
सामाजिक सञ्जाल फेसबूकमा फिसिङ लिंक राखेर सर्वसाधरणलाई ठगी गरेको आरोपमा तीन जना स्क्यामरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ का ४० वर्षीय राजन गिरी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–८ घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने २६ वर्षीया मीना लकन्द्री र भारत बिहारका २६ वर्षीय आदित्यकुमार रहेका छन्।
प्रहरीको साइबर ब्यूरोका अनुसार यो गिरोहले सामाजिक सञ्जाल फेसबुकमा विभिन्न बैंकको नाममा ‘सर्भे लिंकमा क्लिक गरी बोनस प्राप्त गर्नुहोस्’ जस्ता आकर्षक विज्ञापन पोस्ट गर्दै सर्वसाधरणलाई ठग्दै आएको थियो ।
स्क्यामरले पठाएको लिंकमा क्लिक गरेपछि प्रयोगकर्ताको बैंक खाताबाट रकम अनलाइनमार्फत अन्य खातामा ट्रान्सफर भई ठगी हुने गरेको ब्यूरोले जनाएको छ ।
ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार ठगिएका पीडितहरू उजुरी लिएर आएपछि अनुसन्धान अघि बढाइएको थियो ।
ब्यूरोको टोलीले उनीहरूलाई काठमाडौंको ठमेलस्थित छायाँ सेन्टर कम्प्लेक्सबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट केही रकम, विभिन्न बैंकका एटीएम कार्ड, भारतीय नम्बरका सिम कार्ड, मोबाइल फोन र क्यासिनो कार्डसमेत बरामद गरेको छ ।