१५ असार २०८३, सोमबार
अलमलमा मूलधारका दल

जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलमा नेतृत्व परिवर्तनको बहस

भदौ ३१, २०८२
काठमाडौं
जेनजी आन्दोलनपछि प्रमुख राजनीतिक दलमा नेतृत्व परिवर्तनको बहस

जेनजी पुस्ताले भ्रष्टाचार अन्त्य, सुशासन र उत्तरदायी सरकार खोजेर गरेको आन्दोलनले २७ घण्टामा उथलपुथल ल्याइदियो । दुई दिन चलेको आन्दोलनमा ७० भन्दा बढी नागरिकको ज्यान गयो । यति छोटो समयमा सार्वजनिक र निजी सम्पत्तिमाथिको विध्वंश मुलुकले पहिलोपटक भोग्यो ।

मुद्दाबाट हिंसात्मक र ध्वंशात्मक घटनातर्फ केन्द्रित हुन थालेपछि २३ गते दिउँसोबाटै वास्तविक जेनजीहरूले आफूहरू ब्याक भएको घोषणा गरे । तर, जेनजीको आन्दोलनलाई देखाएर स्वार्थ समूहले आफू अनुकूल प्रयोग गरे । त्यसै दिन १९ युवाले अकालमा ज्यान गुमाए ।

यसैको आक्रोशमा २४ गते नेपालको इतिहासमै नभएको विध्वंश मुलुकले बेहोर्‍यो । ऐतिहासिक सिंहदरबार, न्यायको मन्दिर सर्वोच्च अदालत र संसद भवन जलाएर खाग बनाइयो ।

राष्ट्रपति कार्यालय, विशेष अदालत, उच्च अदालत, जिल्ला अदालत, प्रहरी कार्यालय, सरकारी कार्यालय, सरकारी सवारी साधन केही बचेनन् । महत्त्वपूर्ण कागजात राखिएका ठाउँ खोजी–खोजी नियतवश नै जलाइए । सार्वजनिक मात्रै होइन, व्यावसायिक घराना र निजी व्यवसायमा तोडफोड, आगजनी, लुटपाटका अनवरत शृंखला चलाइए ।

सरकारी सम्पत्ति, मुख्य दलका कार्यालय, निवास र डेरा मुख्य निशानामा परे । दुई दिनसम्म चलेको आन्दोलन हिंसा, आगजनी र बर्बरतामा परिणत भयो । मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता निशानामा परे । राप्रपा, रास्वपासहितका साना दलका नेता, उनीहरूका कार्यालय र निवास निशानामा पारिएन । तर, परम्परागत दलका कार्यालय, निवास, डेरा, सवारीसाधन एउटै बाँकी राखिएन ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेतृ आरजु राणा देउवामाथि त उनको बूढानीलकण्ठस्थित निवासमै पुगेर हातपात नै गरियो । भीडबाट मुश्किलले बचाएर हेलिकोप्टरमार्फत उद्धार गरेर ज्यान जोगाइयो । घाइते अवस्थामा देउवा र उनकी पत्नी आरजु उपचारत छन् । ज्यान जोगाउन प्रमुख दलका शीर्ष, दोस्रो र तेस्रो तहका नेतासमेत लुकेर बस्न बाध्य छन् ।

शेरबहादुर देउवा

जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि परम्परागत प्रमुख दलहरूमा नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ । दशकौंसम्म आफ्नै वरिपरि राजनीतिक शक्ति सञ्चय गर्ने र स्वार्थको रोटी सेक्ने गरेको आरोप प्रमुख दलका नेतामाथि लाग्दै आयो । पार्टीभित्र उठेका नीति र नेतृत्वको सुधार, हस्तान्तरण र चलायमान बनाउने प्रक्रिया फुकेन ।

शीर्षस्थ नेतृत्वले आफू बलियो हुने गरी आफ्नो अनकूलतामा शक्ति सञ्चय गरिरह्यो । फरक मतलाई निरन्तर बेवास्ता र तिरस्कार गर्न छाडेन ।

फरक मत राख्नेले पनि हस्तक्षेप गर्न सकेनन् । अर्कोतिर केही थान मन्त्री, सांसद र अन्य नियुक्तिको लोभमा विद्रोह गरेनन् । विश्वमा विकास, समृद्धि, सुशासनले फड्को मार्‍यो । तर, दुई/तीन दशकसम्म देश देउवा, ओली र प्रचण्डकै सत्ता र शक्तिको वरिपरि घुमिरह्यो ।

पार्टीमा प्राकृतिक रूपले नेतृत्व हस्तान्तरण नहुने र फरक मत राख्नेले पनि हस्तक्षेप गर्न नसक्ने स्थिति दशकौंसम्म निरन्तर चलिरह्यो । यसैले राजनीतिमा कम चासो राख्ने जेनजी पुस्ताले जबर्जस्त परिवर्तनको आँधीबेहरी ल्याइदियो ।

शीर्ष नेता वर्षौंदेखि शान, सौकत, आडम्बरमा बाँचेका थिए । जेनजीको केही घण्टाको आन्दोलनले हठात् सत्ता र शक्ति छाडेर सेनाको ब्यारेकभित्र आश्रय लिनुपर्ने स्थिति आयो । यसैले कांग्रेस, एमाले र माओवादीभित्र कम्तीमा पहिलो र दोस्रो तहमा नेतामाथि सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने दबाब बढ्दो छ ।

कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितले विगतको राजनीति गलत भएकोमा आत्मालोचना गर्दै फेरि उठ्ने प्रण गरिरहेका छन् । खरानीमा परिणत भएको पार्टी कार्यालय, सिंहदरबार र संसद् भवनको खण्डहर चिहाउँदै सुध्रिने र फेरि उठ्ने प्रण गरिरहेका छन् ।

आक्रमणमा परेपछि सभापति देउवा अस्पतालमा उपचार गराइसकेका रहेका छन् । जिम्मेवार नेता उपचाररत: रहेकाले उनीहरूलाई प्रस्ट खुलेरै नेतृत्वविरुद्ध बहसमा उत्रिन नैतिक संकट देखिएको छ । यद्यपि उनीहरूले खुलेरै अब पुरानो ढर्राले कांग्रेस नचल्ने बताउँदै आएका छन् ।

‘नागरिक तहमा असन्तुष्टि छ । चुनाव हुन्छ, सरकार बन्छ, तर प्रधानमन्त्री उनै हुने । दुई तीन/जना नेताको बीचमा घुमिरह्यो । उहाँहरूले कहिले छाड्नुहुन्छ भनेर पर्खिनुपर्‍यो । छाडिदिनुस् न भनेर अनुरोध गर्नुपर्‍यो,’ महामन्त्री विश्वप्रकाश शर्माले सन्देश भनेका छन्, ‘यसलाई सिस्टम र विधिमा ल्याऊँ, ताकि भोलि विश्वप्रकाश शर्मा, गगन थापाको पुस्ताले आएर नेतृत्व गर्दा कसैले आएर छाडिदिनुस् भनेर भन्न नपरोस् । गत असार २० गते मात्रै पनि देउवा, ओली र प्रचण्डले राजनीतिबाट विश्राम लिनुपर्छ भनेर बोलेको रहेछु । संन्यास लिनुस् । सक्रिय राजनीतिक छाड्नुस्, सम्मानित भएर बस्नुस्, भनेको कुरा मिडियामा छ्यापछ्यापती भेटिन्छन् । हामीले गरेको प्रयास पूरा भएको भए अहिलेको क्षति रोकिन सक्थ्यो ।’

एमालेमा पनि भदौ २४ गते नै उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेसहितका नेताले अध्यक्ष केपी ओलीले राजीनामा दिनुपर्ने बताएका थिए ।

केन्द्रीय सदस्य, नेता कार्यकर्तासम्मले खुलेरै अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने मत प्रकट गरिरहेका छन् । जेनजीको आन्दोलन हिंसात्मक बनेपछि सोही दिनको दिउँसो २ बजेतिर ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता उनी नेपाली सेनाको सुरक्षामा ब्यारेकमा छन् ।

केपी शर्मा ओली

एमाले सचिव योगेश भट्टराई, गोकुल बाँस्कोटा र महेश बस्नेतले पनि वास्तविक जेनजीको मागमा हातेमालो गर्दै ध्वंश मच्याउनेमाथि मात्रै आक्रोश पोखिरहेका छन् । यी नेताले खुलेरै दलविना गणतन्त्र र लोकतन्त्र नचल्ने भन्दै नियमले नेतृत्व बदल्नुपर्ने विचार सामाजिक सञ्जालमार्फत राखिरेहका छन् । जेनजीले विद्रोह गर्ने अघिल्लो दिनसम्म पनि ओलीले ललितपुरको गोदावरीमा भएको विधान सम्मेलनमा आफूलाई निर्विकल्प नेताको रूपमा उभ्याएका थिए । आफ्नै लागि ७० वर्षको उमेरहद र दुई कार्यकालको व्यवस्थालाई ओलीले विधान संशोधनमार्फत अनुकूल बनाएका थिए । तर, ओलीले यो आकांक्षा राखेको दुई दिनमै प्रधानमन्त्री पद छाड्नुपर्‍यो । साथै, पार्टी नेतृत्व पनि छाड्न दबाब पर्‍यो ।

सचिव भट्टराईले यत्ति ठूलो उथलपुथल भएपछि नेतृत्व र संगठन नबदली एमालेले पार नपाउने बताए । ‘एमाले अब हिजोजस्तो हुँदैन । युवामैत्री,  प्रगगितशील र गतिशील हुनेछ । संरचनागत सुधार गर्छौं । हामीलाई विश्वास गर्नुस् । हामी आफैंमाथि पनि भ्रष्टाचार एवं बेथितिको निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाका निम्ति एमाले तयार छ’, भट्टराईले भने, ‘जेन्जी पुस्ता हामीसँग किन आइरहेको छैन ? यतिबेला पार्टी पुनर्गठन हाम्रो महत्त्वपूर्ण जिम्मेवारी हुनेछ । अब नेतृत्व र कार्यशैली फेर्नैपर्छ ।’

कुनै समय ओलीको विश्वासप्राप्त नेता गोकुल बाँस्कोटाले पनि नेतृत्व बदल्नुपर्ने मत राखेका छन् ।

‘अरू क्षति रोक्न जे भो–भो, हैन किन भो, कसरी भो र अब के, कसरी र कहिले गर्ने ? छिटो तर, सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं । अप्रिय लाग्ला, तर सत्य यै हो कि दलविना गणतन्त्र बाँच्दैन,’ बाँस्कोटाले सोमबार सामाजिक सञ्जालमा लेखे, ‘गणतन्तत्रविना समाज, समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ, सबै तयार हुनैपर्छ ।’

अर्का युवा नेता महेश बस्नेतले जेनजीको परिवर्तनका मागप्रति ऐक्यबद्धता जनाएका छन् । तर, अनियन्त्रित भीडले राष्ट्र र पार्टीका सम्पत्ति जलाएकोप्रति आक्रामक बनिरहेका छन् । उनले पनि खुलेरै अब पार्टी नेतृत्व परिवर्तन अपरिहार्य भएको लेखेका छन् ।

‘पार्टी र जनसंगठनका सबै नेताहरूका आँट र साहस नाप्न अहिलेको समय एक इन्डिकेटर हो । अहिले डराएर घरभित्र लुकेर बस्ने सुतुरमुर्गहरूलाई क्रमश: नेतृत्वबाट हटाएर खादा लगाइदिएर बिदा गरौं,’ बस्नेतले लेखेका छन्, ‘जटिलताबाट नयाँ नेतृत्व बन्छ, त्यसलाई स्थापित गरौं ।’

एमालेमा केही नेताले आवाज उठाए पनि महासचिव शंकर पोखरेलले नेतृत्वको आलोचना नगर्न निर्देशन जारी गरेका छन् ।

माओवादीका उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तनको विषय उठाएको लामो समय भइसक्यो । जेनजीको विद्रोहपछि उनले प्रमुख तीन पार्टीका शीर्ष नेताका कारण आजको स्थिति आएको टिप्पणी गरेका छन् । संसद् विघटन हुनु र देशमा अहिलेको स्थिति आउनुको दोष पार्टीका प्रमुख नेताले लिनुपर्ने पनि उनले बताएका छन् ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पार्टी रिफर्मको तहमा पुगेको बताउँछन् ।

‘हामी संकटको तातोमै छौं । सभापति उपचाररत: हुनुहुन्छ । यस्तो बेला निर्मम भएर नेतृत्व बदलिहाल्नुपर्छ भनेर तात्तातै गर्नुपर्छ भन्ने लाग्दैन । तर, गम्भीर भएर हामीले कांग्रेसको रिफर्म गर्नैपर्छ,’ कार्कीले भने, ‘हाम्रो सभापतिले अब पार्टी सभापति उठ्दिनँ भनेर घोषणा गर्नुभएको छ । विधानले पनि हामीले प्रणाली बनाएका छौं । उहाँ स्वस्थ भएर फर्किएपछि यो अवस्थालाई कसरी ट्याकल गर्ने भन्ने निर्णय हुन्छ ।’

जेनजीले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन र उत्तरदायी सरकारका मागप्रति कांग्रेस सधैँ सकारात्मक भएको उनले बताए । तर, निर्ममतापूर्वक सार्वजनिक, दलीय र व्यक्तिगत सम्पत्तिमाथि आगजनीको निन्दा गर्नुपर्ने उनी बताउँछन् ।

‘जेनजीका माग उचित छन् । तर, उनीहरूका नाममा छानीछनी तोडफोड, हिंसा र आगजनी गरिएको छ । लोकतन्त्रमा यस्तो हुन्छ ? भ्रष्टाचार गर्नेले सजाय भोग्नुपर्छ । तर, यस्तो प्रवृत्तिले बदमास उम्किने, वास्तविक मान्छे फस्ने हुन सक्छ,’ कार्कीले भने ।

प्रचण्ड

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल देउवा, ओली र प्रचण्डको शीर्षता भन्ने नै अब नरहेको बताउँछन् ।

‘देउवा, ओली र प्रचण्ड शीर्ष हुन्थे भने यिनीहरूको शक्तिमा संविधान बच्थ्यो । तर, यिनीहरूले संविधान बचाउन सकेनन् । यिनीहरूको शीर्षता भन्ने पनि अब रहेन । एउटा वर्गबाट अपमानित भएर बाहिर निस्कनै नसक्ने अवस्था आयो । देउवा अन्तिमसम्म घरमै बसेर केही साहस देखाए, तर अरूलाई सेनाको ब्यारेकमा बस्नुपर्ने स्थिति आयो,’ दाहालले लोकान्तरसँग भने, ‘अब यी तीनै जनाले हामीले सकेको राजनीतिमा गर्‍यौं । उमेरले पनि साथ दिँदैन । अब अरू युवा नेता अगाडि बढ्नुस् भनेर राजनीतिबाट बिदा हुनुपर्छ । आँखैअगाडि यो तिरस्कार र दबाबको सामना गरेपछि फेरि राजनीतिमा फर्किन्छु भन्नु लाजमर्दो हुन्छ ।’

राजनीतिमा टिक्न खोजे अब आन्तरिक दबाबबाटै तिनै नेता स्थापित नहुने उनी बताउँछन् ।

उपचार, डरले गर्दा आजको भोलि नछाडे पनि बढीमा डेढ महिनाभित्र शीर्ष नेताले राजनीति छाडेर अरू पुस्तालाई जिम्मा लगाएको घोषणा गर्नुपर्ने उनी बताउँछन् ।

पार्टीमा पनि आर्थिक अनियमितता गरेकालाई पन्छाउने, नैतिक दाग लागेकालाई नल्याउने र पार्टी पुनर्संरचना लाग्नुपर्ने उनी बताउँछन् ।

माओवादीका नेता लेखनाथ दाहाल कांग्रेस र एमालेको जस्तै गरी माओवादीको नेतृत्वलाई जोड्न नमिल्ने बताउँछन् ।

‘तीनकुने घटनाको भाग दुई पछिल्लो जेनजीको आन्दोलनमा देखिएको हो । सरकारले सामाजिक सञ्जाल बन्द गरेर आगोमा घिउ थपेको हो । यसमा सरकार जिम्मेवार छ,’ दाहालले भने, ‘माओवादी सरकारमा थिएन । यसैले कांग्रेस, एमाले र माओवादी एकै हुन् भन्ने भाष्य गलत छ । हाम्रा मुद्दा फरक छन् । हामीलाई प्रचण्डकै नेतृत्वमा चुनावमा जान गाह्रो छैन ।’

रानजीतिक विश्लेषक कृष्ण पोखरेल युवाको मागले राजनीति नै उथलपुथल हुँदा पनि पुन: पद र शक्तिप्रति आशक्ति देखाए शीर्ष नेता झन् बदनाम हुने बताउँछन् ।

‘उथलपुथल हुँदा पनि पद र राजनीतिप्रतिको आशक्ति अचम्मको छ । शीर्ष नेताले राजनीति छाड्यौं, बिदा भयौं, अब युवा पुस्ताले नेतृत्व सम्हालनुस्, हाम्रो समय सकियो भन्नुपर्ने हो,’ पोखरेल भन्छन्, ‘परिस्थितिलाई हेरेर राष्ट्रपतिज्यू खुल्नुभयो । प्रचण्ड र माधव नेपाल राष्ट्रपतिलाई भेटेर फर्किए, यस्तोमा अस्पतालमा भएका देउवा र ब्यारेकमा भएका ओलीले पनि हामीले राजनीति छाड्यौं भनेर घोषणा गर्न ढिलाइ गर्न हुन्न ।’

शीर्षले नछाड्ने र युवा पुस्ताले पनि दबाब नबढाउने हो भने परम्परागत दललाई चुनाव लड्न नै अप्ठ्यारो हुने उनी बताउँछन् ।

‘अब प्रमुख पार्टीका युवा नेताले तिमीहरू छाड, हामी नेतृत्व लिन्छौं भन्न सक्नुपर्छ । अब पनि पार्टीमा हस्तक्षेप नगर्ने, इनफ इज इनफ नभन्ने र उस्तै गरी नेताको दौराको फेरो समाउने हो भने इतिहासले युवा नेतालाई पनि माफ गर्ने छैन,’ पोखरेल भन्छन्, ‘सामान्य स्थितिबाट उठेका बालेनले आज आफू अनुकूलको व्यक्तिलाई प्रधानमन्त्री बनाउँदै गर्दा परम्परागत दलका नेताले समयमा हस्तक्षेप नगरे आगामी चुनावमा उनीहरूका निम्ति भारी पर्नेछ ।’

ओली, देउवा र प्रचण्डलाई नै देखाएर जाने चुनाव पुराना दलका लागि आत्मघाती हुने पोखरेलको टिप्पणी छ ।

salt training

कमेन्ट गर्नुहोस्