
पर्साका १४ वटै स्थानीय तहमा सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पर्सामा गत भदौको पहिलो साता हैजाको सङ्क्रमणका बिरामी देखा परेका थिए ।
स्वास्थ्य कार्यालय पर्साले १४ वटै पालिकामा आजदेखि आगामी कात्तिक २ गतेसम्म हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले आइतबारदेखि पर्सा जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
उक्त अभियानका निम्ति स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारामा पठाएको जनाइएको छ । यो अभियानमा एक वर्षभन्दामाथि उमेर समूहका सबैलाई खोप दिइनेछ । प्रतिकार्यस्वरूप सञ्चालन गर्न लागिएको हैजाविरुद्धको अभियानमा एकपटक खोप दिइनेछ ।
यो मुखबाट खुवाइने खोप हो । यो सुरक्षित रहेको महाशाखाले जनाएको छ । यो खोप एक वर्षभन्दा माथिको उमेरका सबैले खानुपर्छ । गर्भवती र स्तनपान गराइरहने महिलालाई पनि यो खोप दिन सकिने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । बारामा असोज २९ देखि सुरु गरेर तिहारअघि सकाउने महाशाखाको योजना छ ।