
सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका दुई जना कैदीबन्दीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।
राजस्व छली मुद्दामा कैद भुक्तान गरिरहेका उनीहरू गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनीहरूलाई आज बिहान मेचीनगर–६ स्थित उनीहरूकै घरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी छन् । उनीहरू दुवै जना झापाको मेचीनगर नगरपालिका–६ का स्थायी बासिन्दा हुन् ।
आफ्नै गाउँ–घरमा लुकीछिपी बसेको सूचनापछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो ।
राजस्व छलीको कसुरमा कैद भुक्तान गरिरहेका दुवै जनालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।