
नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल बिल्डकनको एघारौं संस्करण यही माघ २२ देखि २५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
राष्ट्रको पहिलो र एक मात्र निर्माण क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी बिल्डकनको यो संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी हुने भएका छन् । २०० भन्दा धेरै स्टल रहने उक्त प्रदर्शनीमा आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रदर्शन गर्न पाउँदा सहभागिता जनाउने व्यवसायी र उद्यमी पनि निकै उत्साहित छन् ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा ११ वर्षदेखि निरन्तर रूपमा हरेक वर्ष आयोजना गर्दै आएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
यस प्रदर्शनीमार्फत् स्वदेशमै उत्पादन भएका निर्माण सामाग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने साथै अन्तर्राष्ट्रिय बजारमा चलिआएका नवीनमत् प्रविधि, सेवा तथा वस्तु नेपालमा भित्र्याउने अवसर समेत प्रदान हुँदै आएको छ ।
यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका, झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ, फिटिङ्स, कन्सट्रक्सन केमिकल, पीभीसी र युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, र सिमेन्ट तथा स्टिल लगायत निर्माणका सम्पूर्ण सामाग्री तथा सेवा पाउन सकिन्छ ।
निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, सेवाप्रदायक जस्ता सम्पूर्ण पक्षलाई समेटिएको विशाल व्यावसायिक सञ्जाल निर्माण गर्न सफल यस प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त कम्पनी, व्यवसायी, उत्पादक, वितरक, डिजाइनर, इन्जिनियर, आर्किटेक्ट एवं निर्माणसँग सम्बन्धित पेशामा आवद्ध व्यक्तिका साथै निजी आवास, व्यापारिक कम्प्लेक्स, व्यावसायिक भवन निर्माण गर्न चाहने व्यक्ति तथा संघ संस्थाका र सर्वसाधारणको पनि उल्लेखनीय उपस्थिति रहने छ ।
प्रदर्शनीको मुख्य प्रायोजक फ्लाईबर्ड इन्टेरियर रहेको छ भने पावर्ड बाईमा लुम्बिनी सेरामिक्स (लेमिनार टायल्स) रहेको छ ।