा व्यक्तिगत हिसाबमा बलियो बन्नेगरी नेताहरूले दौडधूप गरेको बताउँछन् । ‘महाधिवेशन कहिले भन्ने टुंगो छैन । सरकारलाई प्रभावकारी बनाएर जनतालाई कसरी डेलिभरी दिने भन्नेमा कसैको चिन्तन छैन । महाधिवेशन अगाडि टुंग्याउनुपर्ने सदस्यताको स्थिति जिल्ला, क्षेत्र र पालिकामा कस्तो छ भनेर कुनै नेतालाई चिन्ता छैन,’ खतिवडाले लोकान्तरसँग भने, ‘पार्टीगत तयारी भएन । व्यक्तिगत तयारीमा नेताहरू धेरै लागे । व्यक्तिगत तयारीको दौडधूपले मात्रै महाधिवेशनलाई दबाब पुग्दैन ।’ 

अहिलेको कांग्रेसभित्रको शक्ति सन्तुलनमा देउवाले चाहेको भन्दा अर्को व्यक्ति सभापति हुनै  नसक्ने खतिवडा बताउँछन् ।

‘राष्ट्रिय राजनीतिमै पनि केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डमध्ये सबैभन्दा भरोसायोग्य र विश्वासिलो नेतामा देउवा नै हुनुहुन्छ,’ खतिवडाले भने, ‘आजका दिनमा कांग्रेसभित्रको शक्ति सन्तुलनमा देउवाजीले चाहेकोभन्दा अर्को व्यक्ति सभापति बन्ने सम्भावना छैन । यसैले उहाँको टीमको कुनै नेताले गुट फेर्छु भनेर गरेको प्रयासको यसपटक कुनै अर्थ छैन ।’

salt training

कमेन्ट गर्नुहोस्