१६ असार २०८३, मंगलबार
प्रहरीविरुद्ध नै उजुरीका चाङ

वर्ष दिनमा प्रहरीविरुद्ध ३७ सय उजुरी– घुस मागेकोदेखि अनावश्यक दु:ख दिएकोसम्म !

साउन १२, २०८२
काठमाडौं
वर्ष दिनमा प्रहरीविरुद्ध ३७ सय उजुरी– घुस मागेकोदेखि अनावश्यक दु:ख दिएकोसम्म !

साउनको पहिलो हप्ता जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत रहेको इलाका प्रहरी कार्यालय हिरापुरका प्रहरी नायब निरीक्षक (सई) वैधनाथ दासले तस्करसँग पैसाको मोलमोलाइ गरेको अडियो बाहिरियो ।

उनले घुमुवा प्रहरी जवान सन्तोष यादवमार्फत तस्करसँग १८ हजार रुपैयाँ मागेका थिए । अडियोमा शुरूमा ‘राजीव भाइ तिम्रो ३२ वटा बंगारा छ नि, त्यो म झारिदिन्छु’ भनेर धम्क्याएको सुनिन्छ । साथै, दासले ‘उनलाई धेरै माया गर्छु’ भनेर पनि फकाउँछन् ।

दासले राजीवसँग मोलमोलाइ गर्दै यादवलाई १८ हजार र विवाहमा खरिद गरेको कपडाको ७ हजार रकम दिनु भनेको अडियोमा सुनिन्छ । तर, राजीवले १० हजार मात्रै दिने कुरा गर्दा १५ हजार त दिनैपर्छ भनेर दासले अड्डी लिएको अडियोमा सुनिन्छ ।

अडियो बाहिर आएपछि दासलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा तानेर निलम्बन गरी छानबिन अघि बढेको छ । त्यसो त सई दास यसअघि जिल्ला प्रहरी कार्यालय पर्सा मातहत काम गर्दा पनि घुस लिएको आरोपमा निलम्बनमा परेका थिए ।

२०७७ मंसिर ५ मा उनले तस्कर सँग घुस लिएको पाइएपछि निलम्बन गरिएको थियो । विभागीय कारबाहीअन्तर्गत त्यतिबेला पाँच वर्ष बढुवा रोक्का गरिएको थियो । तर, उनले घुस लिने धन्दा नछाडेको पछिल्लोपटक सर्लाही कान्डले पुष्टि गरिदियो ।

सई दासविरुद्ध प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकारमा समेत उजुरी परेका थिए ।

यो घटना एउटा उदाहरण मात्रै हो । अडियो वा भिडियो बाहिर आएपछि सम्बन्धित प्रहरी अधिकारीलाई निलम्बन गर्न दबाब बढ्छ । ‘रक्षक नै भक्षक’ भनेजस्तो नागरिकको जिउधनको रक्षा गर्ने प्रहरीले कर्तव्यच्युत भएर अनुशासनहीन कार्य गरेपछि उनीहरूविरुद्ध उजुरी पर्दै आएका हुन् । विगतको आर्थिक वर्षमा सुन र पैसा लुटपाटमै प्रहरी संलग्न भएका घटना पनि छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा प्रहरीविरुद्ध तीन हजार ७५३ वटा उजुरी परेका थिए । सात सय उजुरीमाथि अहिले छानबिन भइरहेको प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरे बताउँछन् ।

प्रहरीविरुद्ध प्रधानमन्त्री कार्यालय अन्तर्गत हेलो सरकार, हुलाक, प्रहरी महानिरीक्षकको सचिवालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रहरी प्रधान कार्यालयकै फेसबुक, ट्वीटर लगायत सामाजिक सञ्जाल, पुलिस एप, टोल फ्री नम्बर (१११३, ९८५१२९३००) लगायतमा उजुरी पर्दै आएका छन् । सबैभन्दा धेरै उजुरी हेलो सरकारमा पर्ने गरेका छन् ।

उजुरीकै आधारमा प्रहरीले कारबाही पनि गर्दै आएको छ । प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार २ हजार ७३ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरै तल्लो दर्जाका छन् ।

कारबाहीमा परेका २ हजार ७३ प्रहरीमध्ये ९२४ जना प्रहरी जवान छन् । जवानपछि सहायक हवल्दार ४२०, प्रहरी हवल्दार ३४५ कारबाहीमा परेका छन् । असई १७३,  सई ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९, इन्स्पेक्टर ३०, वरिष्ठ सई ९, एसएसपी १ र डीएसपी ३ जना कारबाहीमा परेको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

तल्लो तहबाट कारबाहीमा पर्नेको संख्या बढी देखिएको छ । माथिल्लो तहबाट एसएसपी ओम राना कारबाहीमा परेका छन् । उनी मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहँदा वैदेशिक रोजगारीमा कारबाहीमा परेका एक व्यक्तिलाई मानव बेचबिखनको मुद्दा चलाएका थिए ।

त्यसमा मानव अधिकार आयोगले समेत प्रहरी प्रधान कार्यालयलाई सचेत गराएपछि मुख्यालयले रानालाई सचेत गराएको थियो । रानालाई सचेत गराउँदा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगिसकेका थिए । सचेत गराएको एक हप्तामै उनी डीआईजी बढुवा सिफारिसमा परेका थिए । राना हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयमा छन् ।  

प्रहरीविरुद्ध कस्ता–कस्ता उजुरी आउँछन् भन्ने प्रश्नमा घिमिरेले भने, ‘एकाध घटनामा प्रहरीले घुस माग्यो, मुद्दा मिलाइदिन्छु भनेर पैसा माग्यो भन्ने गुनासो पनि आउँछन्, तर अधिकांश उजुरी भनेको बेला प्रहरी आएन, प्रहरीले गलत व्यवहारले हेर्‍यो, अनावश्यक चेक प्वाइन्ट राखेर दु:ख दियो भन्ने जस्ता व्यहोराका छन् ।’

उजुरीका आधारमा छानबिन गर्नुपर्ने देखियो भने छानबिन समिति नै बनाइएको घिमिरे बताउँछन् ।

‘उजुरीको प्रकृति हेर्दा थप छानबिन गर्नुपर्ने देखियो भने हामीले समिति गठन गरेरै के भएको रहेछ भनेर भित्रैसम्म पसी छानबिन गर्दै आएका छौं,’ घिमिरेले भने, ‘कतिपयले रिसइबीले पनि प्रहरीविरुद्ध उजुरी गर्ने गरेको पाइन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्