
आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट तथा शैक्षिक कागजात तयार पारेको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएका ललितपुर महानगरपालिका–३ आदर्शटोलका ६१ वर्षीय क्रोडी फ्रेच क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको पत्र जाहेरीका आधारमा उनीविरुद्ध कीर्ते कागजसम्बन्धी मुद्दा दर्ता भएको थियो ।
अनुसन्धानका क्रममा उनले आफ्नै छोरीको कक्षा ११ र १२ पास भएको देखिने नक्कली ट्रान्सक्रिप्टलगायतका कागजात बनाएको खुलेको थियो ।
उक्त मुद्दामा भक्तपुर जिल्ला अदालतले २०८२ वैशाख ३ गते फेट्जलाई एक वर्ष कैद र ५० रूपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
फैसलापछि फरार रहेका उनलाई खोजतलासका क्रममा प्रहरीले यही वैशाख २९ गते बिहान काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि सोही दिन भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । अदालतको फैसला अनुसार उनी कारागार चलान भइसकेका छन् ।