
काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी र सुरक्षित बनाउने उद्देश्यसहित ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिम शुरू गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना र नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसनको सहकार्यमा आयोजना गरिएको तालिमको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले बुधबार उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहसँगै उनले उपत्यकामा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा सीसी क्यामेरा र ड्यास बोर्ड क्यामेरा जडान गर्ने कार्यको पनि औपचारिक शुभारम्भ गरेका छन् ।

समारोहमा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायातमा प्रविधिको प्रयोग बढाउँदा यात्रु सुरक्षा, दुर्घटना न्यूनीकरण र सवारी अनुशासनमा उल्लेखनीय सुधार आउने बताए । प्रविधिमैत्री ट्राफिक व्यवस्थापन नै सुरक्षित उपत्यकाको आधार भएको उनको भनाइ छ ।
सोही कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी तथा हराइएका दुई पाङ्ग्रे सवारी साधनहरू खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मिति र स्थानबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला पारी उनीहरूलाई बुझाइएको हो ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा २३ वटा मोटरसाइकल र २७ वटा स्कुटर सवारी धनीलाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सवारी साधन चोरी नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरे ।
सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक जस्ता सुरक्षा उपकरण प्रयोग गर्न र सुनसान तथा एकान्त स्थानमा सवारी पार्किङ नगर्न उनको आग्रह थियो ।

