
काठमाडौं, १५ माघ– सरकारलाई प्रदेश तहमा कर्मचारी परिचालन गर्न हम्मे–हम्मे परिरहेका बेला सिंहदवार भित्रका विभिन्न मन्त्रालयमा काम गर्ने कर्मचारीबीच भने विदेश भ्रमणमा जान प्रतिस्पर्धा चलेको छ ।
अहिले प्रायः सबै मन्त्रालयका कर्मचारी विदेश भ्रमणमा जान लागेका छन् । एउटै मन्त्रालयबाट कर्मचारीका ३ देखि ४ टोली विदेश भ्रमणमा निस्कन लागेका छन् । सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयबाट १० टोली विदेश भ्रमणमा छ । स्वास्थ्य पछि कृषि विकास, शहरी विकास, संघीय मामिला तथा स्थानीय विकासलगायत मन्त्रालयबाट विदेश भ्रमणमा जान कर्मचारीको लर्को नै लागेको छ ।
कृषि विकास मन्त्रालयबाट एक टोली अघिल्लो साता मात्रै अस्ट्रेलियाको भ्रमणमा निस्किसकेको थियो । सह–सचिव विश्वप्रसाद रिजाल नेतृत्वको उक्त टोली नेपाल फर्किसकेको जनाइएको छ । तर कृषि विकास मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटाले त्यसबारे आफूलाई जानकारी नभएको बताए ।
‘कृषि तथा खाद्य सुरक्षाको विषयको कार्यक्रममा सहभागी भनेर यहाँबाट एक टोली अस्ट्रेलिया भ्रमणमा गएको थियो,’ लोकान्तरसँगको कुराकानीमा कृषि विकास मन्त्रालयका सह–प्रवक्ता सापकोटाले भने, ‘उहाँहरु स्वदेश फर्किसक्नु भएको भन्ने कुरा सुनिएको छ । तर मलाई त्यसबारे औपचारिक जानकारी भने छैन ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले स्वास्थ्य मन्त्रालयबाट अहिले करिब १० टोली विदेश भ्रमणमा रहेको बताए । तर कुन टोली कुन कार्यक्रमका लागि कुन देशको भ्रमणमा गएको भन्नेबार आफूलाई पूर्ण जानकारी नभएको उनले बताए । ‘स्वास्थ्य मन्त्रालयले विभिन्न दातृ संस्थासँग मिलेर कार्यक्रम गरिरहेको हुन्छ । कार्यक्रममा पार्टनर संस्थाले बोलाउँदा हाम्रोबाट भ्रमणमा गइन्छ,’ लोकान्तरसँगको कुराकानीमा गिरीले भने, ‘त्यसको सम्पूर्ण खर्च दातृ संस्थाले नै व्यहोर्छ ।’
भूकम्प पछिको पुनःनिर्माणका लागि गठन भएको पुनःनिर्माण प्राधिकरणका कर्मचारी भने विदेश भ्रमणमा रमाउन थालेका छन् । पछिल्लो एक महिनामा मात्रै प्राधिकरणका ५० कर्मचारी विदेश भ्रमणमा गएका छन् । अझै करिब ४० कर्मचारी विदेश भ्रमणको तयारीमा रहेका स्रोतले लोकान्तरलाई बतायो ।
भूकम्पपीडितले आवास निर्माणका लागि समयमै अनुदान नपाइरहेका बेला प्राधिकरणका कर्मचारीले विदेश भ्रमणमा मात्रै एक महिनामा झण्डै तीन करोड रुपैयाँ सकेका छन् । अझै ४० कर्मचारीले विदेश भ्रमण गर्दा २ करोड रुपैयाँ खर्च हुने प्राधिकरण स्रोतले लोकान्तरलाई बतायो ।
एउटा कर्मचारीको विदेश भ्रमणमा ५ लाख खर्च
पछिल्लो समय कर्मचारीबीच विदेश भ्रमण गर्ने प्रतिस्पर्धा चलिरहँदा राज्यकोषबाट करोडौं रकम खर्च हुने भएको छ । अर्थ मन्त्रालयका अनुसार एक कर्मचारीले ५ दिन विदेश भ्रमण गर्दा राज्यकोषबाट ५ लाख रुपैयाँ खर्च हुन्छ ।
‘एउटा कर्मचारीले विदेश भ्रमणमा खान र बस्न दिनको ७ सयदेखि १ हजार डलर खर्च गर्छन् । उनीहरुको दैनिक भक्ता २५० देखि ३०० डलर हुन्छ,’ अर्थमन्त्रालयका एक अधिकारीले लोकान्तरसँग भने, ‘यसरी हेर्दा नेपाल सरकारको एक कर्मचारीले ५ दिन विदेश भ्रमणमा जाँदा राज्यकोषबाट कम्तिमा ५ लाख रुपैयाँ खर्च हुन्छ ।’
कामचलाउ मन्त्रीले बस्न–खानै दिएनन्
मन्त्रालयमा कार्यरत मन्त्रीहरुले कमचलाउ मन्त्री र राज्यमन्त्रीको दवाव झेल्न विदेश भ्रमणमा जानु परेका बताउँछन् । चुनाव सकेर कामचलाउ भएको सरकारले विभिन्न निर्णय गर्ने र आफूले गरेका निर्णय कार्यान्वयन गर्न दवाव दिने भएकाले आफूहरुले विदेश भ्रमण गर्नु परेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका विकास मन्त्रालयका एक सह–सचिवले बताए ।
‘आफ्ना मान्छेलाई जागिर लगाउनेदेखि कार्यकर्तालाई ‘पकेट खर्च’ दिन पनि मन्त्रीले दवाव दिन थालेका छन्,’ ती सह–सचिवले लोकान्तरसँग भने, ‘मन्त्रीको अनावश्यक दवाव झेल्नलाई भएपनि यहाँका केही सरहरु विदेश भ्रमणमा जानुभएको होला ।’
अर्थ मन्त्रालयको बजेट महाशाखाका एक अधिकारीले पनि मन्त्रीले ‘बस्न–खानै’ नदिएको बताए । ‘कार्यकर्तालाई बाटो खर्च दिनू भनेर पनि मन्त्रीले तोक लगाएर पठाउँछन्,’ अर्थ मन्त्रालयका ती अधिकारीले लोकान्तरसँग भने, ‘नियम विपरित कसैलाई कसरी रकम दिनु ? नदिए फेरि मन्त्रीले तोक लगाएर पठाउँछन् । कामचलाउ मन्त्रीले त बस्न–खानै नदिने भए ।’