
बेल एक पवित्र तथा औषधिय वृक्ष हो, जसको उल्लेख आयुर्वेदमा विभिन्न रोगको उपचारका लागि गरिएको छ ।
यसको फल, पात, जरा र डाँढ सबै औषधिय गुणले भरिपूर्ण मानिन्छन् । बेलको प्रयोग योग अभ्यासमा, पाचन सुधार गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गरिन्छ ।
‘जर्नल अफ हर्बल मेडिसिन’मा प्रकाशित एक अध्ययन अनुसार बेलका पातले कोलेस्ट्रोलको मात्रा घटाउन र मुटु स्वास्थ्यका लागि फाइदा पुर्याउन सक्ने देखिएको छ ।
बक्सरका डा. अरुण कुमारको नेतृत्वमा वैज्ञानिकहरूको टोलीले मुसामा स्तन क्यान्सरको मोडेलमा बेलको फल परीक्षण गर्दा ट्युमरको आकार ७९ प्रतिशतसम्म घट्न सक्ने पाइएको छ ।
भारत उत्तर प्रदेशका वैज्ञानिकहरूले बेलका पातमाथि अध्ययन गर्दा अस्थमा, पखाला, इन्सुलिनको स्तर सन्तुलन, कपालको मजबुती तथा आमाको दूधको गुणस्तर सुधार गर्न सहयोग पुग्ने निष्कर्ष निकालेका छन् ।
बेलका पातमा भिटामिन ए, सी, बी–६का साथै क्याल्सियम, फाइबर, पोटासियम लगायतका पोषक तत्व पाइन्छन् । यसका साथै यसमा एन्टिअक्सिडेन्ट तत्व पनि हुन्छन् ।
खाली पेट बेलका पात सेवन गर्दा मधुमेहका साथै रक्तचाप नियन्त्रणमा रहने र संक्रमणको जोखिम कम हुने विश्वास गरिन्छ । अपच, पेट पोल्ने, काँचो डकार आउनेजस्ता पाचनसम्बन्धी समस्या भएकाहरूका लागि पनि बेलका पात उपयोगी मानिन्छन् ।
यसमा रहेको फाइबर पेट स्वास्थ्यका लागि लाभदायक हुन्छ । बिहान खाली पेट बेलका पात चपाउँदा पेटसम्बन्धी समस्या कम हुन सक्छ ।
मधुमेह पूर्ण रूपमा निको नहुने रोग भए पनि त्यसलाई नियन्त्रणमा राखेर त्यसबाट हुने जटिलताबाट बच्न सकिन्छ । बेलका पातले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्ने भएकाले मधुमेहका बिरामीका लागि नियमित सेवन लाभदायक हुन सक्छ ।
तर मौसमअनुसार यसको सेवन गर्नुपर्छ । विशेषगरी जाडोयाममा एकभन्दा बढी बेलका पात नखान सुझाव दिइन्छ ।