०४ असार २०८३, बिहीबार

फेक रेस्क्यू प्रकरण: डा. तिमिल्सिना पक्राउ

माघ २५, २०८२
काठमाडौं
फेक रेस्क्यू प्रकरण: डा. तिमिल्सिना पक्राउ

हिमाली क्षेत्रमा पदयात्रामा जाने विदेशी पर्यटकहरूको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गर्ने कार्यमा संलग्न थप एक जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको लाजिम्पाटस्थित श्रीधी इन्टरनेसनल हस्पिटलमा कार्यरत ४४ वर्षीय डा. गिर्वाणराज तिमिल्सिना रहेका छन्।

ब्यूरोका अनुसार पर्वतको मोदी गाउँपालिका स्थायी घर भएका डा. तिमिल्सिनाले विभिन्न पदयात्रा तथा रेस्क्यू कम्पनीहरूसँग मिलेर विदेशी पर्यटकहरूको फर्जी कागजात तयार पारेको भेटिएको छ। 

माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपिरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिस जस्ता कम्पनीहरूले विमानस्थलको रेकर्डमा म्यानिफेस्ट सच्याउने र डाक्टरसँगको मिलोमतोमा उपचार नै नगरेका पर्यटकहरूको 'एडमिसन एण्ड डिस्चार्ज' रिपोर्ट र मेडिकल रिपोर्ट बनाएर बिमा कम्पनीसँग रकम दाबी गर्ने गरेको खुलेको छ।

अनावश्यक रूपमा हेलिकोप्टर चार्टर गरी नक्कली बिरामी खडा गरेर बिमा रकम असुल्ने यस्तो कार्यले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटन क्षेत्र र प्रतिष्ठामा गम्भीर आँच पुगेको प्रहरीले जनाएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा ५१ बमोजिम राष्ट्रहित प्रतिकूल काम गरेको कसूरमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई डा. तिमिल्सिनालाई माघ २५ गते पक्राउ गरिएको हो। यस प्रकरणमा संलग्न अन्य व्यक्ति र कम्पनीहरूमाथि पनि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्