२९ जेठ २०८३, शुक्रबार

श्रीमान्-श्रीमतीले नक्कली सरकारी कार्यालय खोलेर ठगी धन्दा चलाएपछि...

जेठ २८, २०८३
बुटवल
श्रीमान्-श्रीमतीले नक्कली सरकारी कार्यालय खोलेर ठगी धन्दा चलाएपछि...

बर्दियामा एक दम्पतीले नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठग्दै आएको खुलेको छ । 

जिल्लाको ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गर्ने ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–५ निवासी २३ वर्षीया कृपा चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–३ मा रहेको एक घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा नपा–३, बर्दिया, टीकापुर, लम्की’ नामबाट कार्यालय सञ्चालन गरिएको थियो । 

उक्त कार्यालयमार्फत् विभिन्न व्यक्तिलाई सरकारी कर्मचारीमा नियुक्ति गरिदिने, काममा लगाइदिने तथा मजदुरी गराउने नाममा ठगी गरिएको आरोप छ ।

अनुसन्धानका क्रममा कार्यालय सञ्चालकले स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न मजदुरीको काममा लगाएको तर ज्याला भुक्तानी नगरेको खुलेको प्रहरीले जनाएको छ । 

साथै, कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाई निर्माण कार्य गराए पनि रकम भुक्तानी नगरेको आरोप समेत लागेको छ ।

सम्बन्धित घरधनीबाट जाहेरी दरखास्त प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा आरोपितले आफैं सरकारी कागजात तथा छाप तयार गरी हस्ताक्षर र नियुक्तिपत्रमा प्रयोग गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि ठगी तथा लिखत सम्बन्धी कसुर (कीर्ते) अन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । 

‘कामदार भर्ना गरी पैसा असुल्ने नियत देखिन्छ’, एसपी पौडेलले लोकान्तरसँग भने, ‘घर भाडामा लिएर हामीलाई कामदार चाहियो भनेर भन्ने रहेछ । सरकारी कार्यालयको साइनबोर्ड शंकास्पद देखिएपछि खोज्दै जाँदा त्यो कार्यालयको अन्य साइड अफिस छैन भन्ने थाहा पाएपछि नक्कली हो भन्ने पुष्टि भयो ।’ 

उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी पौडेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्