०१ असार २०८३, सोमबार

सवारी साधन जफत गर्ने अविवेकी निर्णय

फागुन २९, २०७४
सवारी साधन जफत गर्ने अविवेकी निर्णय

राष्ट्रिय समाचार समिति (रासस) ले फागुन २७ गते वितरण गरेको एक समाचार अनुसार, यही चैत्र १ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारी साधनलाई सडकमा गुड्न नदिनेबारे जारी भएको सरकारी आदेशको यातायात व्यवसायीहरूले पालना नगर्ने अठोट गरेका छन् । यातायात व्यवस्था विभाग भने तोकिएको मितिबाट यो निर्णय लागू गर्ने र पुराना वाहनहरू सडकमा भेटिए जफत गर्ने तयारीमा रहेको देखिन्छ । महानिर्देशक रूपनारायण भट्टराईका कथन र यातायात व्यवसायीहरूका जिकीर हेर्दा मूठभेड अपरिहार्य छ ।

यस्तो अप्रिय स्थिति आउन नदिन यातायात व्यवस्था विभागको तालुकवाला मन्त्रालय र सरोकारवाला निकायहरू समय छँदै सकृय हुन आवश्यक छ । किनभने सरकार र व्यवसायीहरूबीचको खिचातानीले जनसाधारण यात्रुले कष्ट, कठिनाइ भोग्नुपर्ने अवस्था आउन दिनु हुँदैन । र, यसमा व्यवसायीको भन्दा सरकारी निकायको जिम्मेवारी बढी हुन्छ ।

सरोकार भएका निकायसंग छलफल नै नगरी गरिएको एकतर्फी निर्णयको आधारमा जनसाधारणको सेवा रोक्न सकिँदैन भन्ने क्रममा व्यवसायीहरूको तर्फबाट योगेन्द्रनाथ कर्माचार्यबाट ‘फलामको आयु तोक्ने सरकारको निर्णय गलत’ भएको विचार आएको छ । यो विचारणीय पक्ष हो । किनभने नियमित मर्मत-सम्भार र प्रदूषण जाँचको व्यवस्था गरेर चल्नसक्ने सवारीमाथि प्रतिबन्ध लगाउनु सर्वथा अविवेकी निर्णय हुनेछ । लाखौं रुपिञाको लगानी गरेर यातायात सेवा सञ्चालन गर्ने नेपालीहरूलाई हतोत्साहित र दण्डित गर्ने नीतिको समर्थन गर्न गाह्रो हुन सक्छ । जाँच, निगरानीका संयन्त्र कृयाशील गरेर सुरक्षित यातायात सेवा सुनिश्चित गर्नु पो सरकारको दायित्व हो । हचुवाको भरमा नियम बनाउने र संशोधन गर्ने परिपाटीको अन्त्य गरिनु पर्छ । र, यस्तो बेथिति के कति कारणले यतिञ्जेल कायम रहन गएको हो त्यसबारे छानबीन गर्न प्रधानमन्त्रीकै तहबाट यातायात व्यवसायी समेत रहेको टोली तत्काल गठन गरियोस् भन्ने लोकान्तरको सुझाउ छ ।

salt training

कमेन्ट गर्नुहोस्