१४ असार २०८३, आइतबार

कहिलेसम्म बेहोर्ने सर्वत्र बेथिति नै बेथितिको बोझ ?

कहिलेसम्म बेहोर्ने सर्वत्र बेथिति नै बेथितिको बोझ ?

नेपालको राजनीतिक परिवर्तनले सार्थक दिशा र गति लिन नपाउँदा यो आज जनताका लागि बोझ र राजनीतिक सिन्डिकेट चलाउने मुठ्ठीभरका मानिसका लागि मोजकै पर्याय जस्तो बनेको छ । यो विगत सात दशकदेखि अहिलेसम्मका राजनीतिक परिवर्तन र वस्तुगत यथार्थलाई सर्सरी हेर्दा मात्रै पनि प्रस्ट हुने कटु वास्तविकता हो । 

शासन व्यवस्थाको नाम र शासकका अनुहारहरू फेरिने तर जनताका दुःख कष्ट नफेरिने बरू अझ पेचिलो र बोझिलो बन्दै जाने यस्तो परिवर्तन वास्तवमा जनतालाई ‘तावाबाट उम्काएर भुंग्रोमा’ पु¥याउने एउटा अवाञ्छित र परिवर्तनको नाममा  अल्मल्याउने एउटा प्रपञ्च मात्रै साबित हुँदै आएको देखिन्छ । यसले गर्दा आज राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरू अझ जटिल गरी सम्हालिनसक्नु बन्दै गएका छन् । यस यथार्थलाई जतिसुकै रंगरोगन गरेर छोपछाप पार्न खोजे पनि यो समयक्रममा  खुलस्त हुँदै आएको र हुँदै जाने कुरा एकदमै प्रस्ट छ ।

वस्तुतः प्राविधिक हिसाबले नेपालको अर्थसामाजिक स्थितिमा बहिरी प्रभावका कारणले जे जति सतही परिवर्तन  आएको देखिएको छ त्यसैलाई आज हामी विकास भन्न बाध्य छौं । विकास भनेको नेपाली राष्ट्र र नेपाली जनताको चौतर्फी क्षमताको अभिवृद्धि हो भन्ने कुरा राणा शासनदेखि अहिलेसम्मका कुनै पनि रंगरूपका अभिजातीय शासकवर्गको मन मस्तिष्कमा पस्दै पसेन । उनीहरूले अफ्नो शासनलाई पक्षपोषण गर्ने हरेक कुरालाई मात्र विकास माने र ठाने । यसले गर्दा जनतामा आशा र भरोसाको सार्थक सञ्चार गर्ने तथा उनीहरूलाई सुनिश्चित भविष्यतर्फ डोहोर्‍याउने उन्नत र दूरदृष्टिपूर्ण सोचविना विकासको विषयवस्तु नै संकीर्ण भएर गयो र यो कमजोर भएर कठ्यांग्रिएको अवस्थामा कुण्ठित भयो । अहिलेसम्मको नेपालको दीनहीन अवस्थाले यो कुरा निरन्तर औंल्याइरहेको र छर्लंग पारिरहेको यथार्थ छ ।

तर विगतका कमजोरी र सबलता केलाउने र तिनबाट सही शिक्षा लिएर अघि बढ्ने भन्दा पनि बिगतमा अरूले कमाए, सत्ता र जनताको दोहन गरे, अब हाम्रो पालो हो भन्ने किसिमले प्रस्तुत हुने र त्यसलाई अनेक वितण्डापूर्ण कुतर्क गरेर सही ठह¥याउन खोज्ने बिल्कुलै गलत अधोगामी प्रवृत्ति अनि पुरानै असफल र बदनाम भइसकेको उपक्रमहरूलाई काखी च्यापेर ‘जो हात, सो साथ’ गरिहाल्ने पुरानै शोषणकारी र एकदमै गलत प्रवृत्ति निरन्तर चलेको छ  । निश्चय नै यस्तो प्रवृत्तिले परिवर्तन त्यसमा पनि जनमुखी अग्रगामी परिवर्तनको कत्ति पनि प्रतिनिधित्व गर्दैन । बरू त्यस्तो उन्नत परिवर्तनको दिशालाई नै अवरुद्ध पार्दछ र गतिरोध पैदा गर्दछ । जुन कुरा आज यत्र, तत्र, सर्वत्र हरेक क्षेत्रमा उजागर भइरहेको देखिन्छ । यस्तो किसिमको देश र जनतालाई दोहन गर्ने अवाञ्छित कुरा जनताको आशा र अपेक्षा थिएन र बिल्कुलै होइन पनि । 

वास्तवमा हामी जसरी परनिर्भरताको शिकार भएका छौं त्यसले अर्थतन्त्रलाई मात्र होइन, राजनीति, समाज र संस्कृतिलाई पनि आज त्यो गलत प्रवृत्तिले लपेटेको छ

जनताले हाम्रो नेतृत्वले गर्नसक्ने सही  कुरा बोलोस् र गरोस् तथा सही दिशामा डोहोर्‍याओस् भन्ने सामान्य कुरा चाहेका हुन् । नेतृत्वले भन्ने र गर्ने कुरामा द्विविधारहित किसिमले तालमेल होस् भन्ने स्वाभाविक कुरा खोजेका हुन् । ढाँट, छल, प्रपञ्च र ढाकछोपका कुनै गतिविधिहरू कुनै पनि क्षेत्रमा नेतृत्वले नगरोस् र प्रस्ट  किसिमले पारदर्शी भएर गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा प्रस्तुत होस् अनि यसरी एउटा सुनिश्चित र समुन्नत भविष्यतर्फ देश र जनतालाई विश्वासिलो किसिमले अभिमुख गराओस् र डोहोर्‍याओस् भन्ने अपेक्षा गरेका हुन् । तर जनताले यसको विपरीत स्थिति आज देख्नु, सुन्नु र भोग्नुपरिरहेको छ र निराशाको सुस्केरा हाल्नुपरिरहेको छ । 

हुन पनि आज हाम्रो अर्थ–राजनीति, सामाजिक संरचना र संस्कृति सबै क्षेत्रका कुरालाई अदृश्य शक्तिले सञ्चालन गरिरहेको जस्तो प्रतीत भइरहेको छ । अर्थात् अपारदर्शी र अदृश्य कुनै शक्तिले हामीमाथि राज गरिरहेको र हामीलाई दिशानिर्देश गरिरहेको छ । मानौं, हामी त्यही शक्तिप्रति आशामुखी भएर हेरिरहेका छांै र त्यसैका दिशानिर्देशलाई पालना गरिरहेका छौं ! हामीसँग हाम्रो भन्नु केही पनि छैन । अरूकै खटनपटन छ । अरूकै हालीमुहाली छ । हामी केवल ‘बुख्याँचा’को भूमिका निर्वाह गर्न अभिशप्त छौं । 

यस्तो विडम्बनापूर्ण स्थितिलाई हामीले कहिलेसम्म सकी नसकी बेहोरिरहनुपर्ने हो ? यस प्रश्नले सही उत्तर खोजिरहेको आजको अवस्था हो । तर राष्ट्रका हर्ताकर्ताहरूका गतिविधिले यसको उत्तर दिनेभन्दा तिनै गलत कुरालाई पुष्टि गर्ने एकपछि अर्को गतिविधि दिनानुदिन भइरहेका र हुँदै आएका छन् ।

वास्तवमा हामी जसरी परनिर्भरताको शिकार भएका छौं त्यसले अर्थतन्त्रलाई मात्र होइन, राजनीति, समाज र संस्कृतिलाई पनि आज त्यो गलत प्रवृत्तिले लपेटेको छ । अनावश्यक विवाद, अलमल र अन्योल पैदा गर्ने र अराजकता सिर्जना गर्ने काम गरिरहेको छ । यसको परिणति जनतालाई सचेत रूपमा सक्रिय र संगठित हुनबाट रोक्ने र उनीहरूका बीचमा एक वा अर्को किसिमले विभाजनको रेखा कोर्ने दुष्कार्य भइरहको छ । नजानिदो पाराले एक अर्काप्रति थप अविश्वासको वातावरण बनिरहेको या बनाइँदै लगेको छ । यस्तो अस्वीकार्य र अमान्य अवस्थामा सामाजिक र राजनीति स्थायित्व आउन सक्तैन । त्यसैले यी सबै गलत परिपाटी, पद्धति र प्रक्रियाबाट मुख मोडेर राजनीतिक नेतृत्वले देश जनतालाई सही दिशा र गति दिन सक्तैन भन्ने नै निष्कर्ष निस्कन्छ । 

यस स्थितिमा यो अवस्थालाई चिरेर नयाँ नेतृत्वको विकास भएर स्थितिलाई सम्हाल्न जनतालाई सचेत बनाउने, एकजुट पार्ने र अघि बढाउने एक मात्र विकल्प विकसित हुनु अनिवार्य भएको छ । यसरी मात्र  नेतृत्वले जनताका सबै तह र तप्कालाई समान व्यवहार र सम्मान गर्ने र यसै धरातलमा उनीहरूलाई एकजुट पार्ने अनुकूल वातावरण सिर्जना गर्ने वातावरण बन्नेछ । अन्यथा पछि झन् देश पासोमा परेको पक्षी जस्तै भएर किंकर्तव्यविमूढ हुने स्थितिले नै गाँज्ने देखिन्छ ।  यसरी सर्वत्र अराजकता निम्तिने कुरा कसैले रोक्न सक्तैन । यो आजको  सन्दिग्ध राष्ट्रिय राजनीतिक चरित्र, व्याप्त भ्रष्टाचार, कमिसनखोरी, बढ्दो बेरोजगारी र जन असुरक्षाले अविराम किसिमले औंल्याइरहेको यथार्थ हो । 

salt training

कमेन्ट गर्नुहोस्