२५ असार २०८३, बिहीबार

प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक

फागुन २५, २०८२
काठमाडौं
प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक

 चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ले प्रदर्शनरत नेपाली चलचित्रको यही फागुन २३ गते शनिबारसम्मको व्यावसायिक विवरण आज सार्वजनिक गरेको हो ।

गत माघ १६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘आ बाट आमा’ ले रु १२ करोड ६६ लाख ९० हजार ९८१ व्यापार गरेको छ । उक्त चलचित्रका लागि कूल चार लाख ८२ हजार ६४७ टिकट बिक्री भएका छन् । निर्देशक चन्द्र पन्तले निर्देशन गरेको उक्त चलचित्रमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारले अभिनय गरेका छन् ।

गत माघ २३ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘कुमारी’ ले रु ६५ लाख कमाइ गरेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल २० हजार २२७ टिकट बिक्री भएका छन् । अविशेक खड्का र आकृतीराज भण्डारीलगायतको अभिनय रहेको चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन ।

त्यसैगरी गत माघ २३ गतेदेखि प्रदर्शनरत अर्को चलचित्र ‘रमिताको पिरती’ ले रु ३० लाख १३ हजार ८४३ कमाइ गरेको छ । नवनिर्देशक सुदीप्ता अधिकारीको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल नौ हजार ५६४ टिकट बिक्री भएका छन् । आना शर्मा, धीरज मगर, विनय श्रेष्ठ, समिर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको उक्त चलचित्रले दर्शक समीक्षा राम्रो पाए पनि व्यापार भने राम्रो गर्न सकेन ।

यही फागुन १ गतेदेखि प्रदर्शन भएका तीन चलचित्र ‘श्री बुकुरो’, ‘शिवांश : च्याप्टर १’ र ‘बिगुल’ ले अपेक्षाकृत व्यापार गर्न नसकेपछि प्रदर्शन स्थगित गरिसकेका छन् । सुदीप भुपाल सिंहले निर्देशन गरेको चलचित्र ‘श्री बुकुरो’ ले रु दुई लाख ७२ हजार ९३० कमाइ गरेको छ । अभिनेत्री लक्ष्मी गिरी, आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्कीलगायत कलाकारले अभिनय गरेको उक्त चलचित्रका लागि कूल ८०५ टिकट बिक्री भएका छन् ।

‘शिवांश’ ले रु दुई लाख ६१ हजार ७५० कमाइ गरेको छ । सन्तोषकुमार आत्रेयले निर्देशन गरेको उक्त चलचित्रका लागि कूल ७८७ टिकट बिक्री भएका छन् ।

चलचित्रमा अभिनेता प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुषा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सविर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय छ । अञ्जान केसीले कथा लेखेको चलचित्रको पटकथा बारत लिम्बूको छ ।

फागुन १ गतेदेखि नै प्रदर्शन भएको चलचित्र ‘विगुल’ ले रु आठ लाख ९७ हजार ४१० कमाइ गरेको छ । रमेश कोइरालाको निर्देशनमा तयार भएको उक्त चलचित्रका लागि कूल दुई हजार ६०९ टिकट बिक्री भएका छन् । चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, सरोज खनाललगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्र ‘प्रवासी जीवन’ ले निकै न्यून व्यापार गरेको छ । गत फागुन १५ देखि नेपालभर प्रदर्शन भएको उक्त चलचित्रलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेका छन् ।

अभिनेता राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारीसँगै स्वयं निर्देशक क्षेत्रीले अभिनय गरेको उक्त चलचित्रले रु एक लाख ३८ हजार ४८० कमाइ गरेको छ । उक्त चलचित्रका लागि कूल ९०५ टिकट बिक्री भएका छन् ।

चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी चलचित्रको व्यावसायिक विवरण हरेक सोमबार सार्वजनिक गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्