
इलाका प्रहरी कार्यालय दमक र दुर्गा भगवती मन्दिरमा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न भएको आरोपमा झापा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भएको आपराधिक उपद्रव कसुरमा संलग्न १९ वर्षीय रियाज सिलवाल र २२ वर्षीय नकुल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । दुवैलाई झापा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गत भदौ २४ गते दिउँसो करिब ४ बजे दमक नगरपालिका-६ स्थित इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । सोही क्रममा दुर्गा भगवती मन्दिरमा समेत तोडफोड र आगजनी गरी त्रिशूल बोकेको भिडियो फुटेज तथा फोटो सार्वजनिक भएको थियो ।
घटनापछि गरिएको खोजतलास, सीसीटीभी फुटेज, भिडियो, फोटो र साक्षीहरूको बयानका आधारमा पहिचान भएपछि प्रहरीले दुवैलाई पक्राउ गरेको हो ।
दमक नगरपालिका-३ बस्ने १९ वर्षीय सिलवाललाई वडा नं. ५ स्थित डिम्याक्स हल नजिकैबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, इलामको चुलाचुली गाउँपालिका-३ बस्ने २२ वर्षीय नकुल अधिकारीलाई झापा नगरपालिका-९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत झापामा उपस्थित गराई पहिलो पटकका लागि ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।