
साँझ सँगै खाना खाएकी छोरी एक्कासि घरबाटै हराइन् । कतै साथीसँग हिँडेकी होलिन् भन्ने लाग्यो । भोलिपल्ट दिनभर खबर नआएपछि परिवार आत्तिए ।
पोखरा बस्ने कमला बर्देवा हुइँकिएर म्याग्दी पुगिन् । २०८० पुस १६ गते साँझदेखि नन्द मीना परियारको खबर पत्तो थिएन । १७ गते नै बेनी पुगेर सोधखोज गरिन् । १९ वर्षीय मीनाको साथीसँग सोधखोज गरिन् । परिवारमा भन्न नसकेका कुरा साथीभाइलाई भन्छन् भन्ने आशाले पुगेकी थिइन् । तर, साथीमार्फत् मीनाको केही खबर आएन । पुसको २१ गते प्रहरीमा ‘खोजी पाउँ’ भनेर उजुरी दिइन् । केही सीप लागेन ।
आफैंले सानैदेखि हुर्काएकी नन्द कमलालाई छोरी नै लाग्थिन् । त्यसैले हरेक ठाउँ हारगुहार गरिन् । पछि, उनैले मीनाको नम्बरबाट म्यासेन्जर खोलेर हेरिन् । मीनाको फेसबुक इन्बक्स पढेपछि छाँगाबाट खसेजस्तै भइन् ।
गाउँकै युवा ‘राम खत्री’को आईडीमा मीनाले आफू ६ महिनाको गर्भवती रहेको म्यासेज गरेकी थिइन् । महिना दिनदेखि महिनावारी नभएको, औषधि ल्याइदिनुपर्ने भनेर मीनाले तारन्तार म्यासेज गरेकी थिइन् रामलाई । उता रामले आफ्नो जात नमिलेको र गाउँमा बेइज्जत हुने इत्यादि म्यासेज पठाएका थिए ।
यो म्यासेज देखेपछि कमला प्रहरीमा मुद्दा दर्ता गर्न पुगिन् । प्रमाणसहित जिल्ला प्रहरी कार्यालय म्याग्दीको कार्यालय पुगे पनि मुद्दा दर्ता गर्न एकहप्ता लागेको कमला बताउँछिन् ।
प्रहरीमा पुगेको आठ महिनासम्म पनि मीनाको अत्तोपत्तो भएन । यता, आरोपित राम खत्री पुर्पक्षका लागि थुनामा थिए । कमला आफ्नो नन्दका लागि न्याय माग्न तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई भेट्न भनेर काठमाडौं हिँडिन् ।
‘आठ महिनासम्म म आफैं व्यक्तिगत सबै ठाउँ खोजेँ तर पाइनँ । बेनीको सबै राजनीतिक दलसामु हात जोड्न कुनै खाली राखिनँ । कि नानीको लास चाहियो कि सास । त्यतिबेला गृहमन्त्रीलाई भेट्न काठडमाडौं पुगेँ । म भेटेर आएको एक हप्तामा नै सरकार चेन्ज भयो’, कमलाले भनिन्।
कमला काठमाडौं जान लागेको खबर पाएपछि रामका परिवार उनको घरमा ढुंगामुढा गर्न पुगे । मीनाको न्यायका लागि कमला आन्दोलनमा नै उत्रिएकी थिइन् । धर्नासम्म दिइन् । त्यससमयमा पीडितको परिवारलाई धम्काउ पीडक परिवार पुग्थे ।
‘हिँड्ने बेला उसको भाइ, उसको सालो, आफन्त चार जनाले मेरो घरमा ढुंगामुढा गरे । त्यतिबेलासम्म ६ महिना भएको थियो । ६ महिनासम्म छोरी बेपत्ता हुँदा घरपरिवारलाई कति पीडा भयो होला ? त्यो अवस्थामा पनि उहाँहरू आएर ढुंगामुढा गरेर सबैलाई हारगुहार गरेँ । आन्दोलन गर्दा उल्टै धम्काउने !?’, कमलाको दुखेसो छ ।
मीना बेपत्ता भएको ७ महिनापछि २०८१ साउन २७ गते उनको शव बेनी-९ आंखखेत कालीमुलमा भेटियो । गंगटा खोज्न गएका स्थानीयले कंकाल देखेपछि खबर गरेका थिए । कंकाल भेटिएको खबर पाउनेवित्तिकै कमलाले आशंका गरेकी थिइन् । नभन्दै उक्त कंकाल उनकै मीनाको भएको पत्ता लाग्यो ।
मीनालाई बेपत्ता पारेको आरोपमा २०८० माघ २३ गते प्रहरीले रामलाई पक्राउ गरेको थियो । अदालतले पुर्पक्षमा थुनामा पठाउन आदेश थियो । मीनाको शव फेला पारेपछि मुद्दा हत्यातर्फ मोडियो ।
शव भेटिएपछि पोष्टमार्टमका लागि पोखरा ल्याइयो । पेटमा ६ देखि ७ महिनाको गर्भ रहेको पोष्टमार्टमले प्रष्टायो । लास भेटिएपछि पुनः जाहेरी दर्ता गरिन्, हत्यामा संलग्न सबैलाई सजाय पाऊँ भनेर । भदौमा राम खत्रीकी आमा रेनु, उनका दाइ बिक्की, भाइ रोजन र श्याम खत्री पक्राउ परे । पक्राउ परेका उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा म्याग्दी अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।
मुद्दा अहिलेसम्म टुंगो लागेको छैन । मुद्दामा अधिवक्ता रहेकी कुन्जनी परियार प्यासीले उच्च अदालतको आदेशले एक प्रतिवादी रिहा भएको जानकारी दिइन् । ‘मुद्दामा साक्षीको बकपत्र भयो । उच्चबाट एउटा प्रतिवादी छुट्यो । अहिले मुद्दा पुर्पक्षको क्रममा छ’, उनले भनिन् ।
पुर्पक्षको लागि थुनामा रहेका अभियुक्तलाई म्याग्दी अदालतले ज्यानसम्बन्धी कसुरमा मात्र अभियोजन लगाएको छ । जबकी उनको हत्या हुँदा मीनाको पेटमा ६ देखि ७ महिनाको गर्भ रहेको पोष्टमार्टम रिपोर्टले समेत पुष्टि गरिसकेको छ ।
अधिवक्ता भगवती पहारी यो दुईवटा हत्या भएको बताउँछिन् । अभियोजनमा भ्रूणको हत्या पनि ल्याउनुपर्ने उनको भनाइ छ । ‘त्यो त भ्रुण हत्या पनि भयो, दुइटा हत्या भयो । त्यो बच्चाको पनि भ्रूण हत्याको विषय उनीहरूले ल्याउनुपर्थ्यो कानूनमा, किनभने त्यो महिलाको मात्र हत्या होइन । जन्मिने सम्भावना भएको बच्चाको पनि हत्या गरेको हो’, उनले भनिन् ।
मीनाको न्यायका लागि निरन्तर आवाज उठाइरहेकी कमलाले धेरथोर कानून बुझ्न थालेकी छिन् । गर्भमा भएको बच्चाको हत्याबारे कानून लाग्छ भन्ने उनलाई शुरूआतमा थाहा नै थिएन । अहिले बुझ्दा लाग्छ अपराधी जोगाउने ढंगले उनको मुद्दा लेखिएको छ ।
‘कानून कुन हो ? के हो ? केही थाहा छैन । अन्तिमपटक अंगालो हालेर रुन पनि पाइनँ । शरीर अंगालो हाल्ने पनि थिएन । हामी दलित भएको कारणले अपराधी जोगाउन यस्तो गरियो’, कमला भक्कानिइन् ।
अधिवक्ता पहारीका अनुसार कानून प्रभावमा पर्ने सम्भावना रहेकाले यस घटनामा प्रहरीसमेत प्रभाव परेको उनी टिप्पणी गर्छिन् ।
‘यहाँनिर अभियोजन पक्ष प्रभावमा परेका देखियो । अभियोजन पक्ष, अनुसन्धान पक्ष पनि अभियोजनलाई मात्र दोष नदिऊ । अभियोजन भनेको सरकारी वकिलले हो । अनुसन्धान भनेको प्रहरीले हो । प्रहरी प्रभावमा परेको देखियो’, अधिवक्ता पहारीले भनिन् ।
न्यायका लागि कमलाले शुरूआतदेखि नै सबैको हारगुहार गर्नुपरेको छ । हत्या आरोपितलाई समात्न दबाब दिनका लागि उनी शवलाई अस्पतालमा राखेर धर्ना दिइन् । शव उठाउन दबाब बारम्बार आयो । प्रहरी कार्यालय अगाडि पनि धर्ना बसिन् ।
दोषी जति कोही पनि नछुटुन् भन्ने उनको माग छ । आफूले कानून नबुझे पनि दोषीलाई अपराध अनुसारको सजाय मिल्नुपर्ने उनी सुनाउँछिन् ।
‘हाम्रो मान्छे गुमाइसक्यौँ । हाम्रो मान्छे पाउँदैनौँ । एकजना मान्छेले त्यो गर्ने सम्भावना छैन । जति छन् सबैलाई कानुन अनुसारको कारबाही होस्’, कमलाको माग छ ।