
तपाईंले युट्युबका भिडियो त पक्कै हेर्नुहुन्छ । भिडियो १४० पीमा हेर्नु भयो भने कम गुणस्तरको दृश्य देखिन्छ भने ३६० पी हुँदा गुणस्तर बढ्छ । तर, जब १०८० पीमा पुग्छ यो हाइ डेफिनिसन (एचडी) बन्छ । यसले तपाईंले हेरिरहेको भिडियो निकै स्पष्ट देखिन्छ ।
भिडियोमा जस्तै फोन कलमा पनि हाइ डेफिनिसन हुन्छ । त्यो हो, भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) । मोबाइल फोन प्रयोगकर्ताका लागि कल गर्दा आवाज अस्पष्ट हुने, कल लाग्न ढिलाइ हुने वा इन्टरनेट सेवा अचानक बन्द हुने जस्ता समस्याको समाधान भोल्टे हो ।
भोल्टे फोरजी प्रविधिमा आधारित दूरसञ्चार क्षेत्रको एक नयाँ प्रविधि हो । एनसेलले आफ्नो फोरजी सेवा पुर्याएका सबै ठाउँमा यो सेवा उपलब्ध गराउँदै आएको छ ।
भोल्टेले फोरजी नेटवर्कमार्फत् अझ छिटो कनेक्ट हुने उच्च गुणस्तरीय आवाजसहितको एचडी कल सुविधा प्रदान गर्दछ । जब भोल्टे सेवामार्फत् कसैलाई कल जान्छ तब फोरजी नेटवर्कको माध्यमबाट जान्छ । यसले गर्दा कनेक्सन टाइम निकै छिटो लाग्छ र भ्वाइस कल क्रिस्टल क्लियर हुन्छ ।
भोल्टे कसरी एक्टिभेट गर्ने ?
एनसेलका ग्राहकले मोबाइलमा *123*11# डायल गरी वा एनसेल एपमार्फत् एनसेल भोल्टे निःशुल्क एक्टिभेट गर्न सकिन्छ । भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी वा एलटीई अन गर्नुपर्ने हुन्छ र चलाउने ग्राहक फोरजी नेटवर्कमा रहेको हुनुपर्छ । एनसेलको फोरजी सिम अर्थात् यूसिम भएका ग्राहकले दुई दर्जन भन्दा बढी ब्रान्डका विभिन्न मोबाइलका मोडलमा यो सेवा लिन सक्छन् ।
अर्को राम्रो विशेषता भनेको यो सेवामार्फत् कल गर्दा इन्टरनेट सेवा बन्द हुँदैन, जसले गर्दा एकै समयमा कल र डाटा सेवा सहज रूपमा लिन सकिन्छ । भोल्टे सेवा केवल शहरी क्षेत्रका लागि मात्र नभई फोरजी सेवा पुगेका सबै ठाउँमा उपलब्ध रहेका छन् ।
एनसेलले देशको ९५ प्रतिशत भन्दा बढि जनसंख्यामाझ यो फोरजी सेवा पुर्याइसकेको छ । त्यसैले यो सेवाको फाइदा लिन ग्राहकहरूसँग फोरजी चल्ने मोबाइल हुन आवश्यक छ र मोबाइल सेटिङमा भोल्ट सक्रिय भएको हुनु पर्दछ ।
भोल्टे सेवा भविष्यमा फाइभजी जस्ता उच्चस्तरीय प्रविधिको आधार बन्ने भएकाले नेपालका लागि यसको व्यापक प्रयोग डिजिटल नेपालको आधार बन्न सक्ने विज्ञहरू बताउँछन् ।
एनसेलका ग्राहकलाई भारतमा पनि भोल्टे सुविधा
एनसेलले हालै मात्र भारत भ्रमणमा जाने आफ्ना ग्राहकलाई पनि भारतीय मोबाइल सेवा प्रदायक एयरटेलसँगको साझेदारीमा भोल्टे सेवा दिन थालेको छ । यो सेवा थपिँदा पहिला नै उत्कृष्ट रोमिङ अफरको फाइदा लिइरहेका एनसेलका ग्राहकहरूका लागि भारत रोमिङ अझै परिस्कृत भएको छ ।
एनसेलले भारतको जियो र भोडाफोन, अमेरिकाको एटी एन्ड टी, टी मोबाइल र भरिजोन, जापानका सफ्टबैंक र एनटीटी डोकोमो, चीनको चाइना मोबाइल र चाइना युनिकम तथा क्यानडाको बेल र टेलस लगायतका प्रमुख अन्तर्राष्ट्रिय मोबाइल सेवा प्रदायकहरूसँग पनि आफ्ना ग्राहक त्यहाँ भ्रमणमा जाँदा भोल्टे रोमिङ सेवा उपलब्ध गराउन सेवा परीक्षण गरिरहेको जनाएको छ ।