
काठमाडौं, १० माघ- हिँउद सकिनै लाग्दा बुधबार एकाएक मैसममा बदली भयो । देशभर हल्का वर्षा भयो भने, उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्यो ।
जलवायु परिवर्तनका कारण मौसममा प्रतिकुल असर परिरहेका बेला समयमा पानी नपर्दा कृषिमा आधारित मुलुक नेपालमा गम्भीर असर देखिन थालेको छ । पर्याप्त सिँचाइ अभावमा आकाशे पानीमा निर्भर नेपालको कृषि प्रणालीमा नकारात्मक असर परिरहेको विज्ञहरु बताउँछन् ।
यस्तो अवस्थामा बुधबार पानी पर्दा देशभरका कृषकलाई थोरै भए पनि राहत मिलेको छ । हिउँदे बाली तथा बर्खे बालीका लागि समयमा पानी नपर्ने मौसम यसपटक पनि दोहोरियो । पुस महिनाको दोस्रो सातासम्ममा पानी परिसक्नुपर्नेमा मध्य माघमा आइपुग्दा पानी परेको छ ।
यसले गहुँ बालीलाई त्यति धेरै फाइदा नपुगे पनि सुख्खा रहनुभन्दा राम्रो भएको विज्ञहरुको भनाई छ ।
कृषि विकास मन्त्रालयका सूचना अधिकारीसमेत रहेका वरिष्ठ कृषि अर्थविद् मणिरत्न अर्यालका अनुसार गहुँ बालीका लागि पुस दोस्रो साताभित्र पानी परे धेरै राम्रो मानिन्छ । ‘सामान्यतया हामीकहाँ मंसिर १५ गतेभित्र गहुँ छरिसकिन्छ, त्यसको २१ दिनभित्र पानी परे सबैभन्दा राम्रो मानिन्छ, तर पछिल्ला वर्षको अवस्था हेर्दा त्यो समयमा पानी पर्दैन, जसका कारण गहुँ उत्पादनमा समस्या देखिएको छ,’ उनले लोकान्तरसँग भने ।
गहुँ उत्पादनका लागि कृत्रिम सिँचाइभन्दा आकाशे पानी निकै राम्रो मानिने बताउँदै उनी भन्छन्, ‘केही वर्ष अगाडिसम्म गहुँ समयमा पानी पर्दा उत्पादनमा त्यति समस्या नभए पनि प्राविधिक अप्ठ्यारा थिए, गहुँ फलेपछि काटेर थन्क्याउन निकै समस्या हुने गर्थ्यो, अहिले गहुँ बाली थन्क्याउन त्यति समस्य नभएको पनि समयमा पानी नपर्दा उत्पादन घट्ने गरेको छ ।’
हिउँदे वा बर्खे बालीका लागि समयमा पानी परे बालीनालीका लागि अमृतसरह हुने विज्ञहरु बताउँछन् । अहिले नेपालमा करिब १० लाख हेक्टर जमिन गहुँ खेती गर्न योग्य छ । यसमध्ये यो वर्ष ७ लाख ४५ हजार ८ सय २३ हेक्टर क्षेत्रफलमा गहुँ छरिएको छ ।
बाँकी योग्य जमिनमा हिँदे तरकारी लगाउने गरिन्छ भने केही जमिन बर्खाको पानी नसुकेका कारण बाँझो रहने गर्छ ।
तरकारी खेतीका लागि पनि यो पानीले त्यति फाई नगर्ने अर्यालले बताए ।
यो वर्षाले राजधानीसहित शहरी क्षेत्रमा प्रदूषण कम गर्न पनि सहयोग पुगेको छ । लामो समयदेखि पानी नपर्दा वायुमण्डलमा थुप्रिएको प्रदूषण पखालिएको छ भने, धुलो पनि केही कम भएको छ ।