
थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ। तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहेकी उनको बिहीबार राति निधन भएको थाइ शाही दरबारले जनाएको छ।
सन् २०२२ को डिसेम्बरमा व्यायामका क्रममा अचानक ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। मुटुमा भएको माइकोप्लाज्मा संक्रमणका कारण मुटुको धड्कन अनियन्त्रित बनेपछि उनी कोमामा पुगेकी थिइन्। लामो समयसम्म सघन उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन।
राजकुमारी बज्रकितियाभा थाइल्याण्डका राजा वजिरालोङकोर्नका सात सन्तानमध्ये जेठी छोरी हुन्। उनले अमेरिकाको कर्नेल विश्वविद्यालयबाट कानुन विषयमा उच्च शिक्षा हासिल गरेकी थिइन्।
राजगद्दीको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएकी राजकुमारीको निधनसँगै थाइल्याण्डको शाही उत्तराधिकारको विषय थप चर्चामा आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।