
अमेरिका र इरानबीच दुई साताअघि भएको अन्तरिम शान्ति सम्झौतापछि पनि तनाब झन् चुलिएको छ । दुवै देशले एकअर्कामाथि सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै सैन्य आक्रमणलाई निरन्तरता दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे अमेरिका ‘सैन्य कारबाही पूरा गर्न’ पछि नपर्ने चेतावनी दिएको केही समयमै आइतबार बिहान इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले हालैका अमेरिकी आक्रमणको जवाफस्वरूप आफ्ना नौसैनिक र वायु सेनाले संयुक्त रूपमा ती आक्रमण गरेको दाबी गरेको छ ।
अमेरिकी अधिकारीहरूले पनि कुवेत र बहराइनस्थित आफ्ना सैन्य अड्डामाथि आक्रमण भएको पुष्टि गरेका छन् । यद्यपि हालसम्म कुनै अमेरिकी सैनिक हताहत नभएको र ठूलो क्षति नभएको जनाइएको छ ।
यसअघि अमेरिकी सेनाले होर्मुज जलडमरूमा एक ट्यांकरमाथि आक्रमण भएपछि इरानका विभिन्न सैन्य संरचनामाथि पुनः आक्रमण गरेको जनाएको थियो ।
अमेरिकी सेनाका अनुसार ती आक्रमण इरानको सैन्य निगरानी प्रणाली, सञ्चार, हवाई प्रतिरक्षा, ड्रोन भण्डारण तथा समुद्री बारुद बिछ्याउने संरचनालाई लक्षित गरी गरिएको हो ।
इरानले भने अमेरिकी आक्रमणले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै त्यसले सबै कूटनीतिक प्रक्रिया पूर्ण रूपमा रोक्ने चेतावनी दिएको छ । आईआरजीसीले अमेरिकी सैन्य अड्डाहरूले आगामी दिनमा ‘नर्कको सामना गर्नुपर्ने’ चेतावनीसमेत दिएको छ ।
अमेरिका र इरानबीच भएको १४ बुँदे अन्तरिम सम्झौताले फेब्रुअरी २८ देखि शुरू भएको युद्ध अन्त्य गर्ने, होर्मुज जलडमरूमध्य पुनः जहाज आवागमनका लागि खुला गर्ने तथा इरानको आणविक कार्यक्रमलगायत विषयमा वार्ता अघि बढाउने उद्देश्य राखेको थियो ।
सम्झौतापछि स्विट्जरल्याण्डमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसद्का सभामुख मोहम्मद बाकेर कालिबाफबीच पहिलो चरणको वार्ता भएको थियो भने अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध पनि हटाएको थियो ।
यद्यपि त्यसयता दुवै पक्षबीच आरोप–प्रत्यारोप र सैन्य गतिविधि झन् बढ्दै गएको छ ।
होर्मुज जलडमरूमा पछिल्ला दिनहरूमा व्यापारिक जहाजमाथि भएका आक्रमणले पनि तनाव थप बढाएको छ । विश्वको करिब पाँचौं भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने यो सामरिक जलमार्ग युद्धका कारण लामो समय प्रभावित भएको थियो ।
अहिले क्रमशः जहाज सञ्चालन पुनः शुरू भइरहेका बेला इरानले जलमार्गमाथि आफ्नो नियन्त्रण कायम गर्न खोजिरहेको छ भने अमेरिकाले ओमानतर्फको दक्षिणी मार्ग प्रयोग गर्न प्रोत्साहन गरिरहेको छ ।
यसैबीच, इरानले लेबनानमा कायम युद्धविरामको प्रतिबद्धता पनि अमेरिकाले कार्यान्वयन गराउन नसकेको आरोप लगाएको छ ।
इजरायल र लेबनानबीच अमेरिकी मध्यस्थतामा पटक–पटक युद्धविराम भए पनि इजरायली सेना लेबनानी भूमिबाट नहटेपछि र हिजबुल्लाहले हतियार नत्यागेपछि त्यहाँको तनाव पनि कायम रहेको छ ।