
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू इन्धनको बढ्दो मूल्य, विमान डेलिभरीमा भइरहेको ढिलाइ र क्षेत्रीय हवाई सञ्जाल विस्तारको तीव्र दबाबसँग सङ्घर्ष गरिरहेका बेला ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेयरले एक बलियो विकल्पका रूपमा आफूलाई प्रस्तुत गरेको छ । लामो समयदेखि उड्डयन बजारमा कायम एयरबस र बोइङको बलियो एकाधिकार (डुओपोली)लाई चुनौती दिँदै एम्ब्रेयरले अब विशेष गरी भारत र खाडी मुलुकहरूमा आफ्नो ध्यान केन्द्रित गरेको हो ।
साना र इन्धन किफायती विमानहरूका माध्यमबाट दोस्रो र तेस्रो तहका सहरहरूलाई जोड्ने ठुलो व्यावसायिक सम्भावना देखेर कम्पनीले यी दुई क्षेत्रलाई आफ्नो रणनीतिक बजार बनाएको हो।
ब्राजिलको साओ पाउलोमा आयोजित इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनको वार्षिक साधारण सभापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एम्ब्रेयरका कार्यकारीहरूले भारतमा विमान उत्पादन र एसेम्बली लाइन (जडान केन्द्र) स्थापना गर्ने विषयमा छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको जानकारी दिए। एम्ब्रेयर कमर्सियल एभिएसनका प्रमुख कार्यकारी अधिकृत अर्जन मेइजरले भारतमा प्लान्ट स्थापनाका लागि साझेदारसँगको सहकार्य, विभिन्न वायुसेवा कम्पनीहरूबाट ठोस प्रतिबद्धता र भारत सरकारसँगको संयुक्त छलफल आवश्यक पर्ने बताए । उनले यो प्लान्ट भारतको कुन सहरमा बन्नेछ भन्नेबारे विस्तृत विवरण नखुलाए पनि यसबारे चाँडै नयाँ जानकारी आउने सङ्केत गरे।
हाल एम्ब्रेयरले भारतमा व्यावसायिक र रक्षा दुवै क्षेत्रलाई लक्षित गरी दुईवटा ठुला साझेदारीहरू अगाडि बढाइरहेको छ । व्यावसायिक क्षेत्रतर्फ एम्ब्रेयर र अडानी डिफेन्स एन्ड एरोस्पेसले भारतमा एम्ब्रेयरका लोकप्रिय ई–जेटहरूको अन्तिम एसेम्बली लाइन स्थापना गर्न एउटा समझदारी पत्रमा हस्ताक्षर गर्दै आफ्नो रूपरेखा विस्तार गरेका छन् ।
भारतको उड्डयन क्षेत्रको आगामी विकास ठुला महानगरहरूमा भन्दा साना र दुर्गम सहरहरूलाई आपसमा जोड्ने कडीमा बढी निर्भर रहने एम्ब्रेयरको बुझाइ छ । देशको भित्री भागसम्म विकास पुर्याउनका लागि ७५ सिट क्षमताका साना विमानहरू बढी प्रभावकारी हुने भएकाले भारतको क्षेत्रीय कनेक्टिभिटी योजनाहरूमा यी ई-जेटहरूको राम्रो सम्भावना रहेको मेइजरले बताए ।
रक्षा क्षेत्रतर्फ एम्ब्रेयरको डिफेन्स एन्ड सेक्युरिटी डिभिजनले महिन्द्रा ग्रुपसँग मिलेर 'सी-३९० मिलेनियम' सैन्य ढुवानी विमान भारतमै स्थानीय रूपमा उत्पादन गर्ने साझेदारी गरेको छ । एम्ब्रेयरले वायुसेवा कम्पनीहरूलाई साना सहरहरूमा ठुला विमानहरू पठाएर खर्च बढाउनुको साटो साना जेटहरूको कुशलतापूर्वक प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ ।
भारतबाहेक खाडी मुलुक पनि एम्ब्रेयरका लागि अर्को महत्त्वपूर्ण बजार बनेको छ। मध्यपूर्वको अत्यधिक गर्मी मौसममा इन्जिनको कार्यक्षमतालाई लिएर यसअघि कम्पनी केही सतर्क र पर्ख र हेरको अवस्थामा रहे पनि अहिले ती समस्याहरू सुधार भइसकेको एम्ब्रेयरले जनाएको छ ।
यसैबीच एम्ब्रेयरले संयुक्त अरब इमिरेट्सको 'जेनेरेसन ५ होल्डिङ' सँग सी-३९० मिलेनियम सैन्य विमानका लागि विशेष रणनीतिक साझेदारी सम्झौता गरेको छ। साझेदारीले युएई र समग्र मध्यपूर्व क्षेत्रमा उक्त सैन्य विमानको मर्मत सम्भार, मर्मत सुधार र बिक्रीपछिको प्राविधिक सहयोग क्षमता विकासमा काम गर्नेछ। दुवै कम्पनीले दीर्घकालीन रूपमा प्राविधिक र सञ्चालन कर्मचारीहरूका लागि उत्पादन, आपूर्ति शृङ्खला एकीकरण र प्रशिक्षण कार्यक्रमहरूमा सहकार्य गर्ने अवसरहरू खोज्नेछन् ।