
रगतमा चिनी (ग्लुकोज)को मात्रा बढी हुनुलाई मधुमेह भनिन्छ । मधुमेहका बिरामीमध्ये करिब ५० प्रतिशतले आफूलाई समस्या भएको थाहा नै पाउँदैनन् । शुरूमा उहाँहरू पिसाबको संक्रमण, शरीर दुब्लाउँदै जाने र घाउ निको नहुनेजस्ता समस्याको उपचार गर्न अन्य डाक्टरकहाँ पुग्नुहुन्छ । तर, परीक्षणबाट मधुमेह भएको थाहा पाएपछि हामीकहाँ आउनुहुन्छ ।
मधुमेह हुँदा बारम्बार पिसाब लाग्ने, मुख वा ओठ सुख्खा हुने, दुब्लाउँदै जाने र तिर्खा धेरै लाग्नेजस्ता लक्षण देखिन्छन् ।
मधुमेह भए/नभएको भएको पत्ता लगाउन रगतको जाँच गरिन्छ । आजकाल मुटु दुखेको लक्षण लिएर आउनेलाई पनि मधुमेह छ कि भनेर रगतमा चिनीको मात्रा जाँच गरिन्छ ।
रगतमा सुगर–लेबल अत्याधिक भएमा पिसाबले पनि सुगर फाल्न सक्छ । यस्तो अवस्थामा कहिलेकाही पिसाब परीक्षण गर्दा पनि पिसाबमा सुगर–लेबल बढी भएको देखिन्छ ।
रगतमा सुगरको मात्रा परीक्षण गर्दा खाली पेटमा ७० देखि १०० एमजी/डीएलसम्म र खाना खाएपछि १०० देखि १४० एमजी/डीएलभन्दा कम हुनुपर्छ । योभन्दा बढी भएमा मधुमेह भएको भनिन्छ ।
स्वस्थ जीवनशैली मधुमेहको उपचार
मधुमेहलाई औषधि उपचारले मात्र निको पार्न सकिँदैन, जीवनशैलीमा विशेष ध्यान दिनैपर्ने हुन्छ, जसमा तीन वटा कुरा महत्वपूर्ण मानिन्छन्– खाना, शारीरिक व्यायाम र तनाव नियन्त्रण ।
तपाईं जतिसुकै व्यायाम गर्नुस्, खानामा नियन्त्रण गर्न भएन भने सुगर पनि नियन्त्रणमा आउन सक्दैन । अनि, खाना नियन्त्रण भएको छ, शारीरिक व्यायाम पनि गर्नुहुन्छ, तर, तनावमा बाँचिरहनुभएको छ भने पनि सुगर नियन्त्रण हुँदैन । यसैले तनाव व्यवस्थापन पनि अत्यावश्यक मानिन्छ । यदि यी तीन वटै कुरा व्यवस्थापन भयो भने सुगर लेबल पनि नियन्त्रणमा राख्न सकिन्छ ।
जीवनभर औषधि सेवन गर्नुपर्छ ?
मधुमेहका बिरामीले जीवनभर औषधि सेवन गर्नुपर्छ वा पर्दैन भन्ने कुरा मधुमेहको प्रकारले पनि निर्धारण गर्छ । मधुमेह पनि टाइप वान र टाइप टु हुन्छ । टाइप टु मधुमेह भएको व्यक्तिले आफ्नो जीवनशैलीमा ध्यान दिनुभएको छ भने औषधि दिइहाल्दैनौं । अवस्थाअनुसार औषधि चलाइएको छ भने पनि उहाँहरूका लागि जीवनभर औषधि सेवन गर्नुपर्ने अवस्था हुँदैन । औषधिमात्र खाएर सुगर नियन्त्रण हुन्छ, जे खाए पनि हुन्छ भन्नुहुँदैन, जीवनशैलीमा ध्यान दिनुपर्छ । समय– समयमा आफ्नो सुगर जाँच गरेर डाक्टरसँग परामर्श भने लिइरहनु राम्रो हुन्छ ।
मधुमेह भएर औषधि उपचारमा नै नरहेको वा नियमित डाक्टरसँग परामर्श तथा सम्पर्कमा नरहेको व्यक्तिमा पछि अन्य जटिलता देखिनसक्छ । समयमै उपचार वा जीवनशैलीले मधुमेह नियन्त्रण गरिएन भने पछि गएर हृदयघात, मिर्गौला फेल र पिसाबमा जटिल संक्रमण भएर आईसीयू भर्ना हुनुपर्ने अवस्था हुनसक्छ । घाउ वा चोटपटक निको नभएर अङ्गहरू नै काट्नपर्ने समेत हुनसक्छ । त्यसैले मधुमेह समयमै नियन्त्रण गर्नुपर्छ ।
मधुमेह नियन्त्रणमा राख्ने हो भने इन्सुलिनको प्रयोगसम्म पुग्नुपर्ने अवस्था आउँदैन । औषधि खाने तर, सुगर नियन्त्रणका लागि अन्य प्रयास गर्नुभएन भने २० वा २५ वर्षपछि इन्सुलिन लगाउनुपर्ने अवस्था आउनसक्छ । यदि मधुमेह भर्खरै देखिएको छ भने नियन्त्रणमा राख्न प्रयास गर्नुहोला ।
मधुमेहका बिरामीले फलफूल खान मिल्छ ?
मधुमेह भएका बिरामीले सिजन अनुसारको फलफुल सीमित मात्रामा खानुपर्छ । सामान्यतया एक दिनमा २५० ग्रामसम्मको फलफूल खान सकिन्छ । तर, बट्टाको जुस, कोक, फेन्टा, रेडबुल, सेतोचिनी, सुगरफ्री चिनी खानु हुँदैन । यदि गुलियो खानेकुरा नभई खान सक्नुहुन्न भने प्राकृतिक रूपमा पाइने गुड वा सख्खर थोरै मात्रामा खान सक्नुहुन्छ ।