१५ असार २०८३, सोमबार
सशस्त्रमा बढुवा जाम

एसएसपी कुँवरका कारण सशस्त्रमा बढुवा प्रक्रियामा जाम, १ नम्बरमा बढुवा गर्न दबाब !

फागुन २, २०८१
काठमाडौं
एसएसपी कुँवरका कारण सशस्त्रमा बढुवा प्रक्रियामा जाम, १ नम्बरमा बढुवा गर्न दबाब !

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र कुँवरका कारण बढुवा प्रक्रियामा जाम लागेको छ । उनलाई एक नम्बरमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा गर्न दबाब आएसँगै भदौदेखि सशस्त्रमा बढुवा जाम छ । 

एसएसपी कुँवर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाईं हुन् । ब्याच मिचेरै भएपनि कुँवरलाई डीआईजीमा बढुवा गर्न दबाब आएसँगै अन्य अधिकृतको बढुवा महिनौंदेखि रोकिएको छ । कुँवरलाई भावी महानिरीक्षक (आईजी)मा सुनिश्चित बनाउन चर्को दबाब छ ।

तर, सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले ‘थिति बसेको सशस्त्रमा एक व्यक्तिका कारण फेरि बेथिति ल्याउन नदिने’ भन्दै बढुवा प्रक्रिया अगाडि बढाएका छैनन् । बूढानीलिकण्ठबाट भानुमार्फत कुँवरलाई डीआईजी बढुवा गर्न अर्याललाई दबाब आइरहेको उच्च स्रोत बताउँछ । सशस्त्र प्रहरी नियमावली, २०७२ नियम २४ को (ख) मा डीआईजी र एसएसपी पदमा नियुक्त गर्ने अधिकार गृहमन्त्रीमा निहीत छ ।

आईजीपी अर्यालले डीआईजी बढुवा प्रक्रिया अगाडि बढाउन गृहमन्त्री रमेश लेखकसामू पटकपटक आग्रह गरिसकेका छन् । उनले गृहसचिव गोकर्णमणि दुवाडीलाई समेत मध्यस्तकर्ता गरिदिन आग्रह गरिसके । तर, भानुको दबाबका कारण गृहमन्त्री लेखकले बढुवा प्रक्रिया पछि धकेल्दै आएका उच्च स्रोत बताउँछ । 

सशस्त्रमा गत भदौ १६ देखि दुई डीआईजीको पद रिक्त भएकोमा माघमा थप खाली भएको छ । राजनीतिक हस्तक्षेपकै कारण डीआईजीमा बढुवा प्रक्रिया अगाडि बढ्न नसकेको सशस्त्र मुख्यालय स्रोत बताउँछ ।

‘आईजीपीसा'बले पटकपटक डीआईजी बढुवा प्रक्रिया अगाडि बढाइदिन मन्त्रीज्यू र सचिवज्यूलाई निवेदन गरिसक्नुभएको हो । एसएसपी कुँवरलाई अगाडि ल्याउनुपर्ने दबाब सिर्जना भएसँगै प्रक्रिया अवरुद्ध बनेको हो’, मुख्यालय स्रोतले भन्यो,‘ब्याचै उछिन्ने गरि कुँवरलाई अगाडि ल्याउन सकिँदैन भन्ने आशयसहितको जवाफ आईजीपीले मन्त्री र सचिवलाई दिनुभएको छ ।’

बढुवा प्रक्रिया अवरुद्ध हुँदा तल्लो तहसम्मकै पदोन्नतिको प्रक्रिया जाम हुन पुगेको छ । यसबाट दर्जनौं सशस्त्र प्रहरी अधिकारी मारमा परेका छन् । ‘एक व्यक्तिका कारण सिंगो संगठन नै बन्धक बनाउने काम भयो’ भन्दै सशस्त्र प्रहरीमा असन्तुष्टि चुलिँदै गएको स्रोत बताउँछ । 

हाल सशस्त्र प्रहरीमा तीन डीआईजी, तीन एसएसपी, १५ एसपी, २५ डीएसपी र ७४ इन्स्पेक्टरको पद रिक्त छ । डीआईजीको बढुवा रोकिँदा रिक्त यी पदमा पदोन्नती हुन सकेको छैन । 

मुख्यालयका अनुसार इन्स्पेक्टरमा भर्ना हुँदा कुँवर ७४औं स्थानमा थिए । डीएसपीबाट एसपी बनाउँदा उनलाई १०औं नम्बरमा उकालियो । एसपीबाट एसएसपीमा बढुवा गर्दा पहिलो नम्बरमा गरियो । कुँवरलाई बढुवा गर्न सरकारले सशस्त्र प्रहरी नियमावली, २०७२ नै संशोधन गरेको थियो ।
 
नियमावलीको नियम ४० मा बढुवाका लागि उम्मेदवार हुन चाहिने सेवा अवधिबारे उल्लेख गरिएको छ। त्यसमा भनिएको छ,‘सशस्त्र प्रहरी सेवामा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ।’

कुँवरलाई बढुवा गर्नकै लागि सरकारले नियमावली संशोधन गरेर चार वर्ष सेवा अवधि पूरा भएको हुनु पर्नेलाई तीन वर्षमात्रै भए पुग्ने बनाएको हो । तत्कालीन आईजीपी शैलेन्द्र खनालले भानुकै दबाबमा कुँवरलाई भटाभट माथि तानेका थिए । कुँवर सशस्त्र प्रहरीभित्र आकर्षक मानिने प्रबन्धक महाशाखाको प्रमुख छन्  उनी तीन वर्षदेखि महाशाखामै छन् । 

सशस्त्रले लिँदै आएको स्टाफ कलेज परीक्षा उत्तीर्ण गर्न नसकेका कुँवरलाई पहुँचकै आधारमा सेनाको स्टाफ कलेजबाट परीक्षा लिइएको थियो । प्रवेश परीक्षा समेत नलिई स्टाफ कलेज पढेका कुँवरलाई दुई ब्याच उछिनेर डीआईजीमा बढुवा गर्न आईजीपी अर्याल र गृहमन्त्री लेखकलाई दबाब रहेको स्रोत बताउँछ । 

हाल डीआईजी बढुवामा नेपाल प्रहरीबाट स्थानान्तरण भएका एसएसपी कृष्ण पाठक सबैभन्दा सिनियर हुन् । उनीपछि सशस्त्र प्रहरीको पहिलो ब्याचकै एसएसपीहरू मनीष थापा र कृष्ण ढकाल छन् । यो अवस्थामा कुँवरलाई बढुवा गर्न नसकिने जवाफ गृहमन्त्रीले समेत भानुलाई दिइसकेको स्रोत बताउँछ ।
 
गृहमन्त्री लेखकले सशस्त्र प्रहरीमा डीआईजीको बढुवा प्रक्रिया छिट्टै अगाडि बढ्ने बताए । गृहमन्त्री लेखकले एसएसी कुँवरलाई एक नम्बरमा बढुवाका लागि आफूलाई कतैबाट दबाब नआएको बताए । गृहमन्त्री लेखकले लोकान्तरसँग भने,‘मलाई कतैबाट त्यस्तो दबाब आएको छैन । अब बढुवा प्रक्रिया छिट्टै अगाडि बढ्छ ।’ डीआईजी बढुवा नहुँदा तलका बढुवा समेत जाम भएकोबारे आफू जानकार रहेको गृहमन्त्री लेखकले बताए । 

देउवाका स्वकीय सचिव भानुले भने एसएसपी दीपेन्द्रको बढुवाका लागि आफूले कसैलाई कुनै दबाब नदिएको दाबी गरे । आफ्ना बहिनी ज्वाईं दीपेन्द्रलाई एक नम्बरमा बढुवा गर्नका लागि तपाईंले गृहमन्त्री र सशस्त्र प्रहरी प्रमुखलाई किन दबाब दिनुभयो भन्ने प्रश्नमा भानुले भने,‘तपाईँलाई कसले भन्यो ? मैले कसैलाई कुनै दबाब दिएको छैन, मेरो दबाबले बढुवा हुने हो र ?’

salt training

कमेन्ट गर्नुहोस्