०५ असार २०८३, शुक्रबार

हेटौंडा पुग्न कुलेखानी सडकको विकल्प तयार हुँदै, काठमाडौंबाट दूरी ९० किलोमिटर मात्र

फागुन १०, २०७५
हेटौंडा पुग्न कुलेखानी सडकको विकल्प तयार हुँदै, काठमाडौंबाट दूरी ९० किलोमिटर मात्र

काठमाडौं – नेपालले कुनै दातृ निकायको सहयोगविना आफ्नै लगानीमा बनाइरहेको पहिलो सडक कान्ति लोकपथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कुलेखानी सडकको विकल्पको रूपमा उक्त सडक निर्माण गरिएको हो ।

कान्ति लोकपथ आयोजनाका अनुसार सडकको ६ किलामिटर ट्र्याक चौडा गर्न मात्रै बाँकी छ । कडा चट्टान भएका र पहिरोको जोखिम रहेका स्थान गरी ६ किलोमिटर मात्रै सडक बनाउन बाँकी रहेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाका सूचना अधिकारी इञ्जिनीयर अमिन्द्र खड्काले कान्ति लोकपथ आयोजना अन्तर्गत काम भइरहेको उक्त सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘हाम्रो योजनाले हेटौंडाको बुद्धचोकदेखि ललितपुरको टीका भैरवसम्म हेरिरहेको छ,’ उनले लोकान्तरसँग भने, ‘कडा चट्टान भएका र पहिरोको जोखिम रहेका केही स्थान गरी ६ किलोमिटर ट्र्याक चौडा गर्न बाँकी छ ।’

उनका अनुसार हेटौंडाको बुद्धचोकदेखि ललतिपुरको सातदोबाटोसम्मको सडकको लम्बाई ९० किलोमिटर छ ।

उक्त सडक निर्माणका लागि सरकारले नेपाली सेनामार्फत् वि.सं.२०१३ मै ट्र्याक खुलाउने काम अघि बढाएको थियो । नेपाली सेनाले वि.सं. २०१६ मा उक्त सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरेको थियो ।

ट्र्याक खोलिसकेपछि विभिन्न राजनीतिक उतारचढावका कारण सडक निर्माणको काम अघि बढ्न नसकेपनि पछिल्लो समय सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । चालू आर्थिक वर्षभित्रै ठूला सवारी साधन गुड्ने गरी काम भइरहेको सूचना अधिकारी खड्काले बताए ।

निर्माणको काम वि.सं. २०६४ सालमा शुरू भएको थियो । चालू आर्थिक वर्षसम्म आइपुग्दा साढे ३२ किलोमिटर कालोपत्रे भइसकेको र ४० दशमलव ५ किलोमिटर ग्राबेल भएको उनले बताए ।

‘२०६४ सालसम्म विभिन्न कारणले सरकारको प्राथमिकतामा पर्न सकेन,’ उनले थपे, ‘केही स्थानमा सडकको ट्र्याक चौडा गर्ने काम भइरहेकोले चालू आवभित्रै सहज तरिकाले ठूला सवारी साधन चलाउन मिल्ने छ ।’

चालू आवमा ६२ प्रतिशत कालोपत्रे

यसअघि नै साढे ३२ किलोमिटर कालोपत्रे भइसकेको सडकको चालू आर्थिक वर्षभित्र कुल ६२ दशमलव ५ प्रतिशत मात्रै कालोपत्रे गरिने छ ।

बाँकी रहेका स्थानमा ट्र्याक खोल्ने काम सकिएपछि चालू आर्थिक वर्षभित्रै कालोपत्रे गरिने आयोजनाले जानकारी दिएको छ ।

सडकको कुल चौँडाइ ९ दशमलव ५ मिटर खन्ने र त्यसमा ७ मिटर मात्रै कालोपत्रे गरिने आयोजनाले जनाएको छ । साढे ९ मिटर भित्रै एक मिटर चौडाइमा नाली निर्माण गरिने छ ।

आगामी आर्थिक वर्षको अन्तिमसम्म ७९ किलोमिटर पूरै कालोपत्रे गरिने योजनाका सूचना अधिकारी खड्काले बताए ।

उक्त सडक ७९ किलोमिटर निर्माणका लागि कुल लागत ३ अर्ब ३५ करोड रूपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो । चालू आर्थिक वर्षसम्म आइपुग्दा १ अर्ब ८० करोड रूपैयाँ खर्च भइसकेको छ ।

कुल ९० किलोमिटर सडकमध्ये बाँकी ११ किलोमिटर सडक निर्माणको कार्य सडक विभाग र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्