
काठमाडौं – आफ्नो उत्तराधिकारी भारतमा हुन सक्ने बयान दलाई लामाले दिएपछि चीनले त्यसलाई खारेज गरेको छ ।
तिब्बती बौद्ध धर्मका आगामी आध्यात्मिक नेताले चीन सरकारबाट मान्यता लिनुपर्ने चीनको भनाइ छ ।
नोबेल शान्ति पुरस्कारबाट सम्मानित ८३ वर्षीय दलाई लामाले सोमवार एक समाचार एजेन्सीसँग कुरा गर्दै आफ्नो निधनपछि दलाई लामाको अवतार भारतमा फेला पर्न सक्ने र चीनले मनोनित गरेको अर्को उत्तराधिकारीलाई सम्मान नदिइने बताएका थिए । त्यसपछि चीनको प्रतिक्रिया आएको हो ।
पत्रकारहरूले दलाई लामाको टिप्पणीको सन्दर्भमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ शुआङसँग प्रश्न गर्दा उनले भने, ‘अवतार लिने कुरा बौद्ध धर्मको अनौठो विशेषता हो । यसको निश्चित अनुष्ठान र परम्परा छ । चीन सरकारले
धार्मिक आस्थाको स्वतन्त्रताको नीति लिएको छ । धार्मिक विषयमा हाम्रा आफ्नै नियम कानून छन् र तिब्बती बौद्ध धर्ममा पुनः अवतारको परम्परासम्बन्धी नियमकानून छन् । हामीहरू बौद्ध धर्मको यो तरिकालाई सम्मान र संरक्षण गर्छौं ।’
तिब्बतीहरूले आध्यात्मिक नेता दलाई लामाको उपाधि दिने गरेका छन् । गेङले भने, ‘सयौं वर्षदेखि पुनः अवतारको परम्परा चलिआएको छ । चौधौं दलाई लामालाई पनि धार्मिक रीतिरिवाज अनुसार मान्यता दिइएको थियो र केन्द्र
सरकारले उनलाई मान्यता दिएका थिए । दलाई लामाको पुनः अवतारको राष्ट्रिय नियम कानून र धार्मिक रीतिरिवाजको अनुसरण गर्नुपर्छ ।’
तिब्बतमा सन् १९५९ मा चीनले कब्जा जमाएपछि दलाई लामा भागेर भारत पुगेका थिए ।
एजेन्सी