
बैङ्क तथा वित्तीय संस्थाहरूले शेयर धितो राखेर कर्जा दिने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्क तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जा लगानी बढाउँदै लगेका हुन् ।
चालू आर्थिक वर्षको शुरूआतदेखि शेयर बजारमा आएको वृद्धि, न्यून ब्याजदर र संस्थागततर्फको सीमा खुल्ला भएसँगै बैङ्कहरूले शेयर धितो कर्जातर्फको लगानी बढाएका हुन् ।
फागुन मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूबाट १ खर्ब १८ अर्ब ५० करोड १० लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ । जुन गत आर्थिक वर्षको अन्तिम महिना असार मसान्तसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँसम्म यस्तो कर्जा प्रवाह भएको थियो ।
चालू आर्थिक वर्षको आठ महिनामा (साउनदेखि फागुनसम्म) मात्रै बैङ्क तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा २८ अर्ब ४० करोड ७८ लाख रुपैयाँ बढी लगानी गरेका छन् । जुन करिब २४ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैङ्कले (२०८०) असोजमा शेयर धितो कर्जाको १२ करोडको सीमालाई बढाएर व्यक्तिगततर्फ १५ करोड र संस्थागततर्फ २० करोडसम्म पुर्याएको थियो । चालू आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितो कर्जाका लागि संस्थागत तर्फको २० करोडको सीमालाई हटाइदिएको छ । जसले गर्दा शेयर धितो राखेर कर्जा लिने क्रम बढेको देखिन्छ ।
यसका साथै चालू आर्थिक वर्षको सुरुवातबाटै शेयर बजारले पनि ३ हजारको बिन्दुलाई छोएको थियो । शेयर बजार निरन्तर बढ्ने क्रमसँगै शेयर धितो राखेर कर्जा लिने क्रम पनि बढ्दै गएको देखिन्छ ।
कर्जा प्रवाहमा वाणिज्य बैङ्क
फागुन मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको शेयर धितो कर्जामध्ये वाणिज्य बैङ्कहरूले मात्रै ९६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ प्रवाह गरेका छन् । यो कुल शेयर धितो कर्जाको करिब ८० प्रतिशत हो ।
चालू आर्थिक वर्षको साउन महिनासम्म वाणिज्य बैङ्कहरूले ७१ अर्ब ६९ करोड ३१ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेका थिए । त्यस्तै, भदौसम्म यस्तो कर्जा करिब ८ अर्बले बढेर ७९ अर्ब १४ करोड १० लाख रुपैयाँ पुगेको थियो । असोजसम्म आइपुग्दा वाणिज्य बैङ्कहरूले ८४ अर्ब २१ करोड ४ लाख रुपैयाँसम्म यस्तो कर्जा प्रवाह गरेका थिए । त्यस्तै, कार्तिक महिनासम्म वाणिज्य बैङ्कहरूले ८५ अर्ब ९१ करोड १४ लाख रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह गरेका थिए ।
मङ्सिर मसान्तसम्म शेयर धितो कर्जा ८६ अर्ब ३३ करोड रुपैयाँ प्रवाह हुँदा पुस मसान्तसम्म बढेर ९१ अर्ब ५४ करोड २१ लाख पुगेको देखिन्छ ।
माघ महिनासम्म यस्तो कर्जा बढेर ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ पुग्दा फागुनमा ९६ अर्ब ३९ करोड ३५ लाख पुगेको छ ।
विकास बैङ्क
बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको कुल शेयर धितो कर्जामध्ये विकास बैङ्कहरूबाट १७ अर्ब ८७ करोड १४ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । जबकि २०८१ असार मसान्तसम्म विकास बैङ्कहरूले १५ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ शेयर धितो कर्जामा लगानी गरेका थिए ।
साउन महिनासम्म विकास बैङ्कहरूले शेयर धितो कर्जा १५ अर्ब ६८ करोड २१ लाख प्रवाह गर्दा भदौमा यस्तो कर्जा प्रवाह १६ अर्ब ३२ करोड १४ लाख भयो । त्यस्तै, शेयर धितो राखेर असोज महिनामा विकास बैङ्कहरूले १७ अर्ब ३८ करोड २२ लाख प्रवाह गरेको देखिन्छ । जुन कार्तिक महिनासम्म केही बढेर १७ अर्ब ६२ करोड ३६ लाख पुग्यो ।
त्यसै गरी मङ्सिर महिनासम्म १७ अर्ब ४५ करोड ८२ लाख शेयर धितो कर्जामा लगानी गर्दा पुस महिनासम्म विकास बैङ्कले यस्तो कर्जामा लगानी बढाए १८ अर्ब १८ करोड ४९ लाख पुर्याएका थिए । तर माघ महिनासम्म यस्तो कर्जा घटेर १७ अर्ब ८९ करोड ३१ लाख र फागुनसम्म १७ अर्ब ८७ करोड १४ लाखमा सीमित भएको छ ।
फागुन मसान्तसम्म आइपुग्दा विकास बैङ्कहरूले शेयर धितो कर्जा २ अर्ब २७ करोड ७६ लाख रुपैयाँले बढाएका छन् ।
फाइनान्स कम्पनी
चालू आर्थिक वर्षको आठ महिनासम्म फाइनान्स कम्पनीहरूले ४ अर्ब २३ करोड ६० लाख रुपैयाँ शेयर धितो राखेर कर्जा प्रवाह गरेका छन् । जुन २०८१ असार महिनासम्म फाइनान्स कम्पनीहरूबाट कुल ४ अर्ब १५ करोड ४६ लाख रुपैयाँ यस्तो कर्जामा लगानी भएको थियो ।
साउन महिनासम्म ४ अर्ब ६ करोड ८० लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह भयो । भदौ महिनासम्म यस्तो कर्जा बढेर ४ अर्ब २८ करोड ४६ लाख पुग्यो । त्यस्तै, असोजसम्म ४ अर्ब २३ करोड २१ लाख र कार्तिक महिनासम्म ४ अर्ब २३ करोड २७ लाख शेयर धितो कर्जा प्रवाह भयो ।
तर मङ्सिर महिनासम्म आइपुग्दा शेयर धितो कर्जा केही घटेर ४ अर्ब १५ करोड ६९ लाख मात्रै प्रवाह भयो भने, पुस र माघमा पनि यस्तो कर्जा घटेको देखिन्छ । पुस महिनासम्म ४ अर्ब ४ करोड ९६ लाख र माघ महिनासम्म ३ अर्ब ६९ करोड १२ लाखमा सीमित भएको थियो ।
तर फागुनसम्म शेयर धितो राखेर कर्जा प्रवाह गर्ने क्रम बढेर ४ अर्ब १५ करोड ४६ लाख प्रवाह भएको देखिन्छ ।