
चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) डीपसीकको डाटा सुरक्षासम्बन्धी चिन्ताले विश्वभर हलचल मच्चाइरहेको छ ।
दक्षिण कोरिया, अष्ट्रेलिया, इटाली, ताइवान र संयुक्त राज्य अमेरिकालगायत विभिन्न मुलुकले यसलाई लिएर कडा कदम उठाएका छन् ।
एकातिर, दक्षिण कोरिया र अष्ट्रेलियाले यसलाई राष्ट्रिय सुरक्षासँग जोड्दै सरकारी नेटवर्कमा पहुँच प्रतिबन्ध लगाएका छन् ।
त्यस्तै, दक्षिणपूर्वी एसियामा डीपसीकको कम लागतमा एआई विकास गर्ने रणनीतिले यसअघि अर्बौं लगानी भइसकेको 'डाटा सेन्टर' उद्योगलाई नै प्रभावित पार्न सक्ने आँकलन गरिएको छ ।
डीपसीकको उदयपछि यसको डाटा संकलन विधिलाई लिएर गम्भीर प्रश्न उठिरेहाका छन् ।
डीपसीक व्यक्तिगत प्रयोगकर्ताहरूका जानकारी सुरक्षित राख्न सक्षम छ कि छैन भन्ने विषयमा स्पष्ट नभएकाले धेरै देशले यसलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्न थालेका छन् ।
डीपसीकले प्रयोग गर्ने प्राविधिक आर्किटेक्चर र एल्गोरिदमबारे पर्याप्त जानकारी सार्वजनिक गरिएको छैन ।
साइबर सुरक्षा विशेषज्ञका अनुसार यसले प्रयोग गर्ने डाटा इन्क्रिप्सन प्रविधि र डाटा स्टोरेज प्रोटोकलबारे पनि स्पष्ट जानकारी छैन ।
यस्तो अवस्थामा विश्वभर प्रयोगकर्ताका व्यक्तिगत डाटा कसरी सुरक्षित राखिन्छ भन्ने अनिश्चितता छाएको हो ।
यसको डाटा कहाँ र कसरी भण्डारण गरिन्छ भन्ने जानकारी सार्वजनिक छैन भने तेस्रो पक्षसँग डाटा साझेदारी गर्ने नीति पनि स्पष्ट छैन ।
त्यस्तै यसले क्रस-बोर्डर डाटा ट्रान्सफरको नियमन कसरी गर्छ भन्ने पनि खुलाएको छैन ।
दक्षिण कोरियालेसरकारीडिभाइसबाट हटायो डीपसीक
डीपसीकबारे विश्वभर चासो बढिरहेका बेला दक्षिण कोरियाले यसको प्रयोगलाई सरकारी कार्यालयहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
दक्षिण कोरियाली वित्त मन्त्रालयले यसका लागि चरणबद्ध काम भइरहेको जनाएको छ । तत्काललाई विदेश मन्त्रालय, व्यापार मन्त्रालय र रक्षा मन्त्रालयलगायत निकायमा डीपसीकको पहुँच पूर्ण रूपमा रोकिएको छ ।
'डीपसीकलाई लिएर घरेलु र अन्तर्राष्ट्रिय रूपमा धेरै प्राविधिक चिन्ता उठाइएको छ । त्यसैले बाह्य नेटवर्कमा जडान भएका पीसीहरूमा यसको पहुँच रोक्न लागिएको हो,' दक्षिण कोरियाका एक वरिष्ठ अधिकारीले भने ।
यसैबीच, दक्षिण कोरियाको एकीकृत मन्त्रालयले सन् २०२३ देखि नै गोप्य सरकारी डाटा कुनै पनि जेनेरेटिभ एआईमा राख्न नपाइने नीति लागू गरिएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय गुप्तचर सेवा र गृह मन्त्रालयको सिफारिसपछि यो नीति ल्याइएको थियो ।
कोरियाली गुप्तचर निकायले डीपसीकको व्यक्तिगत जानकारी संकलन प्रणालीबारे पूर्ण जानकारी नभएकाले सचेत रहन आग्रह गरेका छन् ।
यही कारण वातावरण मन्त्रालयले समेत गत बिहीबार बिहान ९ बजेबाट सरकारी कम्प्युटरमा डीपसीकको पहुँच रोकिदिएको छ ।
दक्षिण कोरियाले डीपसीकमाथि लगाएको प्रतिबन्धसँगै थप कडा डाटा सुरक्षा नीति लागू गरेको छ ।
उक्त नीतिमा सबै सरकारी निकायमा साइबर सुरक्षा अडिट अनिवार्य गरिएको हुनुपर्ने, विदेशी एआई सेवाको प्रयोगमा कडा निगरानी राखिनुपर्ने, संवेदनशील डाटाको वर्गीकरण र सुरक्षा मापदण्ड तयार हुनुपर्ने जस्ता प्रावधान छन् ।
त्यस्तै दक्षिण कोरियाले कर्मचारीलाई साइबर सुरक्षा तालिम दिन थालेको छ ।
सरकारी प्रणालीबाटै डीपसीक हटाउनेअष्ट्रेलियाको निर्णय
अष्ट्रेलिया डीपसीकमाथि प्रत्यक्ष प्रतिबन्ध लगाउने पहिलो मुलुकमध्ये एक हो । गृह मामिलामन्त्री टोनी वर्कले राष्ट्रिय सुरक्षालाई खतरा हुनसक्ने भन्दै डीपसीकका सम्पूर्ण सेवालाई सरकारी प्रणालीबाट हटाउने निर्णय सार्वजनिक गरेका छन् ।
एक पत्रकार सम्मेलनमा टोनीले भने, 'एआईमा अपार सम्भावना छ, तर जब यसले राष्ट्रिय सुरक्षामा खतरा ल्याउँछ, सरकारले तत्काल कदम चाल्नुपर्छ ।'
उनले अष्ट्रेलियाको निर्णय चीन-केन्द्रित नभई पूर्ण रूपमा सुरक्षासँग सम्बन्धित रहेको स्पष्टिकरण पनि दिएका छन् ।
'हाम्रो निर्णय देशविशेष लक्षित होइन, बरु अष्ट्रेलियन सरकार र सम्पत्तिलाई सुरक्षित राख्ने सन्दर्भमा आएको हो,' टोनीले भने ।
अष्ट्रेलियाको निर्णयले अन्य पश्चिमी मुलुकलाई पनि प्रभावित गर्न सक्ने आंकलन गरिएको छ । किनभने यसअघि अष्ट्रेलियाले सन् २०१८ मा चिनियाँ कम्पनी हुवावेलाई ५ जी नेटवर्क निर्माणमा रोक लगाउँदा चीनले अष्ट्रेलियाली निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
अष्ट्रेलियाले डीपसीक प्रतिबन्धसँगै अन्य धेरै कदम चालेको छ । त्यहाँको सरकारले प्राथमिकताका साथ साइबर सुरक्षा रणनीति २०२४-२०२९ जारी गरेको छ भने विदेशी एआई कम्पनीका लागि नयाँ नियमन ढाँचा तयार पारेको छ ।
त्यस्तै, अष्ट्रेलियाले क्रिटिकल इन्फ्रास्ट्रक्चर सुरक्षा कानून कडा बनाएको छ भने 'डाटा लोकलाइजेसन' नियम पनि लागू गरेको छ ।
डीपसीकको उदयले दक्षिणपूर्वी एसियाली लगानीमा असर
डीपसीकको उदयले दक्षिणपूर्वी एसियाको डाटा सेन्टर व्यवसायलाई नराम्रोसँग असर गर्न सक्ने देखिएको छ ।
विशेष गरी पछिल्लो समय मलेसियाले डाटा सेन्टर उद्योगमा ठूलो लगानी गरिसकेको छ । तर डीपसीकले मात्र ६ मिलियन अमेरिकी डलरमा शक्तिशाली एआई च्याटबोट बनाएको दाबी गरेपछि लगानीकर्ताहरू डाटा सेन्टरको आवश्यकतामाथि पुनर्विचार गर्न बाध्य भएका छन् ।
भ्यूफाइन्डर ग्लोबल अफेयर्सका प्रबन्ध निर्देशक आदिब जल्काप्ली भन्छन्, 'डीपसीकले एआई बजारलाई नै प्रभावित पार्ने संकेत देखाएको छ, जसले लगानीकर्तालाई आफ्नो रणनीति पुनःविचार गर्न बाध्य पार्न सक्छ ।'
एआई प्रविधिमा ठूलो लगानी गरेका माइक्रोसफ्ट, गूगल र एनभिडिया जस्ता अमेरिकी प्रविधि कम्पनीका सेयरमा समेत व्यापक गिरावट आएको छ ।
डीपसीकको उदयले मलेसियामा ४ बिलियन डलर मूल्यको डाटा सेन्टर परियोजना जोखिममा परेको विश्लेषण गरिएको छ ।
त्यस्तै सिंगापुरका डाटा सेन्टर कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने पछिल्लो समय इन्डोनेसियामा नयाँ डाटा सेन्टर निर्माण योजना स्थगित गरिएको छ ।
भियतनामका डाटा सेन्टर कम्पनीहरूले वैकल्पिक व्यवसाय खोज्न थालेका छन् भने थाइल्याण्डमा विदेशी लगानी घट्न थालेको देखिएको छ । त्यस्तै, फिलिपिन्समा डाटा सेन्टर विस्तार योजना पुनरावलोकन गरिएको छ ।
यदि डीपसीकको रणनीतिले प्रभाव जमायो भने एआई क्षेत्रमा बृहत् डाटा सेन्टर र अत्याधुनिक चिप्स आवश्यक नपर्ने विशेषज्ञहरूको दाबी छ । यसले दक्षिणपूर्वी एसियाका देशले डाटा सेन्टरमा गरिरहेको भारि लगानी संकटमा पर्न सक्छ ।
नयाँ प्रविधिको प्रभाव र बजार प्रतिस्पर्धा
ओपन एआईका प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानले डीपसीकको उदयलाई प्रतिस्पर्धा बढाउने संकेतका रूपमा लिएका छन् ।
'यसले हामीलाई अझ तीव्र गतिमा एआई विकास गर्न प्रेरित गरिरहेको छ,' पत्रकारले सोधेको प्रश्नमा उनले भनेका थिए ।
डीपसीकको प्रविधिले एआई क्षेत्रमा धेरै नयाँ चुनौतीहरू पेश गरेको छ । यसले कम लागतमा उच्च क्षमताको एआई विकास सम्भव हुने देखाएको छ ।
यो कतिपय हिसाबले सकारात्मक भएपनि परम्परागत डाटा सेन्टर मोडेलले भने चुनौती खेप्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।
यसले स्थानीय डाटा प्रशोधन प्रविधिको महत्व बढाएको छ भने क्लाउड कम्प्युटिङको खर्च घट्न सक्ने देखाएको छ ।
डीपसीकका बारेमा चिन्ता व्यक्त गर्ने मुलुकहरूको सूचीमा ताइवान, इटाली, अमेरिका र आयरल्याण्ड पनि छन् ।
जनवरी ३१ मा ताइवानको डिजिटल मामिला मन्त्रालयले सरकारी कर्मचारीलाई डीपसीक प्रयोग नगर्न आदेश दिएको थियो ।
इटालीको डाटा संरक्षण प्राधिकरणले डीपसीकमा पारदर्शिताको अभाव रहेको भन्दै यसलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ ।
त्यस्तै संयुक्त राज्य अमेरिकाका वाणिज्य सचिवका मनोनित उम्मेदवार हावर्ड लुटनिकले डीपसीकमाथि गम्भीर आरोप लगाएका छन् ।
'चीनले आफूलाई मात्र सोच्छ र हामीलाई क्षति पुर्याउने प्रयास गर्छ । हामीले उनीहरूलाई रोक्नुपर्छ,' लुटनिकले भनेका छन् ।
डीपसीकले अमेरिकी प्रविधि चोरेको र एनभिडिया चिप्स खरिद गरेर अमेरिकी निर्यात नियन्त्रणलाई छल्न खोजेको आरोप उनले लगाएका छन् ।
विश्व व्यापार र प्रविधि क्षेत्रमा प्रभाव
डीपसीकको प्रभाव अन्तर्राष्ट्रिय व्यापार र प्रविधि क्षेत्रमा पनि देखिन थालेको छ । यसले अमेरिका-चीन प्रविधि प्रतिस्पर्धा तीव्र बनाएको छ भने एआई चिप्स आपूर्ति श्रृंखलामा तनाव थपेको छ ।
डीपसीकले बौद्धिक सम्पत्ति अधिकारबारे थप विवाद सिर्जना गरेको छ । त्यस्तै यसले अन्तर्राष्ट्रिय व्यापार सम्झौतामा पुनर्विचार गर्नुपर्ने आवश्यकता देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
डीपसीकको उदयले एआई क्षेत्रमा डाटा सुरक्षा र गोपनीयताको सुनिश्चितता, राष्ट्रिय सुरक्षा र प्रविधि विकासबीच सन्तुलन, अन्तर्राष्ट्रिय डाटा प्रवाहको नियमन, एआईको नैतिक प्रयोग र विश्वव्यापी एआई मापदण्डको आवश्यकता सिर्जना गरेको छ ।