
नेपाल क्रिकेट संघ (क्यान)द्वारा सञ्चालित नेपाल प्रिमियर लीग (एनपीएल)को कमर्सियल राइट्स बेच्ने गरी भएको सम्झौतामा व्यापक प्रश्न उठेको छ ।
क्यानद्वारा आयोजित एनपीएल पहिलो सिजनको कमर्सियल राइट्स ब्रान्ड डिजिटल लोजिक नामक कम्पनीलाई ५ करोड ९२ लाख रुपैयाँमा बेचिएको थियो ।
त्यसबापत उसले स्पोन्सरदेखि ग्राउन्ड र विभिन्न डिजिटल माध्यममा गरिने विज्ञापनलगायत समग्र आम्दानी प्राप्त गर्ने गरी सम्झौता भएको थियो ।
जम्मा २५ लाख रुपैयाँ अधिकृत पुँजी, तत्कालीन अवस्थामा झण्डै ३१ लाख रुपैयाँ घाटा र २ करोड ४५ लाख ५८ हजार कुल दायित्व (अरूलाई तिर्नुपर्ने) रहेको कम्पनीलाई अपारदर्शी ढंगले यति ठूलो ठेक्का दिइएको हो ।
अझ अचम्मको कुरा त के भने, विज्ञापनसम्बन्धी काम गर्ने भनेर खोलिएको कम्पनी विज्ञापन बोर्डमा सूचीकृत समेत भएको छैन । सोही कारण पनि यो ठेक्काका लागि ब्रान्ड डिजिटल लोजिक कुनै हिसाबले योग्य देखिँदैन ।
यस्तो छ ब्रान्ड डिजिटल लोजिकको इन्ट्रीदेखि सम्झौतासम्मको कहानी
२०८१ भदौ २५ गते नेपाल क्रिकेट संघ(क्यान)ले नेपाल प्रिमियर लीग (एनपीएल) को इभेन्ट रणनीति र मार्केटिङ परामर्शदाताका लागि बोलपत्रको सूचना प्रकाशित गरेको थियो ।
एनपीएलका लागि इभेन्टको योजना बनाउने, आयोजना गर्ने र व्यवस्थापन गर्ने, मार्केटिङ अभियान डिजाइन गर्नेदेखि प्रायोजन, विज्ञापन र दर्शक आकर्षणका लागि रणनीति बनाउने तथा ब्रान्डिङ र प्रचार-प्रसारको योजना बनाउनेसम्मका कामका लागि बोलपत्र प्रस्ताव मागिएको थियो ।
हेर्नुहोस्, क्यानले प्रकाशन गरेको बोलपत्रसम्बन्धी सूचना :

त्यसको भोलिपल्ट २०८१ भदौ २६ गते क्यानले एनपीएलको कमर्सियल राइट्सका लागि योग्य बोलपत्रकर्ताहरूबाट सिल गरिएको बोलपत्र मागसम्बन्धी अर्को सूचना प्रकाशन गरेको थियो । एकल चरण, एकल खामबन्दी प्रक्रियाअन्तर्गत क्यानले माग गरेको बोलपत्रको दस्तावेज भने सार्वजनिक गरिएको थिएन ।
क्यानको मूलपानीस्थित कार्यालयमा आएर बोलपत्रसम्बन्धी कागजात निरीक्षण गर्न सकिने, बोलपत्रसम्बन्धी कागजात किन्नका लागि क्यानको खातामा १० हजार रूपैयाँ जम्मा गर्नुपर्ने सर्त राखिएको थियो ।
बोलपत्र पेश गर्नका लागि बोलपत्र प्रस्तावकलाई ४ दिनको समय मात्र प्रदान गरिएको थियो । बोलपत्र प्रस्तावकहरूले सिल गरिएका बोलपत्रहरू १५ सेप्टेम्बर २०२४ अर्थात् २०८१ भदौ ३० गते दिनको ३ बजेसम्ममा पेश गरिसक्नुपर्ने भनिएको थियो ।
बोलपत्र सोही दिन प्रस्तावकका प्रतिनिधिको उपस्थितिमा दिनको साढे ३ बजे खोलिने उल्लेख थियो । बोलपत्रसँगै बोलपत्र सेक्योरिटी रकमबापत १० लाख रूपैयाँ जम्मा गर्नुपर्ने व्यहोरा उक्त सूचनामा उल्लेख थियो ।
हेर्नुहोस्, क्यानको वेबसाइटमा अपलोड गरिएको त्यो सूचना :

२०८१ मंसिर १६ गतेदेखि शुरू भएर पुस ६ गते सम्पन्न भएको एनपीएल प्रतियोगिताका लागि साढे ३ महिनाको समय हुँदाहुँदै पनि ४ दिने म्याद मात्र राखेर कमर्सियल राइट्स खरिदका लागि सूचना प्रकाशित गरिएको थियो ।
सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम अत्यावश्यक (इमर्जेन्सी) विशेष परिस्थितिमा मात्र ७ दिने सूचना प्रकाशन गर्न सकिन्छ । तर, क्यानले उक्त सूचनामा विशेष परिस्थितिबारे केही उल्लेख गरेको देखिँदैन ।
त्यसपछि क्यानले २०८१ असोज ६ गते ब्रान्ड डिजिटल लोजिकसँग कमर्सियल राइट्ससम्बन्धी सम्झौता गरेको थियो ।
२०८१ असोज ९ गते क्यानका प्रवक्ता छुम्बी लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रिमियर लीग (एनपीएल) को कमर्सियल राइट ब्रान्ड डिजिटल लोजिक प्रालिले प्राप्त गरेको जानकारी गराएका थिए ।
क्यान (सीएएन)द्वारा नियमन गरिएको बोलपत्र प्रक्रियामार्फत ब्रान्ड डिजिटललाई उक्त अधिकार प्रदान गरिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘ब्रान्ड डिजिटल लोजिक प्रालिलाई नेपाल क्रिकेट संघसँग समन्वय गरी लीगको कमर्सियल राइट्स व्यवस्थापन र बजार प्रबर्द्धन गर्नका लागि विशेष कमर्सियल एजेन्सी पार्टनरको रूपमा नियुक्त गरिएको छ । कम्पनीले यसका लागि ५ करोड ९२ लाख नेपाली रुपैयाँ प्रदान गरेको छ,’ लामाद्वारा जारी उक्त विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
साथै, एनपीएलको आधिकारिक इभेन्ट रणनीति तथा मार्केटिङ परामर्शदाताको रूपमा ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया (टीसीएम) स्पोर्ट्सलाई नियुक्त गरेको समेत सोही विज्ञप्तिमार्फत घोषणा गरिएको थियो ।
‘यसैगरी, हामी विश्वको अग्रणी खेल व्यवस्थापन कम्पनीमध्ये एक, ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया (टीसीएम) स्पोर्ट्सलाई आगामी नेपाल प्रिमियर लीग (एनपीएल) को आधिकारिक इभेन्ट रणनीति तथा मार्केटिङ परामर्शदाताको रूपमा नियुक्त गरेको घोषणा गर्छौं । यो रणनीतिक साझेदारीले इभेन्ट व्यवस्थापन, उत्पादन, प्रसारण र प्रबर्द्धन रणनीतिहरूमा केन्द्रित भएर लीगको समग्र कार्यान्वयनलाई उकास्ने र नेपाल प्रिमियर लीगको मापदण्डलाई माथि उठाउने लक्ष्य राखेको छ,’ विज्ञप्तिमा भनिएको थियो ।
इभेन्ट रणनीति तथा मार्केटिङ परामर्शदाताको रूपमा टीसीएम स्पोर्ट्सले नेपाल प्रिमियर लीगको प्रमुख पक्षहरूको योजना र समन्वयमा महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा दाबी गरिएको थियो । साथै, उनीहरूको विशेषज्ञताले खेलहरूको ब्रोडकास्ट तथा उत्पादन मात्र नभई लीगको मिडिया उपस्थिति र दर्शक संलग्नतामा समेत व्यापक वृद्धि हुने विज्ञप्तिमा उल्लेख थियो ।
हेर्नुहोस्, क्यानका प्रवक्ता लामाले जारी गरेको प्रेस विज्ञप्ति :

कमर्सियल राइट्सदेखि इभेन्ट म्यानेजमेन्ट कन्सल्टेन्टका लागि क्यानले सूचना प्रकाशन गरे पनि एक/एक मात्र कम्पनीको प्रस्ताव आएपछि ठेक्का प्रक्रिया रद्द गरी अर्को ठेक्का आह्वान गर्नुपर्नेमा क्यान परिचालन परिषदले तिनै कम्पनीलाई छनोट गरेको क्यानका एक सदस्य बताउँछन् ।
‘इभेन्ट म्यानेजमेन्टका लागि दुबईको टीसीएम कम्पनीको मात्र प्रस्ताव आएपछि त्यसैलाई छानियो । कमर्सियल राइट्सका लागि पनि एक मात्र फर्म ब्रान्ड डिजिटल लोजिकको प्रस्ताव आएपछि उसैलाई छनोट गरियो,’ क्यानका ती सदस्यले लोकान्तरसँग भने, ‘कम्तीमा १ महिना वा १५ दिनको समय राखेको भए बढीभन्दा बढी प्रस्तावकहरू प्रतिस्पर्धामा आउन सक्थे । तर, प्रतिस्पर्धालाई सीमित तथा संकुचित पार्ने बदनियत र आफूले पहिलेदेखि ‘सेटिङ’ गरेको प्रस्तावकलाई नै उक्त ठेक्का दिने उद्देश्यले ४ दिने म्याद राखेर सूचना प्रकाशन गरिएको थियो ।’
क्यानका सचिव पारस खड्काको संयोजकत्वमा कोषाध्यक्ष पदम खड्का र सदस्य सुदीप शर्मा एनपीएल परिचालन परिषदमा सदस्य तोकिएका थिए । त्यही परिचालन परिषदले ब्रान्ड लोजिक र दुबईको टीसीएम कम्पनीलाई छानेको थियो ।
कसरी आयो ब्रान्ड डिजिटल लोजिक ?
एनपीएलको कमर्सियल राइट्स हात पारेको ब्रान्ड डिजिटल लोजिक प्रालि कम्पनी रजिस्ट्रार कार्यालयमा २०७७ साउन ९ गते दर्ता भएको देखिन्छ । उक्त कम्पनीको दर्ता नम्बर २३८७६६ हो ।

विभिन्न कम्पनीको डिजिटल विज्ञापनसम्बन्धी कार्य गर्ने कम्पनीको अधिकृत पुँजी २५ लाख रूपैयाँ रहेको कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा उल्लेख छ । कम्पनीको ठेगाना ललितपुर महानगरपालिकाको वडा नम्बर १९ मा रहने तथा आवश्यकताअनुसार अन्य ठाउँमा पनि रजिस्टर्ड कार्यालय स्थानान्तरण गर्न सकिने उल्लेख छ ।
प्रतिशेयर १ सय रूपैयाँको दरले २५ हजार थान साधारण शेयरमा विभाजन गरिएकोमा कम्पनीले तत्काल जारी गर्ने र चुक्ता पुँजीको विषयमा प्रस्टता छैन । प्रबन्ध पत्रमा लेखिएको विवरणमा अंकमा २५ लाख लेखिएको छ भने अक्षरमा २५ हजार रूपैयाँ उल्लेख गरिएको छ ।

मोरङको रंगेली नगरपालिका वडा नम्बर ८ का रोशन निरौला र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ का सुजित त्रिपाठी गरी दुईजना मात्र उक्त कम्पनीको संस्थापक रहेको प्रबन्ध पत्रमा उल्लेख छ ।
रोशन निरौलाले २४ हजार ५ सय थान शेयर लिएको र त्रिपाठीले ५ सय थान शेयर लिएको उक्त प्रबन्ध पत्रमा उल्लेख छ ।
आधुनिक प्रविधि प्रयोग गरी विज्ञापनसम्बन्धी सामग्री उत्पादन गर्ने, सम्प्रेषण गर्ने/गराउने, आईटीसम्बन्धी सफ्टवेयर बनाउने र बिक्री गर्ने, विभिन्न कम्पनीको सेवा र सामग्रीको प्रचारका लागि आधुनिक प्रविधिको प्रयोग गरी डिजिटल विज्ञापनसम्बन्धी कार्य गर्ने कम्पनीको उद्देश्य रहेको प्रबन्ध पत्रमा उल्लेख छ ।
त्यसैगरी, डिजिटल विज्ञापन तयार गर्न आवश्यक जनशक्ति देश या विदेशबाट नियुक्ति गर्ने, डिजिटल विज्ञापन कार्यका लागि विभिन्न कम्पनीसँग करार गरी सामग्री, सेवा, ब्रान्ड आदिको बजार उपस्थिति बढाउने कार्य गर्ने, डेक्सटप पब्लिसिङ, कम्प्युटर नेटवर्किङ तथा डेक्सटपसम्बन्धी कार्य गर्ने/गराउने लगायत उद्देश्य राखिएको छ ।
ब्रान्ड लोजिकका सञ्चालक रोशन निरौला मोरङको रंगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुली (र, बुवा गणेश निरौला)का छोरा हुन् । उनी नेकपा एमालेबाट त्यहाँ उपप्रमुखमा निर्वाचित भएकी हुन् ।
हेर्नुहोस्,कम्पनीको प्रबन्ध पत्रमा भएको पुँजी र शेयरधनीबारे कागजात :




२५ लाख पुँजी भएर ३१ लाख घाटामा रहेको कम्पनीलाई कमर्सियल राइट
कमर्सियल राइट पाएको ब्रान्ड डिजिटल लोजिक प्रालिले एनपीएलको कमर्सियल राइटसम्बन्धी ठेक्का हात पार्दा ३१ लाख रूपैयाँ घाटामा थियो ।
आर्थिक वर्ष २०७९/८० मा उक्त कम्पनी ३० लाख ९३ हजार १०९ रूपैयाँ घाटामा गएको कम्पनीको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ ।
रामनारायण एसोसिएट्सका लेखा परीक्षक रामनारायण खड्काले तयार गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार उक्त कम्पनी २०८० असार ३१ गतेसम्म ३० लाख ९३ हजार १०९ रूपैयाँ घाटामा गएको पाइएको हो ।
लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १५ लाख २८ हजार ५०६ रूपैयाँ नाफा कमाएको थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीको कुल सम्पत्ति १ करोड ९९ लाख ७३ हजार ८२८ रूपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा २ करोड ४५ लाख ५८ हजार ९१ रूपैयाँ पुगेको लेखापरीक्षण प्रतिवेदनमा जनाइएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको कुल दायित्व १ करोड ९९ लाख ७३ हजार ८२८ रूपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा बढेर २ करोड ४५ लाख ५८ हजार ९१ रूपैयाँ पुगेको उल्लेख छ ।


ब्रान्ड लोजिक नामले अर्को कम्पनी पनि दर्ता
निरौलाले समान उद्देश्य रहेको अर्को कम्पनी ब्रान्ड लोजिक प्रालि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गराएका छन् ।
समान उद्देश्य राखेर दर्ता गरिएको उक्त कम्पनीको ठेगाना काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा रहने र आवश्यकताअनुसार स्थानान्तरण गर्न सकिने उल्लेख छ । २०७६ मंसिर १७ गते दर्ता भएको उक्त कम्पनीको दर्ता नम्बर २२९५५३ हो ।


कम्पनीको अधिकृत पुँजी पनि २५ लाख रूपैयाँ रहने र तत्काल जारी गर्ने पुँजी र संस्थापकहरूले तत्काल चुक्ता गर्न कबुल गरेको पुँजी क्रमशः १२/१२ लाख रूपैयाँ रहने कम्पनीको प्रबन्ध पत्रमा उल्लेख छ ।
उक्त कम्पनीको अधिकृत पुँजीलाई १ सय रूपैयाँ प्रतिशेयरको दरले २५ हजार थान साधारण शेयरमा विभाजन गरिएको, शेयरधनीको संख्या ४ जनादेखि अधिकतम ५० जनासम्म रहने उल्लेख छ ।
उक्त कम्पनीमा धरान उपमहानगरपालिका वडा नम्बर १ का सुजित आचार्यले ६ हजार थान, काठमाडौं-३४ का बिजयेन्द्र चापागाईंले २४ सय थान र मोरङको रंगेली ८ का रोशन निरौलाले ३६ सय थान शेयर किनेको प्रबन्ध पत्रमा उल्लेख छ ।
हेर्नुहोस्,उक्त कम्पनीको पुँजी र शेयर धनी लगत विवरण:
कम्पनी रजिस्ट्रारको कार्यालयमा उक्त कम्पनीले दर्तापश्चात हालसम्म लेखापरीक्षण प्रतिवेदन पेश गरेको छैन ।


विज्ञापन बोर्डले गर्दैछ कारबाही
एनपीएलको कमर्सियल राइट्स पाएको ब्रान्ड डिजिटल लोजिक प्रालि त्यतिबेलासम्म विज्ञापन बोर्डमा सूचीकरण भएको थिएन । अझै सूचीकरण भएको छैन । क्यानले कमर्सियल राइट्स ब्रान्ड डिजिटल लोजिकलाई दिएको घोषणा गरेलगत्तै विज्ञापन बोर्डले त्यस विषयमा पटक–पटक पत्रमार्फत ताकेता गरेको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं बताउँछन् ।
‘विज्ञापन बोर्डमा सूचीकरण नै नभएको संस्थालाई विज्ञापनसम्बन्धी अधिकार बेचेको पाइएपछि हामीले पटक–पटक ब्रान्ड डिजिटललाई स्पष्टीकरण सोध्यौं, ताकेता पनि गर्यौं,’ हुमागाईंले लोकान्तरसँग भने, ‘त्यसपछि कानून अधिकृत समेतको टोली राखेर हामीले छानबिन कमिटी बनायौं । छानबिन कमिटीले ब्रान्ड लोजिकका प्रतिनिधिसँग छलफल पनि गर्यो ।’
छानबिन कमिटीले छानबिन गरेर प्रतिवेदन पनि दिइसकेको छ । ‘प्रतिवेदनबमोजिम के कारबाही गर्ने भन्ने विषयलाई हामी बोर्डमा लैजान्छौं । बोर्डबाट केही दिनमै निर्णय हुन्छ,’ हुमागाईंले थपे ।
ब्रान्ड लोजिकलाई १० हजार रूपैयाँसम्म जरिवाना वा कारोबारमै रोक लगाउने वा सूचीकरणमा नै रोक लगाउने ३ विकल्पमध्ये विज्ञापन बोर्डले कुनै एक कारबाही गर्न सक्छ ।
क्यानका अर्का एक सदस्य पनि एनपीएलमा ब्रान्ड डिजिटल लोजिकलाई दिइएको कमर्सियल राइट्ससम्बन्धी ठेक्कामा व्यापक प्रश्न उठेको बताउँछन् ।
‘चुक्ता पुँजी जम्मा २५ लाख रुपैयाँ मात्र रहेको कम्पनीलाई एनपीएलको ५ करोड ९२ लाख रूपैयाँको कारोबार गर्न दिइएको छ,’ उनले लोकान्तरसँग भने, ‘टेन्डरका सबै कानूनी तथा औपचारिक प्रक्रियाहरू पनि उक्त ठेक्कामा पालना गरिएको छैन ।’
उनले थपे, ‘ब्रान्ड डिजिटल लोजिक विज्ञापन बोर्डमा दर्ता नै छैन । उसले नेपालमा कुनै ठूला वा सन्तोषजनक व्यापारिक गतिविधि गरेको प्रोफाइल पनि छैन । यो कम्पनीले के आधार पेश गर्यो कि पहिलोपटक नेपाल क्रिकेटसँग जोडियो र तत्कालै टेन्डर प्राप्त गर्न सफल भयो । ती सबै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृतरूपमा छानबिन गर्नुपर्छ ।’
अहिले राष्ट्रिय खेलकुद परिषदले गरिरहेको छानबिन झारा टार्नेजस्तो मात्र देखिएको उनको टिप्पणी छ ।
विदेशी संस्था टीसीएमलाई कानूनविपरीत भुक्तानी
ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया (टीसीएम) स्पोर्ट्स दुबईस्थित विदेशी कम्पनी हो । तर, क्यानले उक्त कम्पनीलाई भुक्तानी गरेको आरोप लागेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४४ को उपदफा (२) मा राष्ट्रिय खेल संघ वा प्रदेश र स्थानीय स्तरका खेलसम्बन्धी संस्था वा निकाय तथा संघले विदेशी सरकार, अन्तरार्ष्ट्रिय संघ–संस्था, विदेशी संस्था वा व्यक्तिसँग सम्झौता गर्दा राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल सरकारको स्वीकृति लिनुपर्ने प्रावधान छ ।
क्यानले एनपीएल प्रसारण गर्न विदेशी च्यानल स्टार स्पोर्ट्ससँग सम्झौता गर्नका लागि दुबईस्थित टीसीएम कम्पनीसँग सम्झौता गरेको थियो ।
स्टार स्पोर्ट्सले प्रसारण मात्र गर्ने हुँदा प्रोडक्सन कामका लागि एनपीएल परिचालन परिषदले टीसीएम स्पोर्ट्स म्यानेजमेन्ट एलएलसीसँग अमेरिकन डलर १ लाख ८५ हजारमा सम्झौता गरेको थियो ।
हेर्नुहोस्, टीसीएम स्पोर्ट्स म्यानेजमेन्टले पठाएको पहिलो बिल :
तर, नेपालको खेलकुद विकास ऐनबमोजिम नेपाल सरकारको स्वीकृति लिनुपर्नेमा मनलाग्दी सम्झौता गरेको क्यानले अहिले कुरा फेर्न थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेर राखेपले छानबिन गरिरहेको अवस्थामा अहिले आएर क्यानका पदाधिकारीहरूले कुरा फेरिरहेका हुन् ।
राखेपद्वारा गठित रञ्जना प्रधान नेतृत्वको छानबिन समितिलाई क्यानका सचिव पारस खड्काले पठाएको लिखित जवाफमा क्यानले विदेशी कम्पनी टीसीएमसँग कुनै पनि सम्झौता नगरेको जवाफ दिएका छन् ।
क्यानका कोषाध्यक्ष पदम खड्का पनि स्टार स्पोर्ट्स हायर गर्नेदेखि अन्य सबै काम ब्रान्ड डिजिटल लोजिकले नै गरेको बताउँछन् । सरकारको स्वीकृति लिए/नलिएको विषयमा पनि ब्रान्ड लोजिक नै जिम्मेवार हुने उनले लोकान्तरसँग बताए ।
‘शुरूमा दुबईस्थित टीसीएमसँग सम्झौता गरेको भएपनि नेपालको कानूनले नमिल्ने हुँदा हामीले उनीहरूको नि:शुल्क प्राविधिक सपोर्ट मात्र लिएका थियौं,’ उनले थपे, ‘उनीहरू आएपछि होटलमा बस्ने/खाने व्यवस्था भने मिलाइदिएका थियौं ।’
एनपीएल परिचालन परिषदका सदस्य सुदीप शर्मा पनि समय अभावका कारण एक मात्र बोलपत्र प्रस्तावमा ब्रान्ड डिजिटल लोजिकलाई कमर्सियल राइट्स दिइएको बताउँछन् ।
‘त्यति बेला समय अभाव भएकाले एक मात्र प्रस्तावक भएपनि सम्झौता गरेर अघि बढ्यौं,’ शर्माले लोकान्तरसँग भने, ‘त्यति नगरेको भए एनपीएल नै हुँदैनथ्यो होला ।’
दुबईस्थित टीसीएम कम्पनीसँग इभेन्ट म्यानेजमेन्टसहित ब्रोडकास्ट र प्रोडक्सनका लागि शुरूमा सम्झौता गरिए पनि पछि ब्याक भएको उनले बताए ।
‘ब्याक भइसकेपछि सबै कुराको जिम्मेवारी हामीले त्यही ब्रान्ड डिजिटल लोजिकलाई नै दिएका थियौं,’ उनले लोकान्तरसँग भने ।
दुबईस्थित टीसीएम कम्पनीको प्राविधिक सहयोग लिइएको तथा उक्त कम्पनीका म्यानपावरलाई बस्न/खान आदि सबैमा लागेको खर्चदेखि प्रसारण गरेको स्टार स्पोर्ट्सलाई समेत त्यही कम्पनीमार्फत भुक्तानी भएको जिकिर उनले गरे ।
यी समग्र विषयमा प्रतिक्रिया लिन ब्रान्ड डिजिटल लोजिकका रोशन निरौलालाई पटक-पटक कल र म्यासेज गर्दा पनि कुनै प्रतिक्रिया दिएनन् ।
ह्वाट्सएपमा प्रश्नहरू नै उल्लेख गरेर पठाए पनि उनले त्यसको जवाफ दिएनन् ।

क्यानका एक सस्दयका अनुसार स्टारस्पोर्ट्सले प्रशारण गरेबापत प्रतिदिन १० लाख भारतीय रूपैयाँ लिने गरी १८ दिनको १ करोड ८० लाख भारु लिएको थियो ।
‘स्टारस्पोर्ट्समा प्रसारणबापत मात्र १ करोड ८० लाख रूपैयाँ भारु (करिब २ करोड ८८ लाख नेपाली रुपैयाँ) लिएको भन्ने कुरा आएको छ । त्यसबाहेक प्रोडक्सन गरेबापत दुबईस्थित टीसीएम कम्पनीलाई क्यामेरा आदि समेत गरेर ६ लाख अमेरिकन डलर जति भुक्तानी भएको कुरा आएको छ,’ ती सदस्यले लोकान्तरसँग भने, ‘टीसीएम कम्पनीमार्फत नै टीसीएमको पेमेन्ट र स्टार स्पोर्ट्सको पेमेन्ट गरिएको छ । तर, सबै भुक्तानी सोझै नगरेर ब्रान्ड डिजिटल लोजिक प्रालिमार्फत गरिएको छ ।’
एनपीएलबाट के कति रकम आम्दानी भयो र खर्च कति भयो त्यसको हिसाबकिताब अहिलेसम्म एनपीएल परिचालन परिषदले दिएको छैन ।
‘पछिल्लो बोर्ड बैठकमा परिचालन परिषदका संयोजक समेत रहेका क्यानका सचिव पारस खड्काले फाइदा नभए पनि ब्रान्ड भ्याल्यु कमाएको भन्नुभयो,’ क्यानका अर्का एक सदस्यले लोकान्तरसँग भने ।
१६ करोड २५ लाख रूपैयाँ एनपीएलमा सहभागी फ्रेन्चाइज कम्पनीहरूबाट, ५ करोड ९२ लाख रूपैयाँ कमर्सियल राइट बेचेबापत र १ करोड ७५ लाख रूपैयाँ टिकटबाट गरी कुल २३ करोड ९२ लाख जति क्यानलाई आम्दानी भएको प्रारम्भिक अनुमान गरिएको उनले बताए ।
‘स्टार स्पोर्ट्सलाई गरिएको भुक्तानीदेखि होटल, अम्पायर, अफिसियल, ग्राउन्डमा टेन्ट, ब्रायन लारालाई नेपाल ल्याउँदालगायत विभिन्न शीर्षकमा खर्च भएको छ,’ उनले थपे, ‘फ्रेन्चाइज कम्पनीहरूलाई १/१ करोड फिर्ता गर्छु भनेर पारस खड्काले भन्नुभएको छ । त्यसैगरी ३५ जिल्ला क्रिकेट संघलाई ५/५ लाख रुपैयाँ दिने भन्नुभएको छ ।’
यसरी हिसाब गर्दा आम्दानी र खर्च बराबर हुने भएकाले ब्रान्ड भ्याल्यु नै कमाइ भएको खड्काले क्यानको बोर्ड बैठकमा बताएको उनले खुलाए ।
‘कमर्सियल राइट्स किनेबापतको बल्क मात्रामा ब्रान्ड डिजिटल लोजिकले भुक्तानी गरिसकेको होला । केही रकम मात्र भुक्तानी गर्न बाँकी होला,’ एनपीएल परिचालन परिषद सदस्य शर्माले लोकान्तरसँग भने, ‘स्टार स्पोर्ट्सलाई पनि उसैमार्फत भुक्तानी भएको हुनाले अहिले सबै हिसाब मिलान गर्न बाँकी छ ।’
एनपीएलमा कुन–कुन शीर्षकमा कति आय भयो र कति व्यय भयो भन्ने कुराको अहिलेसम्म पूरा हिसाब नभएको उनले बताए ।
‘कतिपय लिनुपर्नेबाट लिन बाँकी नै छ, दिनुपर्नेलाई दिन बाँकी नै छ,’ उनले थपे, ‘त्यसैले कति फाइदा वा घाटा भयो भन्ने हिसाब बोर्डको आगामी बैठकमा आउँछ होला ।’
पढ्नुहोस्, यो पनि :
अख्तियार र राखेपको छानबिनमा एनपीएलको 'ब्रोडकास्टिङ' सम्झौता, समितिको पत्रदेखि पारसको जवाफसम्म