
बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि नेपाली लेग–स्पिनर सन्दीप लामिछाने आबद्ध टोली राजशाही वारियर्सले जितेको छ । राजशाही वारियर्सले मिरपुरमा खेलिएको फाइनल खेलमा चटगाउँ रोयल्सलाई ६३ रनको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको राजशाही वारियर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो ।
राजशाही वारियर्सका लागि ओपनर तान्जिद हसनले शतकीय पाली खेले । उनले आक्रामक ब्याटिङ गर्दै केवल ६२ बलमा सात छक्का र ६ चौकाको मद्दतले एक सय रन बनाए ।
अर्का ओपनर साहिबजादा फरहानले पनि ३० रन जोडे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका केन विलियम्सनले पनि टोलीको खातामा २४ रन थपे ।
चटगाउँ रोयल्सका बलर सोरिफुल इस्लाम र मुकिदुल इस्लामले दुई–दुई विकेट लिए । चटगाउँ रोयल्स १७.५ ओभरमा अलआउट हुनसअघि एक सय ११ रनमात्र बनाउन सक्यो ।
चटगाउँ रोयल्सका लागि ओपनर मिर्जा बेगले सर्वाधिक ३९ रन बनाए । राजशाही वारियर्सका बलर बिनुरा फर्नान्डोले चार, हसन मुरादले तीन र जेम्स निसमले दुई विकेट लिए ।
फाइनलमा तान्जिद हसन प्लेयर अफ दि म्याच घोषित भए । सोरिफुल इस्लामले प्लेयर अफ दि सिरिजको पुरस्कार हात पारे ।