२५ असार २०८३, बिहीबार

वैचारिक विघटनको दिशामा एमाले

कात्तिक २०, २०७४
वैचारिक विघटनको दिशामा एमाले
नेपालको वामपन्थी आन्दोलनको इतिहासमा एउटा कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कम्युनिस्ट पार्टीको रूपमा एमाले पार्टीलाई लिइन्छ र लिनु पनि जरूरी छ ।

खासगरी कम्युनिस्ट पार्टीको तर्फबाट नेपालमा पहिलोपटक सशस्त्र संघर्षको सम्भावनालाई वास्तविकतामा बदल्ने पार्टी नै हालको नेकपा एमाले हो ।

देशका अतिविपन्न गरीब वस्तीहरूमा पार्टीलाई पु–याउने, युवाहरूका बीचमा पार्टीलाई स्थापित गर्ने र शोषण, दमन र अत्याचारका विरुद्ध साना वा ठूला जुझारु संघर्षहरू गरेर जनतालाई प्रशिक्षित गराउने जस्ता अति महत्वपूर्ण कार्यहरू पञ्चायतका कठिन दिनहरूमै शुरु गरेर यसले नेपाली जनतामा आफ्नो योगदान स्थापित गरेको छ ।

टनकपुर सन्धिविरोधी अडान र आन्दोलन तथा वृद्ध भत्ता र ‘आफ्नो गाउँ आफै बनाऊँ’ कार्यक्रमका नाममा ग्रामीण क्षेत्रमा सिधै बजेट पठाउने जस्ता लोककल्याणकारी कार्यहरू सरकारको तर्फबाट शुरु गरेर राज्यको बारेमा नयाँ अवधारणा समेत जनतामा पु–याउने काम वास्तवमै प्रशंसायोग्य थियो र छ ।

तर पछिल्ला दिनहरूमा, खासगरी मदन भण्डारीको अवसानपछि एमाले बिस्तारै विचारविहीनहरूको झुण्डजस्तै बन्न पुगेको देखिन्छ र यो एउटा विशाल भीमकाय गैरसरकारी संस्थामा रूपान्तरण भइरहेको देखिन्छ ।

दर्शनको गरीबी

आफूलाई मार्क्सवादी भन्न नछोडिकनै एमालेले मार्क्सवादको आधारभूत सिद्धान्तलाई तिलाञ्जली दिँदै गइरहेको छ । मार्क्सवादी दर्शन भौतिकवादी दर्शन हो जसले दुनियाँमा पदार्थ प्राथमिक हो भन्ने मान्दछ र कहीँ पनि ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन ।
संसारलाई बुझ्न र बदल्न सकिन्छ अथवा यो संसार ज्ञेय छ भनी मार्क्सवादले मान्दछ । अहिलेको विज्ञान प्रविधिको विकासले यो सत्यलाई प्रमाणित पनि गर्दै गइरहेको छ । तर एमाले पार्टीमा अहिले मार्क्सवाद होइन आदर्शवाद अझ अध्यात्मवादको भरमार प्रचार भइरहेको छ ।

ठूला ठूला महायज्ञको आयोजना गर्ने, श्रीमतीलाई टीका लगाएर खुट्टामा ढोग गराउने, कालो बोको काटेर प्रधानमन्त्री निवास छिर्ने र दैनिक मन्दिर धाउने नेता कार्यकर्ताको संख्या बढ्दै गइरहेको देखिन्छ र अझ उदेकलाग्दो कुरा के भने त्यसो गर्नुमा उनीहरू गर्व गर्दछन् ।

कम्युनिस्टले धर्म मान्दैनन् भन्ने प्रचार गरेर कांग्रेसले चुनाव जित्छ भन्दै उनीहरू गाउँमा रहेका घोर रुढिवादी पण्डितभन्दा बढी रुढिवादी भइरहेका छन् र हाल गाउँमा सबैभन्दा बढी दलितहरूलाई जातीय छुवाछुत गर्नेमा पनि यही तप्का देखिने गरेको छ । समाजलाई प्रगतिशील दिशामा अगाडि बढाउनुको साटो संस्कार र संस्कृतिको नाममा एमालेहरू नै समाजलाई झन् पछाडि धकेल्न उद्यत देखिन्छन् ।

त्यस्तै सैद्धान्तिक विषयमा पनि मार्क्सवादको बल प्रयोगको सिद्धान्त, सर्वहारा वर्गको अधिनायकत्व तथा समाजवादी क्रान्ति जस्ता शब्द र पदावली प्रयोग गर्न बुझेका एमालेहरू डराउन थालेका छन् भने पछिल्लो पुस्तालाई यस विषयमा कुनै जानकारी नै दिइएको छैन ।

केवल मदन भण्डारीको जबज पदावली घोकेपछि पुग्छ भन्ने भ्रम पार्टी भित्रै फैलाइएको छ र आज कांग्रेस वा त्यस्तै दक्षिणपन्थी पार्टीहरूले भन्दा बढी एमालेहरूले लोकतन्त्र र संसदीय व्यवस्थाको पक्षमा वकालत गर्ने गर्दछन् ।

संसदीय लोकतन्त्र बुर्जुवा व्यवस्था वा प्रणाली हो र यसको विकल्पमा मार्क्सवादले समाजवादी व्यवस्था अगाडि सारेको छ जसका लागि हामी लडिरहेका छौं भन्नेसम्म पनि एमालेले आफ्ना कार्यकर्तालाई सिकाएको छैन वा आफैं नेताहरूले यो सोच्न सकेका छैनन् ।

राजनीतिक पुच्छरवाद

एमाले पार्टीले कहिल्यै आफ्नो स्वतन्त्र धार ग्रहण गर्न सकेन । झापा विद्रोहको विरासतबाट पैदा भएको एमाले त्यसबाट उत्पन्न चर्को दमनका कारण आफूलाई जोगाउने नाममा आत्मसमर्पणको दिशामा तीव्र गतिमा ओरालो लाग्यो ।

मदन भण्डारीको हत्याबाट आतंकित एमाले सैद्धान्तिक बन्ध्याकरणसँगै राजनीतिक पुच्छरवाद र व्यवहारवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनायो । जसरी पनि सत्तामा पुग भन्ने एकसूत्रीय नारामा अघि बढ्दै उसले लोकेन्द्रबहादुरदेखि ज्ञानेन्द्रसम्मको खुट्टा समाउने र दाम चढाउनेमा पुग्यो ।

आफैंले निर्वाचनमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायत प्रावधान राखेर संविधानसभाको चुनावमा प्रचार गरेर अनि संविधान बनाउने बेलामा चाहिँ कांग्रेसले अगाडि बढाएको त्यही पुरानै संसदीय व्यवस्थालाई ‘सुधारिएको संसदीय व्यवस्था’को नाममा सहमति गर्न पुग्यो ।

निर्वाचनमा पहिलो र दोस्रो भएको पार्टी एकैपटक सत्तामा नबस्ने सामान्य संसदीय मान्यतासमेत लत्याएर एकछिन पनि सत्ताबाहिर बस्न नसक्ने चरित्र प्रदर्शन गर्दै कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएर लाभ लियो ।

यसरी एमालेले आफ्नै राजनीतिक चरित्र वा दृष्टिकोण प्रस्तुत गर्नेभन्दा पनि कसैको विचारको खण्डन वा समर्थन गर्नेमा आफ्नो सारा ऊर्जा र ताकत खर्च गर्ने गरेको छ ।

अहिले पछिल्लो चरणमा राप्रपाका कमल थापाको लाइनमा उभिएर धर्मनिरपेक्षता, संघीयता, समावेशी आदिको खण्डन गर्दै घरिघरि पृथ्वीनारायणको प्रशंसा गर्न थालेको छ भने उसका कार्यकर्ताले त राजा महेन्द्र नै ठीक भन्न समेत पछि परेनन् ।

अब यसो गर्दै जाँदा एमाले कहाँ पुग्ला ? उसले अब केही समयपछि जंगबहादुर राणा ठीक भन्नुपर्ने हुन्छ र उनलाई आदर्श नेता मान्नुपर्ने हुन्छ किनकि उनले त बाँके, बर्दिया, कैलाली र कञ्चनपुर अंग्रेजबाट फिर्ता लिएका हुन् ।

फासीवादी भीडको केन्द्रीकरण

हिटलरले आफ्ना विरोधीलाई धम्क्याउने, लखेट्ने र त्यसरी पनि नमाने भौतिक रूपमै सिध्याउने गरी हत्यारा दस्ता निर्माण गरेका थिए । एमालेले पनि आफ्नो पक्षमा नबोल्ने नलेख्ने वा विरोध गर्नेलाई सिध्याउने, अपारदर्शी हिसाबले विदेश र स्वदेशबाट पैसा जम्मा गर्ने र यतिसम्म कि आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई समेत गुटगत आधारमा भौतिक आक्रमण गर्नेसम्मका भीडहरू जम्मा गरेको छ ।

प्रहरी इन्काउन्टरमा चर्चित गुण्डा मारिँदा एमालेले संसद्समेत अवरुद्ध गरेर उसले कस्तो राजनीति गर्न खोजेको हो भन्ने स्पष्ट सन्देश दिइसकेको छ । एमालेमा यतिसम्म वैचारिकशून्य मान्छेको भीड एकत्रित भएको छ कि उनीहरूले सामाजिक सञ्जालमा लेखेका वा पोस्ट गरेका कुरा हेर्दा त्यो सामान्य सामाजिक मर्यादा र मूल्यमान्यता समेत ख्याल गरेको देखिन्न । चाहे त्यो डिग्री वा पिएचडी नै गरेको किन नहोस्, उक्त व्यक्ति एमाले छ भने उसले प्रयोग गर्ने भाषा अत्यन्त निम्नस्तरको हुने गर्दछ ।

यसरी बिस्तारै एमाले देशको वामपन्थी पार्टीबाट एउटा व्यापारिक कर्पोरेट हाउस जस्तो वा भीमकाय गैरसरकारी संस्था जस्तो संयन्त्र बन्ने दिशामा निरन्तर अगाडि बढिरहेको छ ।

चिन्ताको विषय यो हो कि यसबारेमा एमाले नेतृत्वलाई कुनै चिन्ता छैन, बरू उल्टो भीड जम्मा गरेर उखानटुक्का सुनाउने र मनोरञ्जन प्रदान गर्ने गरेको छ ।

इतिहासको एउटा कालखण्डमा देशका लागि योगदान गरेको वामपन्थी पार्टीको नाताले त्यहाँ रहेका घनश्याम भुसाल, योगेश भट्टराई र रवीन्द्र अधिकारी जस्ता युवा नेताहरूले एमाले पार्टीलाई पुनः वाम पार्टीमा रूपान्तरण गरून् ,यही कामना गरौं ।

लेखक बराल माओवादी केन्द्रका नेता एवं पूर्व सांसद हुन् । 

salt training

कमेन्ट गर्नुहोस्