
काठमाडौं – जीवनको आध्यात्मिक आयाममा अतुलनीय योगदान पुर्याउने व्यक्तिलाई दिइने टेम्पलटन पुरस्कार मंगलवार मार्सेलो ग्लीजरलाई दिइएको छ । ब्राजिलका यी भौतिकशास्त्रीले विज्ञान र धर्म शत्रु नभएको देखाउन आफ्नो जीवन बिताएका छन् ।
साठी वर्षीय ग्लीजर रियो दे जेनेरोमा जन्मेका हुन् र उनी सन् १९८६ देखि अमेरिकामा बस्दै आएका छन् ।
उनी पूरै नास्तिक हैनन् र उनी ईश्वरको अस्तित्वलाई पूर्णतः नकार्दैनन् ।
‘नास्तिकता वैज्ञानिक तौरतरिकासँग मिल्दैन,’ ग्लीजरले बताए । उनी न्यु ह्याम्पशायर विश्वविद्यालयको डार्टमाउथ कलेजबाट सन् १९९१ देखि प्राध्यापन गरिरहेका छन् ।
‘नास्तिकता अविश्वासमा विश्वास गर्छ । त्यसैले विरुद्धमा प्रमाण नभएको कुरालाई पूरै नकार्न मिल्दैन । म खुला दिमाग राख्छु किनकि मानव ज्ञान सीमित छ,’ उनले थपे ।
ग्लीजरले पाएको पुरस्कार जोन टेम्पलटन फाउन्डेसनले प्रायोजित गरेको हो । यो एक परापकारी संस्था हो र यसलाई वालस्ट्रीटमा भव्य कमाइ गरेका एक अमेरिकी प्रेस्बाइटेरियनको नाममा स्थापना गरिएको हो । उनी विज्ञानका सबै क्षेत्रमा दैवी शक्तिका प्रमाण खोजिरहन्थे ।
यसअघि यो पुरस्कार दलाई लामा, डेस्मन्ड टुटु, सोभियत लेखक अलेक्जान्डर सोल्झेनित्सिनले पाइसकेका छन् । पुरस्कारको राशि १५ लाख डलर छ यो नोबेल पुरस्कारभन्दा बढी हो ।
एजेन्सी